सुरु भएको १७ वर्षमा पनि बनेन क्रिक्रेट मैदान

सुरु भएको १७ वर्षमा पनि बनेन क्रिक्रेट मैदान

 

तुलसीपुर : दाङको लमहीमा सुरु गरिएको लमही क्रिकेट मैदानको निर्माण कार्य १७ वर्षसम्म पनि पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उद्देश्यसहित लमही नगर विकास समितिले निर्माण थालेको क्रिकेट मैदानले १७ वर्षसम्ममा पनि पूर्णता पाउन नसकेको हो । आर्थिक वर्ष २०५७÷०५८ देखि सुरु भएको क्रिकेट मैदान निर्माणमा हालसम्म दुई करोड ८३ लाख रुपैयाँ खर्च भइसकेको छ ।

नगर विकास समितिका अनुसार युवा तथा खेलकुद मन्त्रालयले मात्रै २० लाख रुपैयाँ लगानी गरेको छ । ३५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यो मैदान पश्चिम नेपालकै ठूलो खेलमैदान भएको दाबी गरिँदै आएको छ । लमही नगर विकास समितिका सबइन्जिनियर तुलसीराम अर्यालले निर्माण सुरु भएको १७ वर्षसम्ममा पनि निर्माणको काम पूरा नभएको बताए । उनले नगर विकासका तर्फबाट डीपीआर गरिसकिएको र हालसम्म दुई करोड ८३ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।

 

क्रिकेट मैदानमा चालू आर्थिक वर्षमा एक करोड ३१ लाख रुपैयाँको काम भइरहेको छ । हालसम्म फिल्ड ग्रेडिङ, नाला, तारजाली निर्माण, कम्पाउन्डवाल निर्माण र मैदानको डीपीआर तयार गर्ने काम भएको छ । विकास समितिले मात्रै लागत बेहोर्न नसक्ने भएपछि मैदानले पूर्णता पाउन नसकेको र खेल्न सहजताका लागि फिल्ड रेडिङ र ग्रेडिङ गरिएको अर्यालले बताए ।

चालू आर्थिक वर्षमा नगर विकास समितिले क्रिकेट मैदानमा अन्डरग्राउन्ड पक्की नाली निर्माण र प्याराफिट निर्माणका लागि एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको सबइन्जिनियर अर्यालले जानकारी दिए । ‘क्रिक्रेट मैदानमा खेल सञ्चालन गर्न अब ग्राउन्ड पिच, खेलमा आवश्यक भौतिक पूर्वाधार र नाला निर्माण गर्न आवश्यक रहेको छ’, उनले भने, ‘नगर विकास समितिले आफ्नो लगानीमा मैदानको निर्माणमा सहयोग गरिरहेको छ । हालसम्म जिल्ला खेलकुद विकास समितिबाट जम्मा २० लाख लगानी भएको छ ।’ पूर्ण रूपमा मापदण्डअनुसारको मैदान निर्माण गर्न २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।

अर्यालले नगर विकास समितिले मात्रै क्रिकेट मैदान पूरा गर्न नसक्ने भएकाले राज्यले पनि ध्यान दिनुपर्नेमा बताए । उनले विभागीय मन्त्रीदेखि खेलकुद विकास समिति, जिल्ला विकास समिति र खेलकुद र क्रिकेटसँग सम्बन्धित सबै निकायसँग आग्रह गरिएको जानकारी दिँदै कतैबाट सुनुवाइ नभएको बताए । राज्यले निर्माणमा चासो नदिँदा १७ वर्षदेखि क्रिकेट मैदान निर्माणाधीन अवस्थामै रहेकोमा आक्रोश स्थानीय सरोकारवालाले पोखे ।

लमही क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउनुपर्ने र त्यसको पहल स्थानीय सरकारले गर्नुपर्ने माग उनीहरूले गरे । अन्तर्राष्ट्रिय स्तरको लमही क्रिक्रेट मैदानलाई राष्ट्रिय गौरवको योजनाको रूपमा लैजानुपर्ने र गुरुयोजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरी राष्ट्रियस्तरको खेल आयोजना गर्नुपर्ने जिल्लाका खेलप्रेमीको माग छ । दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले क्रिकेट मैदान निर्माणमा राज्यले ध्यान दिनुपर्ने र राष्ट्रिय गौरवको योजना घोषणा गरेर काम थाल्नुपर्ने बताए ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले क्रिक्रेट मैदानको संरक्षण र निर्माणमा नगरपालिकाले चासो दिने बताए । केसीले लमहीको क्रिक्रेट मैदान दाङ जिल्लासहित सिंगो राष्ट्रको गौरव भएको भन्दै मैदानको निर्माण कार्यलाई पूर्णता दिन लगानीकर्ताको खोजी गर्ने बताए । उनले तत्कालका लागि प्रशिक्षकको व्यवस्था गर्ने, मध्यपश्चिमस्तरीय महिला क्रिकेट प्रतियोगिता लमहीको मैदानमै आयोजना गर्नका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । ‘लमहीको समग्र विकासमा क्रिक्रेट मैदानको भूमिका महत्वपूर्ण छ, यसलाई पूर्णता दिन म निरन्तर लाग्नेछु’, उनले भने ।

१७ वर्षदेखि भएको लगानी
आर्थिक वर्ष लगानी
२०५७÷०५८ ३० लाख
२०५८÷०५९ १८ लाख
२०६४÷०६५ २६ लाख
२०७३÷०७४ ५८ लाख
२०७४÷०७५ १ करोड ३१ लाख
२०६४÷०६५ २० लाख (खेलकुद विकास समितिबाट)
जम्मा रकम २ करोड ८३ लाख


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.