'बंगलादेशमा ६ लाख रोहिंग्या'
म्यान्मारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्या जातिका विरुद्धमा जारी रहेको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या करिब ६ लाख पुगेको छ ।
यसरी भागेर बंगलादेश पुगेका म्यान्माली शरणार्थीको संख्या ५ लाख ९० हजार रहेको छ । अहिले पनि म्यान्मारको सीमा क्षेत्रबाट बंगलादेश छिर्ने क्रम जारी रहेको छ । बंगलादेश पुगेका म्यान्माली शरणार्थीमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन् । शरणार्थी बालबालिकाको संख्या ३ लाख २० हजार रहेको पनि जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता फराह हकले दिएको जानकारीअनुसार अहिले पनि म्यान्मारको उत्तरी राखिन राज्यबाट भागेर बंगलादेश छिर्ने क्रम रोकिएको छैन । यी दुई देशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर म्यान्मालीहरू बंगलादेश छिर्ने गरेका छन् । उनले केही दिनमात्र यता पनि करिब सात हजार म्यान्मालीहरू करिब चार दिनको यात्रापछि बंगलादेश आइपुगेको बताएका छन् । उनीहरूमध्ये अझै हजारौं रोहिंग्या म्यान्मारबाट बाटो लागेका तर बंगलादेश आउने क्रममा रहेका छन् । बंगलादेशका शरणार्थी शिविरहरूमा उनीहरूको जीवन अत्यन्तै कष्टपूर्ण बन्दै गएको, धेरै ठूलो संख्याका शरणार्थी रहेकाले उनीहरूको खानपिन तथा अन्य कामका लागि पनि व्यवस्थापन गर्न अप्ठेरो भएको तथा दाता राष्ट्रहरू तथा संघसंस्थाहरूलाई पनि आग्रह गरिएको उनले बताए ।
यसैबीच ती शरणार्थी शिविरहरूमा रहेका बालबालिकाको अवस्था प्रतिदिन नाजुक हुँदै गएको छ । स्वस्थ खानेपानी तथा अन्य आधारभूत आवश्यकताको अभावमा उनीहरूको अवस्था नाजुक बन्दै गएको हो । उनीहरूमा पानीजन्य संक्रमण देखिएको, झाडापखाला र आउँका विरामीहरू प्रतिदिन बढिरहेको भन्दै स्वास्थ्य कार्यकर्ताहरूले बालबालिकामा हैजाको प्रकोप फैलिनसक्ने त्रास कायमै रहेको बताएका छन् ।
गत अक्टोबर २५ मा म्यान्मारको उत्तरी राखिन राज्यमा बसोवास गरिरहेका रोहिंग्या समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि आक्रमण थालेको थियो । त्यसै कारण उनीहरू देश छोडेर भाग्न बाध्य भएका थिए । यसरी देश छोडेर भागी बंगलादेश पुग्नेहरूको संख्या झण्डै ६ लाग पुग्न लागेको छ ।