भ्रष्टाचार नियन्त्रणमा केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन

भ्रष्टाचार नियन्त्रणमा केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी)को १९औँ कंग्रेस (महाधिवेशन) गत बुधबार बिहान चिनियाँ राजधानी शहर बेइजिङमा उद्घाटनपछि आफ्नो सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले भने, ‘घूस लिने र दिने दुवै राष्ट्रविरोधी हुन्, यी दुवैलाई छोडिँदैन ।’

सन् २०१२ मा सी चीनको राष्ट्रपति निर्वाचित भएपछिको पहिलो सम्बोधनका क्रममा उनले भनेका थिए, ‘चीनको सबैभन्दा ठूलो चुनौती देशको भ्रष्टाचार हो । त्यसमा सघाउने घूस दिने र लिने दुवै हुन् । उनीहरूलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनु मेरो पहिलो काम हुनेछ ।’ सन् २०१२ को १५ नोभेम्बरका दिन चीनको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछिको पहिलो भाषणमा उनले देशबाट भ्रष्टाचार नियन्त्रणमा आफू सक्रिय हुने बताएका थिए । त्यसयता पनि उनले मुलुकमा आफूलाई भ्रष्टाचारविरोधी नेताका रूपमा उभ्याउँदै आएका छन् । आफ्नो पहिलो आधा कार्यकाल अथवा ठीक पाँच वर्षपछि भएको पार्टीको महाधिवेशनमा पनि उनले सोही प्रतिबद्धता दोहोर्‍याए ।

 

चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख समेत रहेका राष्ट्रपति सीले चीनमा भ्रष्टाचारविरोधी नेताका रूपमा आफूलाई शक्तिशाली बनाउँदै पनि आएका छन् । देशमा यो पाँच वर्षको कार्यकालमा उनले भ्रष्टाचारको विरुद्धमा अभियान नै चलाए । लाखौँ सरकारी अधिकारी कारबाहीमा परेका छन् भने सरकार वा पार्टीले गर्ने महँगा बिलासिताका कार्यक्रम तथा सरकारी फजुल खर्चको नियन्त्रणमा उनी लागिपरे । यस कार्यमा उनलाई ठूलो सफलता पनि मिलेको छ ।

बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ शुरु उक्त महाधिवेशनमा चीनका विभिन्न भागबाट २ हजार २ सय ८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरू कम्युनिस्ट पार्टीका उच्च नेता तथा उच्च सरकारी अधिकारी पनि हुन् । यो नेशनल कंग्रेस हरेक पाँच वर्षमा हुन्छ । नेशनल कंग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाेच्च निकाय एवं शक्तिशाली निकाय हो । यसले आगामी पाँच वर्षका लागि कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले गर्ने कामको योजना पारित गर्दछ ।

अधिवेशनको सम्बोधन राष्ट्रपति सीले भ्रष्टाचार नियन्त्रणकै प्रसंगबाट शुरु गरेका थिए । राष्ट्रपति सीले भने, ‘चीनमा यतिखेर भ्रष्टाचारका विरुद्धमा लडाइँ जारी छ, त्यसको अन्त्य अझै भएको छैन । तर जसरी पनि यो लडाइँ जित्नुपर्छ, त्यो हाम्रो प्रमुख काम हो ।’ उनले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको धारणा पाँच वर्षअघिकोजस्तै गरी दोहोर्‍याए । उनले चुनौती सधैँ एकै रूपमा नरही यसलाई निराकरण गर्न सकिने बताए ।

उनले भने, ‘म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान शुरु गरेको हुँ र अहिलेसम्म भ्रष्टाचारमा संलग्नताको आरोपमा लाखौँ व्यक्तिलाई कारबाही गरिएको छ । यो क्रम निरन्तर रहन्छ । घूस खानेमात्र होइन, दिने पनि उत्तिकै जिम्मेवार छन्, कारबाही यी दुवैलाई हुन्छ किनभने यी दुवै राष्ट्र विरोधी हुन् । हामी भ्रष्टाचारका विषयमा शून्य सहनशीलतामा काम गर्नेछौँ, यो कुरा सबैले बुझ्नु जरुरी छ ।’

उनले यता पार्टीको महाधिवेशनमा यस्तो सम्बोधन गरेको केही दिनमात्र अघि चीन सरकारले यहाँका सरकारी अधिकारी तथा पार्टीका विभिन्न तहका नेताहरू समेत गरी कम्तीमा पनि १४ लाखजनालाई भ्रष्टाचारको आरोपमा कारबाही गरिएको तथ्यांक सार्वजनिक गरेको थियो । चीन सरकारद्वारा सार्वजनिक तथ्यांकमा त्यति ठूलो संख्याका अधिकारीलाई भ्रष्टाचार, अनियमितता तथा अनुशासन उल्लंघन गरेकोमा जेल सजाय गरिएको जनाइएको थियो ।

तथ्यांकमा दिइएअनुसार यसरी कारबाही गरिएकामध्ये २ सय ८० जना केन्द्रीय प्रशासनिक निकायका उच्च अधिकारी छन् । उनीहरूलाई आरोप प्रमाणित भएर जेल सजाय नै सुनाइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत यति धेरै सरकारी अधिकारीहरू कारबाहीमा परेका र आफ्नो कार्यकालको यो एक सफलता पनि भएको राष्ट्रपति सीले चर्चा गरे ।

त्यस क्रममा उनले चीनको केन्द्रीय, प्रान्तीय, जिल्लास्तरीय र नगरस्तरीय गरी चार तहमा भ्रष्टाचारजन्य कार्यहरूको अनुगमनका लागि अनुगमन आयुक्तहरू नियुक्त गर्न लागिएको खुलासा पनि गरे । ती आयुक्तहरूलाई कानुनबमोजिम अधिकार, साधन स्रोत र अनुसन्धानका लागि आवश्यक सहयोग केन्द्र सरकारले दिने उनको भनाइ थियो । यसका कारण आउने दिनमा चीनको भ्रष्टाचारविरोधी अभियानले अझै सशक्तता पाउने उनको धारणा थियो ।

सी चीनका पूर्वराष्ट्रपति माओ जेदुङपछिका शक्तिशाली तथा लोकप्रिय नेताका रूपमा आफूलाई स्थापित गराएका छन् । उनले एक समाजवादी राष्ट्रका रूपमा संसारमा चीनलाई चिनाउने आफ्नो योजनाको बारेमा नयाँ आर्थिक कार्यक्रम प्रस्तुत गर्दै आएका छन् । तीध्येको सबैभन्दा महत्वाकांक्षी र ठूलो कार्यक्रम हो बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ्स) । यो आयोजनाले अहिलेसम्म संसारका ६० वटा देश छोइसकेको वा छुने क्रममा रहेको बताइन्छ । यसलाई उनले अघि सारेको चिनियाँ आर्थिक क्रान्तिको अर्काे पाटोका रूपमा व्याख्या गरिन्छ ।

वर्तमान राष्ट्रपति सी सत्तामा आएपछि चीनको आर्थिक विकास र सामाजिक सम्बन्धको जालो संसारमा अझ बढी जेलिएको पाइन्छ । पछिल्ला वर्षहरूमा चीनको उन्नतिको चर्चा हुन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आगामी वर्षहरूमा विश्वको ठूलो अर्थतन्त्र बन्ने पाइला तय गर्नसक्ने अनुमानसहितका विश्लेषण विभिन्न देशबाट सम्प्रेषित हुने गरेका छन् । त्यसैले पनि चीनले सबैभन्दा पहिला आफ्नै देशको भ्रष्टाचार उन्मूलन गर्ने कामलाई प्राथमिकतामा राख्दै आएको छ । यसलाई राष्ट्रपति सीले आफू सत्तामा आएदेखि नै निरन्तर अघि सारेका छन् । —रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.