फिफा वरीयतामा नेपाल एक स्थान तल
![फिफा वरीयतामा नेपाल एक स्थान तल](https://annapurnapost.prixacdn.net/media/albums/FIFA-59e56552ba14c8.37779250_F6DOneKkci.jpg)
काठमाडौं: विश्व फुटबल महासंघ (फिफा)ले सोमबार सार्वजनिक गरेको पछिल्लो विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै एक सय ७६औं स्थानमा पुगेको छ । नेपाल अघिल्लो महिना एक सय ७५औं स्थानमा थियो।
नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत गत सातामात्र ताजकिस्तानसँग ३-० गोलले पराजित भएको थियो । त्यसअघिको घरेलु खेलमा पनि नेपाल ताजकिस्तानसँग २-१ गोलले पराजित भएको थियो । सोही कारणले नेपालको विश्व वरीयता खस्किएको हो।
फिफाको नयाँ वरीयतामा दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ । दशिक्षण एसियामा शीर्ष स्थानमा रहेको भारत दुई स्थान सुधार गर्दै समग्रमा एक सय पाँचौं स्थानमा छ । चार स्थान सुधार गरेको अफगानिस्तान समग्रमा एक सय ५४औं र माल्दिभ्स दुई स्थान खस्कँदै एक सय ५६औं स्थानमा छ । १६ स्थान खस्किएको भुटान एक सय ९०औं स्थानमा छ । यथास्थानमा आसीन बंगलादेश समग्रमा एक सय ९६औं स्थानमा छ।
यसैगरी श्रीलंका एक सय ९८औं र एक स्थान खस्किएको पाकिस्तान दुई सय एक स्थानमा छ । पछिल्लो समय पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिएको छैन । आन्तरिक विवादका कारण पाकिस्तानलाई हालै फिफाले प्रतिबन्धसमेत लगाएको छ । विश्व वरीयताको शीर्ष स्थानमा जर्मनी कायमै रहेको छ । अघिल्लो महिना ब्राजिललाई उछिन्दै जर्मनी शीर्ष स्थानमा उक्लिएको थियो । ब्राजिल यो महिना पनि दोस्रो स्थानमा छ । हालै विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाँचौं स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)