अरुण तिवारीका उत्कृष्ट पाँच गीत
![अरुण तिवारीका उत्कृष्ट पाँच गीत](https://annapurnapost.prixacdn.net/media/albums/arun-tiwari-1-59f2c53362b383.67147614_9ZLSJCqvJP.jpg)
अरुण तिवारी नेपाली सांगीतिक क्षेत्रमा चिनिएका गीतकार हुन् । उनका दर्जनौं गीतहरू रेकर्ड भइसकेका छन् । नेपालका ख्यातिप्राप्त देखि सांगीतिक क्षेत्रमा पाइला राख्दै गरेका गायकगायिकाहरूले समेत उनका गीत गाएका छन । श्रोतादर्शकको मन जितेका छन् । उनले रचना गरेका धेरै गीतहरूले विभिन्न सांगीतिक अवार्ड जितेका छन् । आफैंले रचना गरेकामध्ये कुनकुन गीत चाहिँ उनलाई मन पर्छ त ?
१. सावन हैनन् मेरा नजर
स्वर : नागेन्द्र श्रेष्ठ । संगीत : टीका भण्डारी । यो गीत मेरो रचनामा रेकर्ड भएको पहिलो गीत हो । सुरुकै बेलाको गीत भएकाले होला यो गीतको मिठास र आत्मीयता म शब्दमा भन्न सक्दिनँ । फेरि यो यति चल्यो कि रेडियो नेपालको फर्माइसी कार्यक्रममा अझै बज्छ । मलाई गीतकारका रूपमा चिनाउने गीत यही हो ।
२. जन्मिँदा एक्लै मर्दा नि एक्लै
स्वर : कर्ण दास । संगीत : जीवित जल्मी । मलाई व्यावसायिक गीतकार बनाउने गीत यही हो । हुन त यसमा मेरो जीवन पनि समेटिएको छ अर्थात् मैले दर्शनलाई आफ्नो जीवन घटनासँग यो गीतमा संयोजन गरेको छु । यो गीतको आगमनपछि म यथार्थमा नेपाली सांगीतिक क्षेत्रमा चिनिएको गीतबार बने । यो गीतपछि मैले सयौं अरू गीत रेकर्ड गरिसके । तर मेरा गीतका पारखीहरूबाट एउटा गुनासो सुन्छु, जन्मिँदा एक्लैजस्तो अझै आएन । यो गीतबाट मैले हिट्स एफएम म्युजिक अवार्ड पनि जितेको थिएँ ।
३.म मरेको छैन अझै
स्वर : कर्ण दास । संगीत : जीवित जल्मी यो गीतले मेरो सांगीतिक उचाइलाई अझ बढाइदियो । लगातार कर्ण दाससँग ६ वटा गीतमा काम गर्ने मौका मिल्यो । त्यसपछि म गायक तथा संगीतकारको खोजीमा पर्न थाले । अहिले जस्तो मोबाइलमा राम्रो क्यामेरा नहुने त्यो बेला मसँग फोटो खिच्न भनेर केही पारखीहरू क्यामेरा बोकेर आएको झलझल्ती सम्झिन्छु । यो गीतले पनि इमेज अवार्ड प्राप्त गरेको छ ।
४. म राम्रो र नराम्रोभन्दा
स्वर : रजिना रिमाल । संगीत : राजु सिंह । यो गीत दर्शन र अध्यात्मलाई मि श्रण गरेर रचना गरेको हुँ । यसमा हामी सबै बन्यौ तर मान्छे बन्न सकेनौं भन्ने भाव छ । त्यसैले मान्छे बन्ने यत्न गर्न आग्रह छ यसमा । रजिना रिमाललाई संगीतमा स्थपित गर्ने गीत यही हो । यो गीतले पनि इमेज र कालिका एफएम अवार्ड जितेको छ ।
५.मायाको अर्थ मिलन नै हो भने
स्वर : निश्चल लामा । संगीत : विक्रम थापा । यो गीत पनि मेरो प्रिय गीत हो । भलै यो हालसालै रेकर्ड भएर बजारमा आएको छ । यो गीतको विशेषता मानिसहरू माया भन्नासाथ प्राप्तिमात्रै सोच्ने गर्छन् भन्ने हो । तर बिछोडको छाया त्यसमा हुन्छ भन्ने कमैले सोचेका हुन्छन् । यही दोधार देखाउन खोजिएको छ । यो गीतका गायक भर्खर १० कक्षा पढ्दै गरेका निश्चल लामा हुन् । गायकको अनुहार नहेर्ने हो भने कुनै स्थापित गायकले गाएको जस्तो लाग्छ । तर यो गीतको भिडियोले भने अलि चित्त दुखाएको छ ।
प्रस्तुति : अशोकप्यासी राई
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)