चोटले जन्माएका सर्जक

चोटले जन्माएका सर्जक

 

कसैले सेनाको पोसाक लगाएको देख्दा टीका बम्जनलाई त्यस्तै पोसाक लगाउने रहर जाग्थ्यो । यही रहरले उनी सेनामा भर्ती पनि भए । सर्लाही राजघाटमा जन्मिएका टीकाको बाल्यकाल उतै बिते पनि सुन्दर भविष्यको कल्पनासहित एसएलसीपछि काठमाडौं छिरेका उनले २०५६ सालमा सेनामा जागिर खाए । श्री नयाँ गोरख गणमा पहिलो पोस्टिङमा पुगेका टीका हाल सोही गणमा अमलदार पदमा कार्यरत छन् ।

उमेरले दिएसम्म देशको सेवामा खट्ने उनको चाहना छ । जागिरे जीवनकै क्रममा २०५९ साल मंसिर १३ गते उनको जीवनका लागि कालो दिन सावित भयो । द्वन्द्वकालमा नगरकोटमा भएको मुठभेडमा दूरसञ्चारको टावरका तारहरू झरेर लथालिंग भएका थिए । बिग्रिएको पोस्ट मर्मत गर्ने क्रममा टीका चिप्लेर लडे र नजिकै रहेको तारमा परे । उनलाई करेन्ट लागेपछि सैनिक अस्पतालमा भर्ना भए । तर दुखद कुरा उनको दुवै हात काट्नु पर्‍यो ।

२१ वर्षको उमेरमा आफ्ना दुवै हात गुमाउनु पर्दा उनलाई सुरुमा जीवन निरर्थक महसुस भयो । सपनाजस्तै लाग्यो । ‘अस्पतालको शय्यामा बस्दा ६ महिना त रोएरै बिताएँ’, उनले भने, ‘कति दिन त रुँदा आँखाबाट आँसु सकिएर मनमात्रै भतभत पोल्थ्यो । तीनचारपटक त आत्महत्याको प्रयास गरें ।’ उपचारका क्रममा टीका लगभग दस महिना अस्पतालमा बिताएका थिए । त्यहाँबाट डिस्चार्ज भइसकेपछि त्रिचन्द्र मिलिटरी अस्पतालमा बसेर उनले लामो सयम उपचारमै विताए ।



 

उपचारका क्रममा त्यहाँका स्टाफहरूले सुनाएका अपांगता भएका व्यक्तिहरूका संघर्ष र सफलताका कथाले उनमा पनि जिउने आशा पलायो । सेनाको बर्दीको सपनाझैं गीत गाउने सोख उनलाई सानैदेखि थियो । त्यसैले उपचार गराउने क्रममा उनले असनस्थित गान्धर्व संगीत पाठशालामा गुरु चन्दनकुमार श्रेष्ठसँग शास्त्रीय संगीत अध्ययन गर्न थाले । आफ्नो जीवनमा आएको आँधीबेरीलाई समेटेर उनले २०६० सालमा पहिलो एल्बम ‘कस्तो भाग्य’ रेकर्ड गराए ।
छाँगाबाट झरना झर्‍यो
आँखाबाट आँसु लडाइँको
मैदानमा दाइलाई पर्‍यो भाइको पासो
गायक कर्ण दासले गाएका गीत त्यो ताका निकै चर्चित बन्यो । एल्बमका आठवटै गीत टीकाले रचेका थिए भने गीतमा संगीत चन्द्रकुमार दोङले भरेका थिए । आफ्ना दुवै हात गुमाइसकेका टीकाका लागि गीत लेख्नु चानचुने चुनौती थिएन । हात नभएका धेरैले खुट्टाले लेख्थे तर उनले मुखले कमल च्यापेर कापीमा शब्द कोर्ने प्रयास गरे । पहिलो पटक आफूले लेखेको आफ्नै नाम, हस्ताक्षर हेर्दै उनी कति रोए कति ।

२१ वर्षको उमेरमा आफ्ना दुवै हात गुमाउनु पर्दा जीवन निरर्थक लाग्यो । अस्पतालको शय्यामा बस्दा ६ महिना त रोएरै बिताएँ । कति दिन त रुँदा आँखाबाट आँसु सकिएर मनमात्रै भतभत पोल्थ्यो । तीनचारपटक आत्महत्याको प्रयास गरें ।

डेढ महिनाको प्रयासपछि मुखले राम्रैसँग लेख्नसक्ने भए । मुखैले कलम च्यापेर उनले दुई सयभन्दा बढी गीत लेखेर संगीतसमेत भरिसकेका छन् । २०६२ सालमा ‘प्रेमिका’ ल्याएका टीकाले यसको दुई वर्षपछि आफ्नै शब्द संगीतमा ‘माया’ एल्बम बजारमा ल्याए । मायाका गीतहरू त्यति बेला रिङ ब्याक टोनमा अत्यधिक प्रयोग भएका थिए । यसले उनलाई राम्रो संगीतकारका रूपमा स्थापित गरायो ।

सांगीतिक क्षेत्रमा संघर्ष गर्दाका दिनमा उनी दैनिक आठ घन्टासम्म रियाज गर्थे । रियाज गर्न बसेको ठाउँबाट उठेर हिँड्दासमेत रिँगटा लाग्थ्यो उनलाई । मेरा गीतमा संगीत भरिदिनुपर्‍यो भन्दै उनी धेरैका दैलो धाए । तर, कतैबाट साथ पाएनन् । हिजो दुईचार हजार नपत्याउनेले आज उनका गीतलाई नै प्रायोजन गर्ने प्रस्ताव राख्न थालेका छन् । मुखले लेखेर गीत गाउने विधामा धेरै अन्तर्राष्ट्रिय रेकर्ड राखिसकेका टीका हाल गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा समेत रहेका छन् ।

‘यो देशलाई माया सबैले गर्नुपर्छ
माटोले माग्दैन आफैंले दिनुपर्छ’
आधुनिक मात्रै नभई उनले रचना गरेका राष्ट्रिय गीतलाई पनि श्रोताले उत्तिकै मन पराउने गरेका छन् । नेपाली सेनाले टेलिभिजनमा प्रसारण गरिने एक कार्यक्रमका लागि मात्रै होइन, दसैंको गीत पनि उनले बनाएका छन् । नेपाली सेनाले पनि उनको जीवनकथामा आधारित एक वृत्तचित्र निर्माण गरेर प्रदर्शन गरिसकेको छ । दसैंअगाडि मात्रै पनि उनले आफ्नै शब्द, संगीत र स्वरमा ‘फूलबारी’ एल्बम बजारमा ल्याएका थिए । फणिन्द्र राईले एरेन्ज गरेका एल्बमको म्युजिक भिडियोमा भीमफेदी गाइजका साथमा नायिका सुमी मोक्तानले अभिनय गरेकी छन् । वरिष्ठ एरेन्जर पवन लामाले पनि आफूलाई निकै साथ दिएको बताउने टीका कुनै पनि नयाँ गीत बनाउँदा मेलोडीमा बढी ध्यान दिने गर्छन् ।

गीतमा संगीत भर्न उनलाई कुनै वाद्ययन्त्र चाहिँदैन । जति बेला मेलोडी आउँछ त्यति बेला शब्दलाई लयमा ढालेर आफूसँगै भएका साथीलाई मोबाइलमा गीत रेकर्ड गराइमाग्छन् उनी । कार्यालय समयभित्रका लागि उनलाई सेनाले एक सहयोगी उपलब्ध गराएको छ । तर, त्यो बाहेकका अन्य समयमा उनकी पत्नी सृष्टिले उनको साथ छाड्दिनन् । ‘उनी मेरा दुई हात मात्रै होइनन्, मेरा लागि भगवान् नै हुन्’, उनले भने । नेपाली संगीतको क्षेत्रमा श्रोताको ट्रेन्ड पनि बदलिएको उनको अनुभव छ । ‘पहिले सुन्थे भने अहिले हेर्छन्’, उनले भने ।

पहिलेजस्तो घुमफिर गरौं वा चलचित्र हेरौं भन्ने उनलाई लाग्दैन । फुर्सदमा पनि कसरी राम्रो सिर्जना दिऊँ र फरक धारबाट प्रस्तुत होऊँ भन्नेमै लाग्ने टीकाको जीवन रहेसम्म संगीतमै समर्पित हुने चाहना छ । ‘संसार बदल्ने सोच राख्नुपर्छ, सुरु आजैबाट र आफैंबाट गर्नुपर्छ’, संसारभर छरिएर रहेका अपांगता भएका व्यक्तिलाई यसरी हौस्याउँछन् उनी । अपांगता हुँदैमा जीवन सकियो भन्ने नठान्न सुझाव दिँदै उनले भने, ‘आफ्नो सीप उजागर गर्नुस्, जिउन सिक्नुस् र कसैको प्रेरणाको स्रोत बनेर देखाइदिनुस् ।’...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.