तस्बिरमा अनागरिकको कथा
काठमाडौं: 'मोबाइल मेरो, नम्बर मेरो तर नागरिकता नभएका कारण सिमकार्ड भने नागरिकता भएको व्यक्तिको नामको।' 'श्रीमान्को मृत्यु भयो तर मृत्यु दर्ता बनाउन सकिएन। बुवा र भाइको वंशजको नागरिकता छ तर म नागरिकता बनाउन जाँदा श्रीमान्को नागरिकता, मृत्यु दर्ता र उहाँको परिवारको मान्छे आउनुपर्छ भनेर फर्काइयो, त्यसैले वृद्धभत्ता पाउन सकेकी छैन।'
'सवारीसाधन चलाउन योग्य छु तर नागरिकताको अभावमा लाइसेन्स पाउन अयोग्य छु ।' 'नागरिकता नभएकै कारण अझैसम्म बैंकमा खातासमेत खोल्नबाट वञ्चित छु।' 'नागरिकता नभएकाले औपचारिक रूपमा ऋण लिन नसक्दा चर्को ब्याजमा अनौपचारिक कारोबार गर्न बाध्य छु।'
नेपाली नागरिक भएर पनि नागरिकता नपाएका युवादेखि वृद्धसम्मका कथा हुन् यी। संविधानले यी कुनै सन्दर्भ र घटनामा पनि नागरिकता दिन रोक लगाएको छैन तर व्यवहारमा यो लागू छैन। 'आमाको अंगीकृत नागरिकता छ, बुवाको जन्मसिद्ध नागरिकता छ।
संविधानअनुसार वंशजको नेपाली नागरिकताका लागि म योग्य छु तर संविधानअनुसार ऐन नबनेको कारण देखाएर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रदान गर्न इन्कार गरियो', महिला, कानुन र विकास मञ्चले नागरिक भएर पनि नागरिकताबाट वञ्चितहरूको कथाव्यथालाई तस्बिर र क्याप्सनमार्फत प्रदर्शनी गरेर सरकारको ध्यान खिचेको छ।
नेपाल आर्ट काउन्सिल बबरमहलमा सोमबारदेखि बुधबारसम्म राखिएका यस्तै कारुणिक कथाका दर्जनौं तस्बिर हेर्ने जोकोही सोच्न बाध्य हुन्छ। तर, सरकारले यसमा संवेदनशील भएर आजसम्म सोचेको पाइँदैन जुन तस्बिरले सप्रमाण पुष्टि गरिदिएका छन्।
राष्ट्रिय मानवअधिकार आयोग यस्तै 'अनागरिक' हरूको पीडा बुझ्ने संवैधानिक आयोग हो तर यसले पनि यी नागरिकताविहीन नेपाली नागरिकको पीडामा मलमपट्टी लगाउन सकेको छैन।प्रदर्शनीमा पुगेका आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानले यस्ता नेपालीलाई नागरिकता दिन मिल्ने भए पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको मनपर्दी ढंगले गलत व्याख्या गर्ने प्रवृत्तिले थुप्रै नेपाली नागरिकताबाट वञ्चित हुनु परेको बताए।
आमा नेपाली, बाबु भारतीय भएका क्रिकेटर शरद भेषावकरलाई पनि नागरिकता लिन हम्मेहम्मे परे पनि अन्तर्राष्ट्रिय खेलाडी भएकै कारण सरकारले मन्त्रिपरिषद्को निर्णयबाट शरदलाई नेपाली नागरिकता दिएको छ।