खेलकुदमा पूर्वाधार
सत्र वर्षअघि निर्माण सुरु भएर ८३ लाख खर्च भइसक्दा पनि दाङको लमहीमा क्रिकेट मैदान बन्न सकेको छैन । त्यस्तै, दरिलो सरकारी प्रतिबद्धताको अभावमा काठमाडौंको मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानले समेत वर्षौं बितिसक्दा पूर्णता पाउन सकेको छैन । मूलपानी क्रिकेट मैदानको स्थानमा पहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको परियोजना निर्माण गर्ने योजना थियो । तर नेपाली खेल पदाधिकारीको आपसी विवादका कारण त्यो परियोजना हाल दुबईमा सारिएको छ ।
आईसीसीकै सहयोगमा प्रशिक्षकसमेत राखिने सो एकेडेमीमा पौडीपोखरी र जिम हलसहित धेरै सुविधाको व्यवस्था थियो । यद्यपि, काठमाडौंमै बनाउनुपर्ने प्रावधानका विरुद्ध पोखरामा बनाउनुपर्ने भन्दै नेपाली खेल पदाधिकारीबीच विवाद सुरु भएपछि आईसीसीले सो परियोजना दुबईलाई दिएको थियो ।
खेल पदाधिकारीको विवादका कारण आफूले ल्याएका परियोजना पूरा नभएको भन्दै निधन हुनुभन्दा अघिसम्म पनि नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहले दु:खेसो पोखेका थिए । लमही क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान त उदाहरणमात्र हुन् । देशव्यापी रूपमा खेलकुदको भौतिक पूर्वाधारको अवस्था यस्तै दयनीय छन् । देशको राजधानीमै समेत फुटबलजस्तो लोकप्रिय खेलका लागिसमेत एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला छैन । जेनतेन खेलाडी र खेलप्रेमीको भार थेग्दै आएको अन्तर्राष्ट्रिय स्तरको एकमात्र दशरथ रंगशालाको अवस्था पनि २०७२ सालको भूकम्पका कारण झनै जीर्ण बनेको छ । भूकम्पकै कारण भत्केको त्रिपुरेश्वरस्थित पौडी पोखरी अझै अस्तव्यस्त छ ।
स्तरीय खेलकुदका लागि भौतिक पूर्वाधार पहिलो र अनिवार्य पूर्वसर्त हो । पर्याप्त भौतिक पूर्वाधारको विकासबिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कुनै पनि मुलुक स्थापित हुनसक्दैन । नेपाली खेलकुदको प्रमुख चुनौती पनि भौतिक पूर्वाधारको अभाव नै हो । सत्ता र शक्तिको आडमा केही सीमित व्यक्तिको स्वार्थपूर्तिको माध्यम बनेको नेपाली खेलकुदले अझै स्वाभाविक आकार ग्रहण गर्न सकेको छैन । खेलक्षेत्रमा आफ्नो सुनौलो भविष्य खोज्न सक्रिय खेलाडीले न्यूनतम् भौतिक पूर्वाधारको अभावमा नियमित अभ्यास गर्ने गतिलो वातावरणसम्म पाएका छैनन् ।
नेपालमा आठौं दक्षिण एसियाली खेलकुद आयोजना हुँदा चीन सरकारले सातदोबाटोमा अन्तर्राष्ट्रिय खेलकुदपरिसर, पौडी पोखरी, दशरथ रंगशालामा फ्लड लाइट, सिन्थेटिक ट्र्याकलगायतका पूर्वाधार निर्माण गरिदिएको थियो । त्यसयता भने नेपाली खेलकुदमा कुनै पनि ठूला पूर्वाधार निर्माण हुन सकेका छैनन् । नेपालले सन् २०१९ मा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको छ । तर राष्ट्रको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन डेढ वर्ष बाँकी रहँदा पनि त्यसका लागि पूर्वाधार निर्माणमा हाम्रो ध्यान पुगेको छैन ।
कनिका छरेझैं बजेट छुट्याइने प्रचलनका कारण कतै कभर्ड हलको जग उठाउने काम भएका छन् भने कतै माटो सम्याउँदैमा बजेट सकिने अवस्था छ । राष्ट्रिय खेलकुद परिषद्का नाममा मुलुकका हरेक जिल्ला र ठूला सहरमा पर्याप्त जग्गाजमिन छ तर ती जमिनको उचित उपयोग हुन सकेको छैन।
ती स्थानमा खेलकुदका पूर्वाधार निर्माण गरेर त्यसको सदुपयोग गर्न सके परिषद्का लागि आर्थिक आयआर्जनको गतिलो माध्यमसमेत बन्न सक्नेबारे सम्बद्ध निकायको ध्यान जानुपर्छ । स्पष्ट, दीर्घकालीन र ठोस योजना बनाएर अघि बढ्न सके नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलमञ्चमा उल्लेख्य सफलता हासिल गर्न सक्छ । खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणमा सरकार र सम्बन्धित निकाय गम्भीर हुनु आवश्यक छ ।