'कोरियाली प्रायद्वीपमा जुनसुकै बेला परमाणु युद्ध सुरु हुन सक्छ'
एजेन्सी : संयुक्त राष्ट्रसंघका लागि एक उत्तर कोरियाली प्रतिनिधिले कोरियाली प्रायद्वीपमा जुनसुकै बेला परमाणु युद्ध सुरु हुन सक्ने बताएका छन् । सयुक्त राष्ट्रसंघका लागि उत्तरका तर्फबाट डेपुटी एम्बेस्डर रहेका किम इन र्योङले सोमबार संयुक्त राष्ट्रसंघ महासभाको निशस्त्रीकरण कमिटीमा बोल्दै यस्तो धारण व्यक्त गरेका हुन्।
किमले भने ‘उत्तर कोरिया मात्रै यस्तो देश हो जो सन १९७० को दशकदेखि अमेरिकाबाट परमाणु थ्रेट बेर्होन बाध्य भइरहेको छ ।’ उत्तर कोरियाले आत्मरक्षाका लागि परमाणु हतियार राख्न पाउने अधिकार रहेको किमले दावी गरे ।
उनले हरेक वर्ष अमेरिकाको अगुवाइमा परमाणु हतियारसहित कोरियाली प्रायद्वीमा गरिने सैन्य अभ्यासतर्फ संकेत गर्दै उक्त कार्य उत्तर कोरियाका लागि खतरा रहेको जनाए । साथै अमेरिकाले यसै वर्ष गोप्य अपरेशन मार्फत आफ्ना सर्वोच्च नेता किम जोन उनको हत्या गर्ने प्रयास गरेको घटना झन खतरनाक भएको बताए ।
'विभिन्न श्रेणीका अन्तरमहादेशीय व्यालेस्टिक मिसाइल, परमाणु बम, हाइड्रोजन बमको परीक्षणबाट उत्तर कोरिया यसै वर्ष परमाणु शक्तिले सुसम्पन्न भएको छ।' किम र्योङले दावी गरे ।
अमेरिकालाई धम्कीको भाषामा किमले भने‘ 'अहिले अमेरिकाका सबै मुख्य भू-भाग हाम्रो फायरिङको दायराभित्र छ, यदि उसले हाम्रो पवित्र भूमिमा आक्रमण गर्ने चेष्टा गर्छ भने संसारको जुनसुकै भागमा गए पनि हाम्रो कठोर सजायँबाट बच्न सक्दैन' । किमको अभिव्यक्ति उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनाव र संयुक्त राष्ट्रसंघको बढ्दो प्रतिबन्धप्रति लक्षित थियो ।
आइतबार मात्रै अमेरिकी विदेशमन्त्री 'रेक्स टेलरसन'ले उत्तर कोरिया संकटको समाधानका लागि कुटनीतिक प्रयास उत्तर कोरियामा पहिलो बम खसाल्दासम्म जारी राख्ने अभिव्यक्ति दिएका थिए।
किमले राष्ट्रसंघको निशस्त्रीकरण कमिटीमा परमाणु मुक्त विश्व निर्माणमा, उत्तर कोरिया परमाणु मुक्त बन्न तयार रहेको तर अहिलेकै अवस्थामा आफ्नो राष्ट्रले कुनैपनि हालतमा परमाणु क्षमतालाई अत्मसमर्पण गर्न नसक्ने जनाउ दिए । 'जबसम्म अमेरिकाको शत्रुतापूर्ण व्यवहार र परमाणु खतराको अन्त्य गरिदैन तबसम्म उत्तर कोरियाले वार्ताको टेबलमा परमाणु हतियारको विषय प्रवेश गराउँदैन्' किमले भने ।
किमको यस्तो अभिव्यक्ति पछि अमेरिकाका सहयक विदेशमन्त्री 'जोन जे सुलिभन'ले अमेरिकाले उत्तर कोरियासँग सीधा संवाद गर्ने कुरा अस्वीकार नगरेको बताए । मंगलबार टोकियोमा जापानी समकक्षीसँगको वार्तापछि 'सुलिभन'ले उत्तर कोरियाले प्रस्तुत गरेको समस्या कुटनीतिक तरिकाबाटै समाधान गर्नेमा आफ्नो जोड रहेको भन्दै आफ्ना सहयोगी जापान, दक्षिण कोरियासहित अन्य राष्ट्र पनि यसका लागि कुटनीतिक रुपमा तयार हुनुपर्ने बताए । (एजेन्सी)