अदुवा निर्यातको विकल्प

अदुवा निर्यातको विकल्प

नेपाल-भारतबीचको व्यापार घाटा चुलिँदै गएको अवस्थामा नेपालबाट ठूलो परिमाणमा भारत निर्यात हुँदै आएको अदुवा निर्यातमा फेरि अवरोध भएको छ । भारतले गैरकानुनी व्यापारिक कृयाकलाप रोक्न पछिल्लो समयमा गुड्स एन्ड सर्भिस ट्याक्स (जिएसटी) लागू गरेकाले नेपालबाट त्यहाँ निर्यात हुँदै आएका नेपाली उत्पादनको निर्यात प्रभावित भएको हो । भारतीय भन्सारद्वारा भन्सारको कोड 'फ्रेस जिन्जर' समूहअन्तर्गत नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध गरेको हो ।

यसअघि यही समूहबाट अदुवा निर्यात हुँदै आएको थियो । यो समूहमार्फत निर्यात गर्दा भन्सार छुटमा नेपाली उत्पादन भारत जाने गरेका छन् । सोही कारण भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच हुँदै आएको देखिन्छ । सस्तो मूल्य र मीठो स्वादका कारण पनि भारतीय बजारमा नेपाली अदुवाको माग उच्च छ । नेपालका पहाडी क्षेत्रको प्रमुख नगदेबालीका रूपमा रहेको अदुवाको मूल्य भारतमा हुने निर्यात परिमाणमा भर पर्दै आएको छ ।

भारतमा अदुवा पठाउने अर्को तरिका छ, त्यो हो- पाँच प्रतिशत भन्सार शुल्क तिरेर अदुवा बेच्ने । पहिलो बाटोमा अवरोध भएपछि नेपाली व्यापारीले भन्सार कोड 'जिन्जर' समूहलाई प्रयोग गर्ने प्रयास गरे । भन्सार तिरेर निर्यात गर्न पाइने यो व्यवस्थालाई समेत भारतले अहिले प्रयोग गर्न दिएको छैन । यो कोड ताजाभन्दा सुकेको अदुवाको लागि प्रयोग हुने भारतीय पक्षको तर्क छ । निर्यात अवरोध भएपछि भारत पठाउन विभिन्न नाका पुर्‍याइएका १७ अर्ब रुपैयाँको साढे तीन लाख मेट्रिक टन अदुवा बिग्रिने अवस्थामा छन् ।

भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामा अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । गत वर्ष मंसिरमा नेपाली अदुवामा विषादीको अवशेष देखिएको आरोपमा भारतले अदुवा निर्यातमा प्रतिबन्ध लगायो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रयोगशालामा परीक्षणका क्रममा नेपाली अदुवामा विषादीको अवशेष नभेटिएको तर्क अगाडि सारेर निर्यात खोलिएको थियो । नेपालमा भएका राजनीतिक परिवर्तनपछि अदुवा निर्यातमा हुने अवरोधलाई गुणस्तर वा बजार मूल्यभन्दा फरक दृष्टिकोणबाट हेर्नुपर्ने देखिन्छ ।

अहिले अदुवा खनेर बेच्ने मौसम हो । दसैं र तिहार खर्चका लागि पहाडी जिल्लाका किसानले अदुवालाई नगदे बालीको रूपमा प्रयोग गर्दै आएका छन् । चाडपर्वको मुखमा आएर भारतले गरेको निर्यात अवरोधका कारण धेरैजसो जिल्लामा खनिएको अदुवा नबिकेर किसानका बारीमै रहेको छ । अदुवा रोकिँदा उनीहरूको खर्च व्यवस्थापनमा समस्या हुने देखिन्छ ।

पूर्वमा भन्दा मध्य र पश्चिममा बढी मात्रामा हुँदै आएको अदुवा निर्यातका लागि काँकडभिट्टा नाका प्रयोग गर्नुपर्छ । गत वर्ष विषादिको अवशेष पाइएको भन्दै निर्यात रोकेपछि भैरहवा, वीरगन्जलगायतका नाकाबाट अदुवा निर्यातमा लगाइएको प्रतिबन्ध अहिलेसम्म खुलेको छैन । पूर्वको नाका प्रयोग गरेर पश्चिमका नाकासँग नजिक रहेका गोरखपुरलगायतका भारतीय सहरमा अदुवा पुर्‍याउँदा ढुवानीसमेत महँगो पर्दै आएको छ । एउटा नाकाबाट मात्र निर्यातको अनुमति दिनुको पछाडि जसरी भए पनि नेपाली अदुवा निर्यातमा अवरोध गर्नु भारतीय सोच रहेको प्रस्ट हुन्छ ।

नेपालमा उत्पादन हुने ९५ प्रतिशत अदुवा भारतीय बजारमा पुगेपछि सफा गरी काँटछाँट र ग्रेडिङ गरी विभिन्न ब्रान्डमा बिक्री हुनुका साथै पाकिस्तान, बंगलादेश, जापान, जर्मनी, श्रीलंका, यूएई र इङल्यान्डमा समेत निर्यात हुँदै आएको छ । नेपालबाट भारत जाँदा भने माटोसहितको ताजा अदुवा सामान्य बोरामा प्याक गरेर पठाइन्छ । अदुवाबाट सुठो, क्यान्डीलगायतका सामान बनाउन सकिन्छ।

सामान्य मेहनतका आधारमा तयार हुने सुठो र अदुवाको पाउडरको माग अन्तर्राष्ट्रिय बजारमा राम्रो छ । नेपालमा समेत वार्षिक रूपमा करोडौं मूल्यको अदुवा पाउडर सुठो आयात हुँदै आएको छ । पटकपटक निर्यात अवरोधका कारण भारतसँग झुक्नुभन्दा नेपालमै प्रशोधन गर्ने यन्त्र ल्याएर सुठोलगायतका वस्तुको अन्तर्राष्ट्रिय बजार सीधै खोज्नु बुद्धिमानी हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.