यस्ता छन् चिनियाँ कम्युनिस्ट पार्टीले चुनेका ७ नेता
बेइजिङ : चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव (प्रमुख) एवं चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिस्ट पार्टीको अर्को पाँचवर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनले सीलाई सोही पदमा पुनः अर्का पाँच वर्षका लागि निर्वाचित गरेको हो । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले बुधबार मतदान गरी सीलाई अर्का पाँच वर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेका हुन् ।
सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उनलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो । उक्त महाधिवेशनले नै मंगलबार आगामी कार्यकालका लागि कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरू पनि नियुक्त गरेको थियो । करिब एक सातादेखि जारी पार्टीको महाधिवेशनमा उनी एकपछि अर्काे गरी शक्तिशाली भएका उदाहरण पनि प्रस्तुत भएका थिए । महाधिवेशनले राष्ट्रपति सीको नाम तथा उनको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो ।
यसबाट उनी चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रिय र शक्तिशाली बन्ने निश्चित भएको छ । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीमा र चीनमा अख्तियार गरेको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रूपमा लिइनेछ । त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ ।
उनले बुधबार बिहानै आफू चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराएका थिए । उनले पत्रकार सम्मेलनमै आफूले आगामी पाँच वर्षमा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलन गरिरहँदा उनको साथमा चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त ५ जना पोलिटब्युरो सदस्य पनि थिए । उनीहरूले पनि आगामी पाँच वर्षमा आफूहरूले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।
सीले आगामी पाँच वर्षमा दुई शताब्दीको लक्ष्य प्राप्त गर्ने पनि धारणा सार्वजनिक गरे । उनले भने, ‘दशकौंको कठिन परि श्रम र चिनियाँ समाजवाद नयाँ युगमा प्रवेश गरेको छ । हामीले नयाँ उपलब्धि हासिल गर्नु जरुरी छ ।’
स्थायी समितिमा निर्वाचित सदस्यहरू
सी चिनफिङ
सी सन् २०१२ देखि चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख छन् । सन् १९८० पछि सीले आफूलाई देशकै सर्वाधिक शक्तिशाली नेता सावित गरेका छन् । सञ्चारमाध्यम, स्कुल र निजी व्यापारमा यिनको पकड छ ।
ली खछियाङ
उनी सन् २०१३ देखि चिनियाँ प्रधानमन्त्री छन् । उनी पार्टीमा दोस्रो वरीयताका नेता मानिन्छन् ।
ली चान्सु
पार्टीको जनरल अफिसका निर्देशकका रूपमा लीले प्रभावशाली रूपमा सीलाई सहयोग गरेका थिए । सीको विदेशयात्रामा उनी सँगसँगै देखिन्छन् । उनले सीसँग ग्रामीण क्षेत्रमा पार्टीको काम गरेका थिए । उनीसँग कम्युनिस्ट युथ लिग प्रमुखको अनुभव पनि छ ।
वाङ याङ
उपप्रधानमन्त्रीको हैसियतमा वाङले अमेरिका—चीन सम्बन्धबारे काम गर्दै आएका छन् । उनी क्वाङतोङका शीर्ष नेता हुन् । उनी आर्थिक सुधारकको रूपमा चिनिन्छन् ।
वाङ हुनिङ
वाङ सन् २००२ देखि पार्टीको केन्द्रीय नीति अनुसन्धान विभागका निर्देशकका रूपमा काम गर्दै आएका छन् । उनी लेखक पनि हुन् । उनी चीनमा केन्द्रीकृत शक्ति र सत्तावादी नियमका समर्थक भनेर चिनिन्छन् ।
चाओ लेची
सन् २०१२ देखि चाओ पार्टीको सेन्ट्रल अर्गनाइजेशन डिपार्टमेन्टको काम हेर्दै आएका छन् । उक्त विभागले विदेशमा पार्टी र सरकारको नीतिको प्रवर्धन गर्ने गरेको छ ।
हान चङ
हान सांघाईका पूर्व मेयर हुन् ।