साथीसँग ठोक्किँदा गोलरक्षकको मृत्यु
![साथीसँग ठोक्किँदा गोलरक्षकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Choirul-Huda-59e6dd18e4d0e9.10126874_AYDs0c6gcs.jpg)
जकार्ता : खेलका क्रममा आफ्नै टोलीका खेलाडीसँग ठोक्किएपछि गम्भीर घाइते बनेका एक गोलरक्षकको उपचारका क्रममा निधन भएको छ । माथिल्लो श्रेणीको इन्डोनेसियन लिग फुटबलअन्तर्गत आइतबार भएको सिमन पादाङविरुद्घको खेलका क्रममा साथीसँग ठोक्किएर एफसी पर्सेलाका अनुभवी गोलरक्षक चोइरुल हुदा गम्भीर घाइते बनेका थिए । ३८ वर्षीय हुदालाई तत्कालै अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको उनी सम्बद्ध क्लबले जनाएको छ ।
‘हुदाको उपचारमा संलग्न डा. युदिस्तिरो आन्द्री नुग्रोहोले छाती र च्यापुमा लागेको गम्भीर चोटका कारण गोलरक्षक हुदाको निधन भएको जानकारी हामीलाई दिनुभएको छ’, एफसी पर्सेलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । गोलरक्षक हुदाको घाँटी र टाउकोमा पनि गम्भीर असर परेको उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै क्लबले जनाएको छ ।
खेलका क्रममा हुदासँग ठोक्किने खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । उक्त घटनापछि पनि खेललाई भने निरन्तरता दिइएको थियो । उक्त खेलमा गोलरक्षक हुदाको क्लब पर्सेलाले सिमन पादाङलाई २-० गोलले हराएको थियो । इन्डोनेसियन लिगमा हुदा निकै अनुभवी गोलरक्षक थिए । उनले लिगमा पर्सेलाका लागि पाँच सय खेल खेलेका थिए ।
गोलरक्षक हुदाको निधनको समाचार सार्वजनिक भएलगत्तै हजारौं समर्थक उनीप्रति श्रृद्धाञ्जलि व्यक्त गर्न अस्पतालमा भेला भएका थिए । पर्सेलाले हुदाको निधनबाट क्लबलाई मात्र नभई समग्र इन्डोनेसियाको फुटबललाई नै अपूरणीय क्षति पुगेको बताएको छ । पर्सेलाले गोलरक्षक हुदाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)