एन्फाको बैठकले विशेष साधारणसभाको निर्णय उल्ट्यायो

एन्फाको बैठकले विशेष साधारणसभाको निर्णय उल्ट्यायो

काठमाडौं : विशेष साधारणसभाले गरेको निर्णय उल्ट्याउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले आफ्नो निर्वाचन साधारणसभा झन्डै एक महिना पछि सारेको छ । एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले पदाधिकारीकै विरोधका बीच निर्वाचन साधारणसभा सार्ने निर्णय गरेको हो, जुन व्यावहारिक र एन्फाको विधानको समेत विरुद्धमा छ ।

एन्फाले आफ्नो चुनावी साधारणसभाको मिति निर्धारण गर्नका लागि गत २३ असोजमा बोलाएको विशेष साधारणसभाले आगामी २३ पुस (जनवरी ७) मा नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । तर, त्यसको महिना दिन पनि नबित्दै एन्फा कार्यसमिति बैठकले फिफा र एएफसीको प्रतिनिधिको उपस्थितिमा भएको विशेष साधारणसभाको निर्णयलाई समेत उल्ट्याएर आगामी माघ ११ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । कार्यसमिति बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि हुन लागेको आसन्न निर्वाचनका कारण आफ्नो निर्वाचन सार्नु परेको जनाएको छ । कार्यसमितिको सो निर्णयप्रति एन्फाका उपाध्यक्ष किशोर राईले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

 

‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले हाम्रो निर्वाचनमा कुनै असर पर्दैन । त्योभन्दा महत्वपूर्ण कुरा फिफा र एएफसीको समेत प्रतिनिधि उपस्थितिमा बसेको विशेष साधारणसभाले गरेको निर्णय कार्यसमितिले उल्ट्याउन मिल्दैन’, उपाध्यक्ष राईले भने, ‘हामीले निर्वाचन सार्न हुन्न भन्दा पनि साथीहरूले एकलौटी निर्णय गर्नुभयो । त्यसैले मैले नोट अफ डिसेन्ट लेखेको हुँ ।’ राईले मिति सारेर निर्वाचन नै नगराउने खेल सुरु भएको समेत बताए ।

कार्यसमिति बैठकले सुमन केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति र मोतीराम गौतमको संयोजकत्वमा पाँच सदस्यीय अपिल कमिटीसमेत गठन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष राईले निर्वाचन समिति र अपिल कमिटीसमेत एलौटी ढंगले गठन गरेको आरोप लगाए ।

साथै बैठकले आगामी वर्ष आयोजना हुने एएफसी क्लब च्याम्पियनसिपमा नेपालका तर्फबाट थ्रीस्टार क्लबलाई सहभागी गराउने निर्णय पनि गरेको छ । ‘नेपालमा लिग नभएको अवस्थामा यसअघिको विजेताको हैसियतमा थ्रीस्टारलाई सहभागी गराउने निर्णय गरेका हौं । एएफसीले सहभागिताका लागि एन्फामा पत्र पठाएको थियो । हामीले नेपालको अवस्थाबारे जानकारी गरायौं । त्यसपछि एएफसीकै सुझावका आधारमा थ्रीस्टारको नाम पठाउने निर्णय गरेका हौं’, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने ।

एएफसी क्लब च्याम्पियनसिपमा थ्रीस्टारलाई दिइएको सहभागिताको अवसरलाई क्षतिपूर्तिको रूपमा पनि हेरिएको छ । गत वर्ष एएफसी कप प्ले अफका लागि छनोट भएको थ्रीस्टार एन्फाकै पदाधिकारीका कारणले उक्त प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो । त्यसबापत एन्फाले हालैमात्र थ्रीस्टारलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिसहित तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.