नुवाकोटमा वाम गठबन्धनको संयुक्त प्रचार
नुवाकोट : नुवाकोटमा वाम गठबन्धले चुनावी प्रचार संयुक्त रुपमा अगाडि बढाएको छ। एमाले र माओवादी केन्द्रले मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारलाई संयुक्त रुपमा अगाडि बढाएका हुन्।
वाम गठबन्धनले नुवाकोटका दुई निर्वाचन क्षेत्र र चार प्रदेशमा आफ्ना उम्मेदवारलाई विजयी गराउन चुनावीप्रचार प्रसार र घरदैलो अभियानका कार्यक्रमहरु सार्वजनिक गरेको छ। वाम गठबन्धनको तर्फबाट कात्तिक ९ गतेदेखि १५ गतेसम्म मेघाङ र किस्पाङ गाउँपालिकामा चुनावी अभियानको लागि प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रसाद खतिवडा र प्रदेशसभाका उम्मेदवार हिरानाथ खतिवडाको कार्यक्रम तय भएको छ। कात्तिक ९ गतेदेखि १५ गतेसम्म प्रदेशसभाका उम्मेदवार केशव पाण्डेले विदुर नगरपालिका क्षेत्रमा चुनावी अभियान संञ्चालन गर्ने संयुक्त निर्वाचन परिचालनक कमिटी नुवाकोटले जनाएको छ।
सँगै कात्तिक १६ गतेदेखि २१ गतेसम्म बेलकोटगढी नगरपालिकाका विभिन्न वडामा नारायणप्रसाद खतिवडा र केशव पाण्डेको टोली परिचालन हुनेछ भने सोही मितिमा तारकेश्वर गाउँपालिका र विदुर नगरपालिकाका वडामा हिरानाथ खतिवडाको टोलीले घरदैलो र चुनावी सभालगायतका कार्यक्रम सञ्चालन गर्ने छ। बेलकोटगढी नगरपालिकाको १३ वडामा कात्तिक ९ गतेदेखि १५ गतेसम र विदुर नगरपालिकाका सबै वडामा कात्तिक १६ देखि २१ गतेसम्म प्रचार कार्यक्रम गर्ने तय भएको छ।
यस्तै, विदुर नगरपालिकामा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले बेलकोटगढी नगरपालिकाका संयोजक सुदर्शन नेपालले जानकारी दिए। यस्तै क्षेत्र नं. १ अन्र्तगत पनि चुनावी अभियानका कार्यक्रम तय भएको छ। अभियान अन्र्तगत कात्तिक ८ गते बागेश्वरीबाट सुरु हुनेछ।
कात्तिक ९ गते पञ्चकन्याको घलेभन्ज्याङ, १० गते शिवपुरीको बुढीसेरा, १२ गते लिखुको ढिकुरे पुल, १३ गते ककनीको रानीपौवा, १४ गते तादी गाउँपालिाको खरानीटार र १५ गते दुप्चेश्वर को समुन्द्रटारमा गाउँपालिकास्तरीय भेला हुने संयुक्त निर्वाचन परिचालक कमिटि क्षेत्र १ ले जनाएको छ।