राम राज्यको प्रतीक तिहार
नेपालीले मनाउने प्रमुख उत्सव तथा पर्वहरूमा तिहारको विशिष्ट स्थान छ। तिहारलाई दीपावली, यमपञ्चक तथा नेवारी भाषामा स्वन्ती आदि भन्ने गरिन्छ। यो पर्व पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।नेपालमा बसोवास गर्ने विभिन्न समुदायको संस्कृतिमा तिहारको उत्सव आआफ्नै तरिकाले मनाउने प्रचलन छ। समस्त भारत वर्षमा बसोवास गर्ने हिन्दु, बौद्ध, जैन र सिख समुदायमा यसको विशेष महत्व छ।
तिहारमा घर, आँगन, गाउँ, टोल, सहरहरू सफा राख्नुपर्ने धारणामा भने सबै समुदायमा समानता पाइन्छ। देवालयहरू मठमन्दिर, चैत्य, रूख, बिरुवानजिक सभा भवन, नदीनाला सबै भवनहरूका बगैंचा, इनार, कुवा, राजपथ, दरबारका साथै सिद्ध अर्तुत (जैन साधु) बुद्ध, चामुण्डा, भैरवका स्थानमा अस्त्रात्रार, घोडाको तबेला, हात्तीको हात्तीसार, गाई, भैंसी, बाख्रा आदिका गोठहरूमा दीप बाल्ने प्रचलनले पनि सबै समुदायमा समानता राखेको पाइन्छ। मीठो खाने, रमाइलो तथा नाचगान गर्नेजस्ता मनोरञ्जनका क्रियाकलापले पनि समानता राखेको छ।
प्राचीनता
मानिसले आगोको प्रयोग गर्न जानेदेखि नै आफू बस्ने ओडार, गुफाहरूमा प्रकाश वा उज्यालोको लागि दीप प्रयोग गर्ने गरेका छन्। ढुंगेयुगका मानिस दीपकै सहायताले गुफाका अँध्यारा भागका भित्तामा सुन्दर चित्र कोर्न सफल भएका उदाहरण फ्रान्स र स्पेनका गुफा चित्रहरूले प्रस्तुत गरेका छन्।
ढुंगे युगपछि विश्वमा विकसित प्राचीन सभ्यताहरूमा पनि उज्यालोको लागि तथा कुनै खुसियाली वा उत्सव मनाउन दीपावली गर्ने प्रचलन रहेको सहजै अनुमान लगाउन सकिन्छ। लगभग पाँच हजार वर्षअघिदेखि विकसित भारत वर्षको सभ्यताका सम्पूर्ण समुदायले दीप प्रज्ज्वलित गर्ने, खुसीयाली मनाउने विजयोत्सव गर्ने तथा देवीदेवताको पूजा–अर्चना गर्ने प्रचलनलाई निरन्तरता दिएको देखिन्छ। दीप प्रज्ज्वलन खुसियालीको प्रतीकको रूपमा समाजमा स्थापित छ।
अवधारणा
दीपावली गर्ने र खुसीयाली मनाउने प्रचलन भारत वर्षका विभिन्न क्षेत्रमा प्राचीनकालदेखिकै हो। यद्यपि केही क्षेत्रमा समय र तरिका भिन्न छन्। यो कुनै एउटा देवदेवीको सम्मानमा मात्र मनाइने उत्सव होइन। यो चार वा पाँच दिनसम्म चल्ने र हरेक दिन भिन्नभिन्न क्रियाकलाप वा कृत्य गरिने पर्व हो।
कर्म र पुनर्जन्मको सिद्धान्त यस क्षेत्रको धर्म एवं दर्शनसँग सम्बन्धित मौलिक सिद्धान्त हो। आत्मा अमर हुन्छ, शरीर मृत हुन्छ। आत्माको पुनर्जन्म हुन्छ भन्ने धारणा यस क्षेत्रका मानिसमा प्राचीनकालदेखि नै छ। वास्तवमा यो धारणा यस क्षेत्रमा बसोवास गर्ने आदिम जातजाति वा समुदायको मौलिक धारणा हो। यसै धारणालाई बौद्ध र जैनहरूले आआफ्नै तरिकाले व्याख्या गरेका छन्।
मानवलगायत सम्पूर्ण प्राणी, रुख, बिरुवा र निर्जीव पदार्थमा समेत आत्मतत्व हुन्छ, जो एक भौतिक शरीरबाट अर्को भौतिक शरीरमा प्रविष्ट गर्न सक्छ। आत्मा कर्म गर्न सक्ने र दुःख सहन गर्न सक्ने हुन्छ। कर्मअनुसारको सुख र दुःख प्राप्त हुन्छ भन्ने धारणाले स्वर्ग र नर्कलोकसम्बन्धी कल्पनालाई आत्मसात गरेको पाइन्छ।
यस लोकमा गरेको सत्कर्मको फल र दुष्कर्मको फल स्वर्ग लोकको र नर्क लोकको प्राप्तिको माध्यम बन्छ। कर्मबाटै जीवको भविष्य निश्चित हुन्छ। मानिस कामयाव हुन्छन्। उसको जस्तो कामना हुन्छ त्यस्तै उसको इच्छाशक्ति हुन्छ। जस्तो इच्छा शक्ति हुन्छ त्यस्तै उसको कर्म हुन्छ। जस्तो कर्म हुन्छ त्यस्तै उसले फल प्राप्त गर्दछ। यस प्रकारका धारणाले नर्क चतुर्दशीको रूपमा दीपावली पर्व मनाउने प्रचलन यस क्षेत्रमा लोकप्रिय छ।
प्रारम्भमा नर्क चतुर्दशी भनिने यस पर्वमा नर्कका देवता यमलाई प्रसन्न पार्न दीपावली गर्ने प्रचलन थियो। केही प्राचीन ग्रन्थअनुसार आश्विन कृष्णपक्षको चतुर्दशी र अमावश्याको साँझ मानिसहरूले हातमा उल्काहरू (मसाल) लिएर आफ्ना पितृलाई देखाउनुपर्दथ्यो र मन्त्र पाठ पनि गर्नुपर्दथ्यो, जसअनुसार मेरा कुटुम्बका ती पितृहरू जसको दाहसंस्कार भइसकेको छ, जसको दाहसंस्कार भएको छैन, जसको दाहसंस्कार प्रचलित धार्मिक कृत्यविना भएको छ, तिनले परमगति प्राप्त गरून्।
यस्ता पितृ जसको उद्धार भएको छैन, तिनलाई आआफ्नो लोकमा जान दीपहरूले उल्काहरूले मार्गदर्शन गराउन सकोस् भन्ने उच्चारण गर्ने गरिन्थ्यो। त्यसकारण यसलाई भूत चतुर्दशी पनि भनिएको पाइन्छ।
कालान्तरमा पछि गएर यो भगवान् रामको चौध वर्ष बनवासपछिको अयोध्या आगमनसँगै रामराज्यको कल्पना गरी सर्वसाधारण जनताद्वारा रामको स्वागत गर्न दीपावाली मनाइएको प्रसंग यसमा समावेश गरियो। सम्भवतः यो धारणा त्यस समयको राजनीतिक परिवर्तनको द्योतक बन्न गयो। केही कालपछि यो धारणा भगवान् कृष्णको कथासँग जोडिन पुग्यो।
कथाअनुसार भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेपछि पृथ्वी वा भूदेवीलाई पुत्रको रूपमा नरकासुर प्रदान गरे। नरकासुरले कठोर तप गरी ब्रह्मलाई खुसी पारेर ब्रह्माबाट आफ्नी आमाका हातबाट मात्र मृत्यु हुने अन्यथा अमर हुने वर पाए। सो वर पाएका शक्तिशाली नरकासुरले तीनै लोक विजय गरी इन्द्रलोकसमेत कब्जा गरे।
उनले देवता, सिद्ध, महात्मा तथा सर्वसाधारण जनतालाई साह्रै दुःख दिन थाले। उनले देवताहरूका आमा अदितीको आभूषण, कुण्डल आदि खोसे भने १६१०० युवतीको हरणसमेत गरे। उनको यस प्रकारको दुष्ट प्रवृत्तिबाट संसारका प्राणीलाई मुक्त गर्न भगवान् कृष्णले पत्नी सत्यभामाको सहयोगबाट नरकासुरको बध गरे। भू–देवी नै सत्यभामाको रूपमा पृथ्वीमा अवतरण भएकी थिइन्, जसले नरकासुरको बध गरिन्।
१६१०० युवतीलाई समाजमा सम्मानजनक स्थान दिन भगवान् कृष्णले उनीहरूसँग विवाह गरेर उद्धार गरे। पुत्र अधर्मी र पापी भए त्यसको पापको भार आमालाई र कुकर्ममा सहभागी हुने सम्पूर्णलाई पापको भार लाग्छ। फलस्वरूप तिनलाई जन्म दिन आमा (पृथ्वी) बाटै तिनको नाश हुन्छ भन्ने अवधारणा पनि सम्भवतः त्यस समयको राजनीतिक परिवर्तन र सुशासनको प्रतीक हुन गयो। नरकासुरको अत्याचारबाट मुक्ति पाइएको खुसीयालीमा यो दीपावली पर्वले अझ लोकप्रियता प्राप्त गर्यो।
लिच्छवीकालका अन्य राजा अंशुवर्मा, नरेन्द्रदेव आदिका अभिलेखमा दीप बाल्ने वा दीप गोष्ठीको उल्लेखले पनि नेपालमा तिहार मनाउने प्राचीन प्रचलनलाई संकेत गरेको छ।मध्यकालमा काष्ठकला, धातुकला आदिमा विहार, मठमन्दिरका कलाकृतिमा नर्कको दृश्य आदिले पनि तिहारको संकेत गरेको बुझिन्छ।
पौराणिक साहित्यहरूमा दीपावली पर्वलाई बलिराजाको कथासँग जोडिएको पाइन्छ। बलि विष्णुभक्त प्रह्लादको पुत्र विरोचनका छोरा थिए। उनी निकै शक्तिशाली थिए। उनले देवताहरूको यश र ऐश्वर्य खोसेका थिए। उनले बढी शक्ति प्राप्तिका लागि अश्वमेध यज्ञ गरे। विष्णुले वामनको रूप धारणा गरेर बलिसँग तीन पाइला भूमिको माग गरे।
गुरु शुक्रले बलिलाई विष्णुको छलप्रति सचेत गराए तर पनि बलिले विष्णुलाई तीन पाइला भूमि दिने प्रतिज्ञा गरे। वामनले विशाल रूप धारणा गरेर एक पाइलाले स्वर्ग र अर्को पाइलाले सम्पूर्ण भूमि ढाके। उनले तेस्रो पाइला कहाँ राख्नेभन्दा बलिले आफ्नो टाउको थापे। यस प्रकार बलिको टाउकोमा अर्को पाइला राखेर विष्णुले बलिलाई पाताल लोकको अधिपति बनाई भविष्यमा हुने इन्द्रको स्थिति प्रदान गरे। लगभग दुई हजार वर्षअघिदेखि गीत, नाटकको रूपमा यस क्षेत्रमा बलिराजाको कथाले लोकप्रियता पाएको देखिन्छ। बलि प्रतिपदालाई वीर प्रतिपदा र द्युत प्रतिपदा पनि भनिन्छ। पुराणअनुसार यसै दिन पार्वतीले जुवा खेलेर शिवलाई जितेकी थिइन्। यस दिनको हारले वर्ष दिनसम्म धनको हानि हुन्छ र विजयले वर्षभरि कल्याण गर्दछ भन्ने धारणा पनि प्रचलित छ। यस कथाले पनि विष्णुको विजयलाई प्रतिनिधित्व गरेकाले यसले राजनीतिक परिवर्तनलाई विजयोत्सवको रूपमा दीपावली गरी मनाइएको पर्वलाई संकेत गरेको छ।
प्रचलन
दीपावली लगभग पाँच दिनसम्म मनाइन्छ। पहिलो दिन धनको पूजा गरिन्छ र सूचनावाहकको रूपमा कागलाई खानेकुरा तथा जल प्रदान गरिन्छ। यसलाई यमको सूचनावाहक पनि मानिन्छ। दोस्रो दिन नरकासुरमाथि भगवान् कृष्णको विजयको उत्सवको रूपमा मनाइन्छ। यस दिन प्राचीनकालदेखिको मानिसको मित्रको रूपमा रहेको कुकुरको पूजा गर्ने गरिन्छ। यो पनि यमको दूत मानिन्छ।
तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ। जनआस्थाअनुसार यस चतुर्दशीको दिन लक्ष्मी तेलमा र गंगा सबै स्थानका जलमा निवास गर्दछिन्, तसर्थ यस दिन जुन मानिसले तेल लगाएर स्नान गर्दछ, त्यो यमलोक जाँदैन। यस प्रकार तेल स्नान र दीप प्रज्ज्वलनबाट धन एवं ऐश्वर्य प्राप्ति हुन्छ।यस अमावश्यालाई महत्वपूर्ण दिन मानिन्छ। तेल र स्नान गरी अलक्ष्मी (दुर्भाग्य र निर्धनता) को अन्त्य गर्नका लागि लक्ष्मी पूजा गर्ने गरिन्छ। आजभोलि यो दिन वैश्य एवं व्यापारिकद्वारा विशेष रूपले लक्ष्मी पूजा गर्ने प्रचलन छ। उनीहरूले आफ्नो बहिखाता पूजा गर्छन्।
मित्र, क्रेताहरू एवं अन्य व्यापारीलाई निमन्त्रणा गर्ने, मिठाई, पानद्वारा स्वागत सत्कार गर्ने, पुरानो बहीखाना बन्द गर्ने, नयाँ खाता खोल्ने आदि प्रचलन छ।अनु श्रुतिअनुसार ब्रह्माले ब्राह्मणहरूलाई रक्षा बन्धन, ( श्रावण पूर्णिमा) क्षेत्रीयहरूलाई दसैं (विजयादशमी), वैश्यहरूलाई दीपावली एवं शूद्रहरूलाई होली (फागु) उत्सव दिएका हुन्। लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि भनिन्छ। लक्ष्मीको साथै कुबेरको पनि पूजा गर्ने गरिन्छ। सुखरात्रिको अवधारणामा आध्यात्मिक सुख र अन्धकार वा अज्ञानको अन्त्यसम्बन्धी दार्शनिक पक्ष पनि रहेको मानिन्छ।
चौथो दिन बलिराजालाई विष्णुले वामनको रूपमा छल गरी विजय हासिल गरेको उत्सवको रूपमा मनाइन्छ। यस्तै भगवान् कृष्णको गोवर्धन पर्वत उचालेर रक्षा गरेको सम्झनामा पनि यस दिन गोवर्धन पूजा गर्ने गरिन्छ। यो दिनलाई धुत दिवस वा जुवा खेल्ने दिनको रूपमा पनि मनाइन्छ। पाँचौं दिन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको आदानप्रदानको रूपमा भाइटीका गरी मनाइन्छ। आश्विन कृष्ण पक्षको त्रयोदशीदेखि पाँच दिनसम्म दीपावली गर्ने गीत तथा नाच गान गर्दै मीठामीठा खानेकुरा खाई तिहार मनाइन्छ।
नेपालमा तिहारको प्राचीनता
नेपालमा तिहार प्राचीनकालदेखि मनाइएको थाहा हुन्छ। नेपालको प्रमाणिक इतिहासको सुरुवात लिच्छवि राजा मानदेव (ईस्वीको पाँचौं शताब्दी) देखि नै तिहार मनाइने प्रचलनलाई सांकेतिक रूपमा बुझ्न सकिन्छ। भगवान् विष्णुका भक्त राजा मानदेवले आफ्नी आमाको पुण्य बढोस् भनेर बलिराजाको कथाको आधारमा त्रिविक्रम वामनको मूर्ति बनाउन लगाएर मन्दिरसमेत बनाएको प्रमाण पशुपति तीलगंगा तथा लाजिम्पाट (हाल राष्ट्रिय संग्राहलय) बाट प्राप्त दुइटा विष्णु विक्रान्तको मूर्ति र त्यसमा रहेको अभिलेखबाट स्पष्ट हुन्छ।
लिच्छवीकालका अन्य राजा अंशुवर्मा, नरेन्द्रदेव आदिका अभिलेखमा दीप बाल्ने वा दीप गोष्ठीको उल्लेखले पनि नेपालमा तिहार मनाउने प्राचीन प्रचलनलाई संकेत गरेको छ। मध्यकालमा काष्ठकला, धातुकला आदिमा विहार, मठमन्दिरका कलाकृतिमा नर्कको दृश्य आदिले पनि तिहारको संकेत गरेको बुझिन्छ।
लिच्छवीकाल, मध्यकाल हुँदै हालसम्म तिहार मनाउने परम्परागत शैलीमा केही भिन्नता वा आधुनिकताले अनेकौं क्रियाकलापलाई अँगाले पनि तिहार मनाउने प्रचलन लगभग १५ सय वर्षअघिदेखि नै नेपाली समाजमा रहेको प्रस्ट हुन्छ। यसर्थ तिहार नेपालीको राष्ट्रिय एकताको प्रतीकको रूपमा हिमाल, पहाड तथा तराईमा प्रचलित एक राष्ट्रिय उत्सव र पर्वको रूपमा रहेको छ।
ठूलाठूला राजनीतिक परिवर्तनको प्रतीकको रूपमा पनि दीपावली गर्ने प्रचलन प्राचीनकालदेखि नै रहेको सर्वविदितै छ। परिवर्तनसँगै राम राज्यको कल्पना गर्ने नेपालीमा यसपटकको तिहारले पनि विशेष महत्व पाएको छ।आगामी तिहारमा सुखसमृद्धिका साथै रामराज्यको महसुस गर्न सकौं, यही कामना हरेक नेपालीले गरेका छन्।