वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा

वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा

काठमाडौं : एमाले र माओवादी केन्द्रले दाबी कायमै राखेपछि वाम गठबन्धन कार्यदलले १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समितिलाई नै दिने भएको छ ।संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

 एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन भए पनि १५ जिल्लामा सहमति जुट्न नसकेपछि संयोजन समितिलाई जिम्मा दिने निष्कर्षमा कार्यदल पुगेको हो । ‘मिल्न बाँकी जिल्लाको जिम्मा संयोजन समितिलाई दिने भएका छौं,' कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले अन्नपूर्णसँग भने, ‘कार्यदलले नसकेपछि शीर्ष नेताले नै सहमति गर्नुहुनेछ ।'

पाण्डेका अनुसार १ नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रले झापा र मोरङमा दुई/दुई तथा उदयपुरमा एक निर्वाचन क्षेत्र दाबी गरेको छ । २ नम्बर प्रदेशका धनुषा र सप्तरीमा सहमति जुटे पनि अन्य ६ जिल्लामा दुवै दलले दाबी छोडेका छैनन् ।
३ नम्बर प्रदेशको चितवनमा एमाले र माओवादी केन्द्रबीच भागबन्डा मिल्न नसकेको कार्यदलका सदस्यहरू बताउँछन् । चितवनमा एक क्षेत्र छोड्न एमाले तयार देखिएको छ भने माओवादीले दुईवटा क्षेत्रको दाबी छाडेको छैन । अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापाका लागि माओवादीले दुईवटा क्षेत्र मागेको एमाले स्रोतले बतायो । दाहालका लागि एक क्षेत्र छोड्न सकिए पनि दुईवटा दिने पक्षमा एमाले नरहेपछि कुरा नमिलेको बताइन्छ ।

 झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, चितवन, कास्की, दाङ, सल्यान र कञ्चनपुुरमा सहमति भएन ।

यस्तै, ४ नम्बर प्रदेशको कास्कीमा कुरा नमिलेको नेताहरू बताउँछन् । माओवादी केन्द्रले कास्कीमा एक क्षेत्र आफूलाई अनिवार्य चाहिने अडान राखेको छ । ५ नम्बर प्रदेशको दाङमा पनि सहमति जुट्न सकेको छैन । एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महराले दाङको एउटै क्षेत्रमा दाबी गरेका कारण कार्यदलस्तरमा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ । ६ नम्बर प्रदेशको सल्यान र ७ नम्बर प्रदेशको कञ्चनपुुरमा पनि क्षेत्र बाँडफाँटमा सहमति जुट्न सकेको छैन । माओवादीले कञ्चनपुरमा दुईवटा क्षेत्र दाबी गरे पनि एमालेले एउटै नदिन अडान राखेको स्रोतले बतायो । एमालेले जित्नसक्ने कञ्चनपुरको १ नम्बर क्षेत्रमा माओवादीको दाबी छ ।

७ नम्बर प्रदेशको सबैभन्दा बढी क्षेत्र रहेको कैलालीमा भने एमालेले तीनवटा र माओवादीले दुईवटा लिने गरी सहमति जुटेको जनाइएको छ । दुई निर्वाचन क्षेत्र रहेको ७ नम्बरकै अछामका दुवै क्षेत्र एमालेले लिने सहमति कार्यदलले गरेको छ । कार्यदलले मिलेका र मिल्न नसकेका जिल्लाको सूची बुधबार संयोजन समितिलाई दिने तयारी गरेको एमाले नेता पाण्डेले जानकारी दिए । संयोजन समितिले टुंग्याएलगत्तै एमालेको स्थायी समिति बसेर उम्मेदवार तय गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.