तराईको सांस्कृतिक प्रतिविम्ब छठ
जनकपुरधाम श्रद्धा, भक्ति र सहिष्णुताको संगम मानिने चार दिवसीय महान् पर्व छठ औपचारिक रूपमा मंगलबारबाट सुरु भएको छ। सूर्य उपासनाको मनोरम यो पर्व गरेमा सम्पूर्ण मनोकांक्षा पूरा हुने र आरोग्य प्राप्त हुने जनविश्वास छ। यो पर्वको पहिलो दिन अर्थात् चतुर्थीको दिनलाई मिथिलामा ‘अरबा अरबाइन' वा नहाखाय भन्ने गरिन्छ। यस दिन व्रतालुले खोला, नदी, पोखरी र जलाशयमा गएर नुहाइधुवाइ गरी शुद्ध भएर चोखो खाना खाने गर्छन्। अति नै नियम निष्ठाका साथ मनाइने यो पर्वमा व्रतालुले भोजनमा माछामासु, लसुनप्याज, कोदो, मसुरोको दालजस्ता खानेकुरालाई बर्जित गर्ने गर्छन्।
दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा छठ व्रतका व्रतालुले खरना मनाउने गर्छन्। खरनाको दिन व्रतालुले दिनभरि निर्जला व्रत बस्छन् भने साँझको बेला चोखो भई कुल देवताको आराधना गरेर नयाँ चुलोमा बनाएको खीरपुरी भगवान्लाई भोग लगाउन तयार पार्छन्। खरनाका दिन सक्खरमा बनाइएको खीर र विशेष गरी केराको भोग लगाउने गरिन्छ। गाईको गोबरले आँगनमा शुद्ध गरी लिपपोत गरेर सुशोभित गरिएपछि चामलको पिठोलाई घोलेर बनाईएको पिठारबाट विशेष प्रकारका कलात्मक चित्रहरू बनाउने गरिन्छ जसलाई अरिपन भनिन्छ। व्रतीले सो अरिपनमाथि केराको पात राखेर त्यसमा प्रसाद राख्ने गर्छन्। चन्द्रोदयपछि चन्द्रमालाई खीर केराको प्रसाद चढाएर सोही प्रसाद व्रतीले खाएर खरना सम्पन्न गर्छन्।
तेस्रो दिन अर्थात् षष्ठीका दिन विभिन्न परिकार बनाएर अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। यस दिन ठेकुवा, भुसुवा, पिरुकिया लगायतका परिकार प्रसादका लागि बनाइन्छ भने फलहरूमा उखु, केरा, नरिवल लगायतको विशेष प्रधानता छ। पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई पवित्र जलाशयमा प्रवेश गरेर व्रतीहरूले हातमा अर्घ लिई पूजा गर्दै व्रतको समापन गर्छन्। यो पर्व कुनै जाति विशेषको नभई सबै समुदायले गर्ने हुनाले यसको महत्व बढेर गएको छ।
यस पर्वमा प्रयोग गरिने बाँसको छिटा, ढकिया, चगेरा, कोसिया, कुरवार, हात्ती, माला लगायतका सरसामग्री कुम्हार, डोम, माली लगायतका दलित समुदायबाट लिने गरिएको हुनाले यसमा छुवाछूतको परम्परालाई समेत निस्तेज गर्ने प्रभाव देखिन्छ। यो पर्वमा सूर्य उपासनालाई विशेष महत्व दिइएको छ। अस्ताउँदो सूर्यलाई छठी मैयाँ र उदाउँदो सूर्यलाई दिनकर भनेर यो पर्वमा पूजा गर्ने गरिन्छ।