मादलमा शिल्पीहरू
भरतपुर : नारायणगढ पोखरा बसपार्क छेउमा रहेको नारायण बस्नेतको मादल पसल चितवनको सबैभन्दा पुरानो हो। बिहान उठेदेखि बस्नेत मादल बनाउन व्यस्त हुन्छन्। नयाँ मादल बनाउन र पुरानो मर्मत गर्न उनीसँगै उनकी दुईवटी श्रीमतीलाई भ्याइनभ्याइ हुन्छ। तीनजनाले दैनिक दर्जनभन्दा बढी मादल मर्मत तथा निर्माण गर्छन्। मादल बजाउनुभन्दा बनाउन उनीहरूलाई आनन्द लाग्छ।
मादल व्यापारले उनीहरूलाई उत्साह थपेको छ। भारतमा गाडी चलाउन छोडेर उनले मादल बनाउने पेसा रोजेपछि जीवनमा खुसी छाएको छ। दसंै तिहारमा खर्च कटाएर दैनिक सात हजार बचेको उनको भनाइ छ। ‘काम पनि पाइयो, नेपालको लोकसंस्कृति जोगाएको जस्तो लाग्छ अनि त्यसैमा रमाउँछु' उनले भने ‘मादलको प्रयोग जहाँ पनि हुन्छ, विदेशी बाजा भित्रिए पनि मादल खोज्नेहरू कम छैनन्।' मादलमा खरी हाल्ने छाला फर्ने काम उनको दैनिकी हो।
नवलपरासीको प्रगतिनगर घर भएका बस्नेतले २० वर्षदेखि नारायणगढमा मादल बनाउन थालेका हुन्। मादल बनाएर नै उनले परिवारको जीविका चलाएका छन्। उनीहरू चाडबाडको समयमा निकै व्यस्त भएका हुन्छन्। एसएलसी पास गरेका उनका भाइले तलब कम भएको भन्दै काठमाडौंको संगीत सामग्री पसलमा काम गरेपछि मादल बनाउन थालेका थिए। त्यसपछि नारायणले भाइसँगै काम थाले।
श्रीमान्बाट सिकेकी चन्द्रकुमारी नेपालीले १९ वर्षदेखि मादल बनाउन थालेकी हुन्। ‘घाममा हिँड्न परेन, बसीबसी आफ्नै काम गरिएको छ' चन्द्रकुमारीले भनिन्। ‘ आफ्नो पेसा यही भएपछि यसैमा रमाउन जाने '। तिहारमा चापाचाप भए पनि अन्य समयमा मासिक ३० देखि ४० हजार कमाउँछन्। उनीहरूले बनाएको मादल चितवन, धरान, विराटनगर, बुटवललगायतको क्षेत्रबाट बढी माग आउँछ। उनीहरूले मादल खैचडी, झ्याली बनाउँछन्।
लमजुङको मध्यनेपाल नगरपालिका दुईपिप्लेका विष्णुकुमार कुलुले १३ वर्षदेखि मादल बनाउन थाले। १३ वर्ष धादिङमा काम गरेर चितवन आएको चार वर्ष भयो। नारायणगढको गणेशचोकमा उनले पसल थापेर काम सुरु गरे। नयाँ तथा पुरानो मादललाई मेहनत गरेर ताल मिल्ने गरी खरी दल्छन्। कामका लागि भारत भएका ४२ वर्षे कुलुले उही फुर्सदको समयमा मादल बनाउन सिके। नेपाल आएपछि आफ्नै पसल खोलेर काम गर्न थाले। उनले घर खर्च , छोराछोरी सबैको खर्च कटाएर मासिक १२ हजार जोगाउँछन्।
‘धेरै कमाउन नसके पनि परिवारको खर्च धानेर केही जोगाएको छु' कुलुले भने ‘ अरूको अधीनमा बस्नुभन्दा आफ्नै परि श्रममा रमाउन सिकेँ।' उनीसँगै उनका भतिज पनि काम गर्छन्। उनले बनाएको मादल विभिन्न जिल्लामा पठाउने गर्छन्। मादल बनाउनेहरू मादलको माग नघटेको बताउँछन्। विभिन्न स्थानका व्यापारीले मादल होसलेलमा लाने गरेका छन्। नयाँ मादलसँगै पुरानो मादल बनाउन पनि उत्तिकै आउने गर्छन्। तिहार लागेसँगै उनीहरू बेफुर्सदी भएका छन्।