चिनियाँ राष्ट्रपति सी तेस्रो शक्तिशाली नेता
बेइजिङ : चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनले वर्तमान राष्ट्रपति सी जिनफिङलाई तेस्रो शक्तिशाली नेताका रूपमा मान्यता दिएको छ । गत बुधबार शुरु भई मंगलबार समापन भएको महाधिवेशनले चीन तेस्रो चरणमा प्रवेश गरेको पनि बताएको छ ।
सीका सहयोगी कैयौं नेताको कार्यकाल पनि थपिएको छ । ६४ वर्षीय सीको नाम र उनको विचारलाई चिनियाँ कम्युनिस्ट पार्टीले संविधानमा उल्लेख गर्ने भएको छ । उनको विचारलाई पार्टीको विधानमा स्थान दिइएपछि पार्टीका संस्थापक अध्यक्ष सी माओ चदुङपछि उनी शक्तिशाली नेताका रूपमा देखापरेका छन् ।
सीको उदयपछि चीन लगातार विश्वमा शक्तिशाली रूपमा देखापरेको भन्दै सर्वसम्मतिले उनको विचारधाराको सम्मान गरेको थियो । उक्त महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने गरेको छ । सम्मेलनमा २ हजार ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी थिए । ग्रेट हल अफ पीपलमा सम्पन्न महाधिवेशनले पार्टीको पदीय क्रममा सीलाई प्रथम र ६२ वर्षीय प्रधानमन्त्री ली खछियाङलाई दोस्रो स्थान प्रदान गरेको छ । अब उनीहरू दुवैजना आगामी पाँच वर्षसम्म उच्च नेतृत्वमा रहनेछन् । उनीहरू दुवैजना सन् २०१२ मा सत्तासीन भएका थिए ।
पार्टीको सात सदस्यीय स्थायी समितिका लागि पाँचजना नयाँ सदस्य चुनिनेछन् । उक्त समितिमा सीले आफू निकटस्थ व्यक्ति चुन्न सक्नेछन् । यसबाट उनी शक्तिशाली बनिरहन सहज हुनेछ । सी नै हाल चीनका सर्वाधिक शक्तिशाली नेता मानिन्छन् । उनी राष्ट्रपति हुनुका साथै सेना प्रमुख पनि हुन् । सन् २०२२ मा उनको पदावधि सकिने भए पनि पार्टीमा निकै शक्तिशाली भएकाले उनले तेस्रो कार्यकाल पनि काम गर्न सक्ने अनुमान गरिन थालेका छन् ।
महाधिवेशनले केन्द्रीय समिति र केन्द्रीय अनुशासन अनुगमन आयोगको निर्वाचन गरेको छ । ३७६ निर्वाचित केन्द्रीय समितिमा २०४ जना पूर्णकालीन र १७२ जना वैकल्पिक सदस्य छन् । त्यसैगरी केन्द्रीय अनुशासन अनुगमन आयोगमा १३३ सदस्य निर्वाचित भएका छन् । बुधबार पहिलो पूर्ण बैठक बस्नेछ ।
सीकै निम्ति संविधान संशोधन
चिनियाँ कम्युनिस्ट पार्टीले मंगलवार आफ्नो संविधानमा संशोधन गर्न पनि अनुमति दिएको छ । राष्ट्रपति सी र उनको विचारलाई संविधानमा सामेल गर्न संविधान संशोधन गर्नुपरेको हो । माओ चदुङ र उनका उत्तराधिकारी तङ स्याओफिङको विचारधारा सामेल गर्न पनि यस्तै संशोधन गरिएको थियो । पूर्वराष्ट्रपतिद्वय हु चिन थाओ र चियाङ चमिनको विचारधारा संविधानमा सामेल गरिए पनि उनीहरूको नाम भने संविधानमा उल्लेख गरिएको थिएन ।
सीलाई कम्युनिस्ट पार्टीको नियमको हवाला दिएर कसैले पनि चुनौती दिन सक्नेछैन । सीको राजनीतिक विचारधारा अब चिनियाँ विद्यालयका पाठ्यक्रममा राखिने भएको छ । परिवर्तनकारी नेताका रूपमा उनको चित्रण गर्दै राष्ट्रवादी भावना वृद्धि गर्न यसबाट सहयोग पुग्ने बताइएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार शिक्षामन्त्री चेन बाओसङले महाधिवेशनको शुरुवातमा पेश गरेको नयाँ विचारधारा पाठ्यक्रममा राखिनेछ । सीको विचारधारा निम्नमाध्यमिक तहमा पढाइनेछ ।
शैक्षिक प्रतिष्ठान, सरकारी कर्मचारी, कम्युनिस्ट पार्टीका नौ करोड सदस्यले पनि सीको विचारधारा पढ्नुपर्नेछ । योसँगै तेस्रो चरण अर्थात् चिनियाँ समाजवादी युग शुरु भएको घोषणा गरिएको छ । सीले चीनलाई आफ्ना पूर्ववर्ती हु र चियाङको तुलनामा आर्थिक एवं कूटनीतिक रूपमा शक्तिशाली बनाएका थिए । उनले बताउँदै आएको चिनियाँ सपनाले चीनको पुनर्जागरण गराउन शुरु गरेको बताइन्छ ।
उनले अगाडि सारेको सिल्क रोडले आज चीन विश्वसँग जोडिएको छ । उनले नै प्रस्ताव गरेको एसियाली पूर्वाधार बैंक भविष्यमा ठूलो आर्थिक संस्थाको रूपमा उदाउने विश्वास गरिएको छ । पहिलो चरण माओको समयलाई मानिएको छ । उनले गृहयुद्धमा फसेको चीनलाई मुक्त गर्न एकजुट गराएका थिए । दोस्रो चरण तङ स्याओफिङको मानिन्छ । उनले चीनलाई अनुशासित र आर्थिक रूपमा सुधार गरेका थिए ।