आरिफ, करण, सन्दीप र विनोदलाई सर्वाधिक बोली

 आरिफ, करण, सन्दीप र विनोदलाई सर्वाधिक बोली

 

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि सोमबार भएको खेलाडी लिलामी (अक्सन)मा राष्ट्रिय टोलीका चारजना खेलाडी आरिफ सेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारीका लागि सर्वाधिक बोली लागेको छ । यी चारैजना खेलाडी जनही एक लाख ७५ हजार रुपैयाँमा बिकेका छन् ।प्रतियोगितामा सहभागी ६ मध्ये पाँचवटा टोलीले यी चारैजना खेलाडीका लागि तोकिएको अधिकतम रकम (एक लाख ७५ हजार रुपैयाँ) तिर्न तयार भएपछि त्यसको टुंगो गोला प्रथाबाट लगाइएको थियो ।

दायाँहाते ब्याटिङ अलराउन्डर आरिफलाई भैरहवा ग्लाडिएटर्सले किनेको छ । यसैगरी दायाँहाते मध्यम गतिका बलर करणलाई भैरहवा वारियर्स, दायाँहाते लेग स्पिनर सन्दीपलाई ललितपुर प्याट्रियट्स र विकेटकिपर ब्याट्सम्यान विनोदलाई पोखरा राइनोजले किनेको छ । ईपीएल दोस्रो संस्करणमा मार्की प्लेयर र विदेशी खेलाडीबाहेक यी चारजना सर्वाधिक रकम पाउने खेलाडी बनेका छन् ।

 

आयोजकले मार्की प्लेयरका लागि टोलीहरूले आपसी समझदारीमा तलब निर्धारण गर्नसक्ने जनाएको छ भने विदेशी खेलाडीको रकम पनि तय हुन बाँकी छ । घरेलु खेलाडीको अक्सन सोमबार सकिँदा आयोजकले विदेशी खेलाडी पनि चाँडै सार्वजनिक गरिने जनाएको छ । आयोजकले सहभागी सबै टोलीका लागि तीनजना विदेशी खेलाडी अनिवार्य गरेको छ ।

नाम दर्ता गराएका एक सय ६० जना खेलाडीलाई सोमबार अक्सनमा राखिएको आयोजकले जनाएको छ । आयोजकले टोलीहरूलाई अक्सनमा क्याटेगोरी ‘ए’ बाट कम्तीमा एक र बढीमा चार तथा क्याटेगोरी ‘बी’बाट कम्तीमा चार र बढीमा ६ जना खेलाडीसम्म किन्न पाउने नियम राखेको थियो । ‘सी’ क्याटेगोरीका खेलाडीलाई भने ‘फिलर’का रूपमा प्रयोग गरिएको जनाइएको छ ।

खेलाडी किन्नका लागि १० लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको उक्त अक्सनमा ‘ए’ क्याटेगोरीका लागि प्रतिखेलाडी कम्तीमा एक लाख २५ हजार र बढीमा एक लाख ७५ हजार, ‘बी’ क्याटेगोरीका खेलाडीका लागि कम्तीमा ७५ हजार र बढीमा एक लाख २५ हजार तथा ‘सी’ क्याटेगोरीका खेलाडीका लागि कम्तीमा ५० हजार र बढीमा ७५ हजार रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको थियो ।

‘बी’ क्याटेगोरीका खेलाडीमध्ये पनि आठजना खेलाडीका लागि एकभन्दा बढी टोलीले तोकिएको मध्ये सर्वाधिक रकम तिर्न तयार भएपछि गोला प्रथामार्फत निर्णय लिइएको थियो । भैरहवा ग्लाडिएटर्सले कृष्ण कार्की र भुवन कार्कीलाई जनही एक लाख २५ रुपैयाँ तिर्ने गरी गोल प्रथामार्फत आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ । यसैगरी आसिफ सेखलाई विराटनगर वारियर्स, सहाब आलमलाई चितवन टाइगर्स, सुशील कँडेललाई काठमाडौं किङ्स इलाभेन, कुशल भुर्तेल र पवन सर्राफलाई ललितपुर प्याट्रियट्स तथा सौरभ खनाललाई पोखरा राइनोजले गोला प्रथामा आफ्नो टोलीमा पारेका छन्।

यसैगरी ‘सी’ क्याटेगोरीका खेलाडीमध्ये अलराउन्डर अमरसिंह रौटेलाका लागि सर्वाधिक बोली लागेको छ । रौटेलालाई काठमाडौं किङ्स इलाभेनले ७५ हजार तिरेर गोला प्रथामार्फत आफ्नो टोलीमा पारेको छ । अक्सनमा रहेकामध्ये ६० जना खेलाडी बिकेका छन् । टोलीहरूले आफूलाई आवश्यक परे तथा अनुबन्धित खेलाडी घाइते वा अन्य कारणले उपलब्ध नभएको अवस्थामा अक्सनमा परेर पनि नबिकेका खेलाडीलाई अनुबन्ध गर्नसक्ने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.