अमेरिकी राष्ट्रपतिका यी अफेयर किस्सा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू विभिन्न कारणले चर्चामा रहन्छन् । संसारकै शक्तिशाली देशका राष्ट्रपति भएकाले उनीहरूले गर्ने निर्णय र लागू गर्ने नीतिहरूले चर्चामा आउनु त स्वाभाविक नै हो । तीमध्ये कतिपय राष्ट्रपति आफ्ना विवाहेत्तर सम्बन्धका कारण पनि चर्चामा आउने गर्छन् । संयुक्त राज्य अमेरिकाको इतिहासमा विभिन्न राष्ट्रपतिका यी अफेयरले पनि उल्लेखनीय उपस्थिति राख्ने गर्छन्।
कतिपय विश्लेषक त अमेरिकी राष्ट्रपतिका अफेयरले अमेरिकी नीतिमै प्रभाव पार्ने गरेको समेत टिप्पणी गर्ने गर्छन् । मोनिका लेवेन्स्कीसँग बिल क्लिन्टनको अफेयर र त्यसको खुलासालाई इराक युद्धसँग पनि जोडेर हेर्ने गरिन्छ । जे होस्, इतिहासमै रोचक र सनसनीपूर्ण स्थान राख्ने भएकाले विश्वकै शक्तिशालीमध्ये गनिने अमेरिकी राष्ट्रपतिहरूको लभ अफेयर्स स्मरणीय छन् । विवाहेत्तर सम्बन्धका कारण चर्चामा आएका जोन एफ केनेडी र बिल क्लिन्टनका अफेयर किस्सा यहाँ प्रस्तुत छन् :
नायिकाप्रेमी केनेडी
सन् १९६१ नोभेम्बरदेखि सन् १९६३ सम्म राष्ट्रपति रहेका जोन फिजगेराल्ड ‘ज्याक’ केनेडी (१९१७-१९६३) अमेरिकाको ३५औं राष्ट्रपति हुन् । शीतयुद्धको उत्कर्षमा राष्ट्रपति बनेका जोन एफ केनेडी ‘गरिबीविरुद्ध लडाइँ’ नामक गरिबी निवारण आयोजना लागू गरेका कारण उल्लेखनीय छन् । साथसाथै उनलाई चर्चा ल्याउने अर्को प्रसंग हो, चर्चित अभिनेत्री मर्लिन मुनरोसँगको उनको अफेयर ।
आफ्नो समयमा सौन्दर्य र अभिनयले सिल्भर स्क्रिनमा चर्चित मुनरो जोन एफ केनेडीसँग सम्बन्ध बनाएपछि थप चर्चामा आइन् । क्यालिफोर्नियास्थित एक घरमा राष्ट्रपति जोन एफ केनेडीसँग केही समय बिताएपछि अभिनेत्री मर्लिन मुनराले केनेडीकी पत्नी ज्याकी केनेडीलाई आफ्नो सम्बन्धबारे जानकारी गराएकी थिइन् । उनको खबरले ज्याकी अचम्मित भइनन् बरु जोनसँग विवाह गर्ने सल्लाह दिइन् ताकि उनले ह्वाइट हाउसका लफडाहरू व्यवस्थापन गर्न सकून् ।
केनेडीसँग जोडिएर आउने अर्की बलिउड नायिका हुन्, जुडिथ क्याम्बेल एक्सनर । लस भेगासमा यी दुईको अफेयरले हद पार गरेको थियो । पछि एक्सनर स्वयंले यसबारे सञ्चारमाध्यमलाई बताएकी थिइन् । केनेडीसँग जोडिने अर्को नाम हो, मिमी अल्फ्रोड । केनेडी ह्वाइट हाउस छिर्दै गर्दा मिमी १९ वर्षे युवती थिइन्, इन्टर्न गर्दै गरेकी । केनेडीसँग उनको अफेयर १८ महिनासम्म चलेको थियो । यसबाहेक केनेडीको नाम गुनिला भोन पोस्ट, म्यारी पिन्चोट मेयर, मर्लिन डाइट्रिच, पामेला ट्युरन्युरसँग पनि जोडिन्छ ।
विवादित बिल
अफेयरका कारण सबैभन्दा चर्चामा आउने अमेरिकी राष्ट्रपति सम्भवतः बिल क्लिन्टन नै हुन् । सन् १९९३ देखि १९९७ सम्म र १९९७ देखि २००१ सम्म गरी दुई कार्यकाल पूरा गरेका अमेरिकाका ४२औं राष्ट्रपति बिल क्लिन्टनलाई सबैभन्दा विवादमा ल्याउने अफेयर मोनिका लेवेन्स्कीसँगको हो । २२ वर्षीया लेवेन्स्की त्यति बेला ह्वाइट हाउसमा कार्यरत कर्मचारी थिइन् । उनीसँग सम्बन्ध रहेको समाचार बाहिर आएपछि क्लिन्टनले टेलिभिजनबाट मन्तव्य दिँदै कुनै सम्बन्ध नरहेको बताएका थिए । तर, त्यसबारे भएका थप अनुसन्धानले क्लिन्टनले झूठो बोलेको पुष्टि गरेको थियो ।
क्लिन्टनसँग जोडिने अर्को नाम पाउला जोन्स पनि हो । सन् १९९१ मा जोन्ससँग क्लिन्टनको अफेयर चलेको थियो । जेनिफर फ्लावर क्लिन्टनसँग जोडिने अर्को नाम हो । मोडलसमेत रहेकी जेनिफरसँग क्लिन्टनको अफेयर उनी राष्ट्रपति हुनुअघि नै चलेको थियो । त्यति बेला उनी लिटिल रकमा रहेको एक समाचार संस्थामा काम गर्थिन् । त्यति बेला बिलसँग उनको अफेयर सुरु भएको थियो । एलिजाबेथ ग्रासेन पनि क्लिन्टनसँग जोडिने अर्का पात्र हुन् । सन् १९८१ मा मिस अर्कान्ससको ताज पहिरिएरी मिस अमेरिकाको दौडमा सामेल भइरहँदा क्लिन्टनसँग उनको भेट भएको थियो । त्यसपछि उनी न्युयोर्कमा पर्फमर आर्टिस्ट बन्न पुगेकी थिइन् । ...