दक्षिणपन्थी अनुवादले विषयलार्इ विकृत बनाउँछ
काठमाडौंका देवीबारे ‘गडेस अफ् काठमान्डु’ किताब लेखेका अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तो सिद्धान्त र मिथकहरूमाथि घोत्लिन रुचि देखाउँछन् । पाश्चात्य र पूर्वीय दर्शनबारे गहिरो ज्ञान राख्ने गुप्तो अहिले दक्षिण एसियामा रहेको देवी परम्पराका विविध आयाम र पक्षबारे अनुसन्धानरत छन् । गुप्तोसँग दीपक सापकोटाले गरेको किताब वार्ता ।
बाल्यकालको पढ्ने बानी घरभित्र कति किताब र पत्रिका छरेको हुन्छ भन्नेमा भर पर्छ । मेरो गाउँ हो बहादुरगन्ज । राणाकालमा जिल्ला सदरमुकाम थियो त्यो । अहिले कपिलवस्तु जिल्लाको प्रमुख गाउँमा सीमित छ । बहादुरगन्जको घरमा चारैतिर किताबमात्रै हुन्थ्यो । बुवालाई मनपर्ने इतिहासका किताब, हामीलाई मनपर्ने कमिक्स, मावली हजुरआमालाई मनपर्ने कविता र आमालाई मनपर्ने उपन्यासहरूले घर भरिएको हुन्थ्यो । स्कुल जाने, भकुन्डो र क्रिकेट खेल्ने, होमवर्क गर्ने र फुर्सद पाउनासाथ किताब पढ्ने, यसरी नै हामी तीन भाइको पढ्ने बानी नशाजस्तो हुनपुग्यो ।
आजभोलि आमाले कहिलेकाहीँ भन्नुहुन्छ, ‘धेरै नपढ, सुत्न जा ।’ म हाँस्दै भन्छु, ‘किन किताबको संसारमा पठाउनु भो ? किताबमै हराउँछु ।’ मेरो जवाफ सुनेर आमा हाँस्नुहुन्छ ।
प्रथम किताबहरू
सुरुवाती किताबहरू के के थिए सबै सम्झना हुन्न । ६ कक्षा पढ्दा एट्लस हात परेको याद हुन्छ । त्यसमा विश्व हेर्दाहेर्दा मेरो हातमा परेको मार्क ट्वेनको ‘द एड्भेन्चर अफ टम स्वएर’ नै हो । किताबको रुचि उपन्यासबाट सुरु हुन्छ । कल्पनाशील र चिन्तनको गहिराइ उपन्यासले परिपक्व बनाउँछ । ट्वेनको संसारमा भएका गाउँका दृश्यहरू मेरै गाउँको जस्तो लाग्थ्यो । मेर भाइ तापस र मेरो साथी दिनेशको तीव्र चञ्चलता टोमको जस्तो थियो । उनीहरूले आफ्नो नाम पनि तुतु र त्वेल्बोर राखेका थिए । गाउँमा हुर्किन पाउनु भाग्यको हो । गाउँले आकाश निर्माण गर्छ । सहरमा हुर्किंदा विश्व धारणा विकसित हुन्छ ।
अलि ठूलो भएपछि थोमस हार्डीको उपन्यास ‘टेस अफ दुर्वेभिल’ पढेँ । त्यो उपन्यासले दुःखको कथा भन्छ । दुःखको भावले बुद्ध जन्माउँछ । वर्डस्वथले भनेका छन् नी, ‘प्रकृतिमा आनन्द र स्मृतिको मध्यमा पनि मानवताको शान्ति र दुःखपूर्ण संगीत सुनिन्छ ।’ मलाई टेसको कथाले धेरै विचलित गरेको थियो । आमा भान्छा कोठामा भएको बेला त्यो उपन्यासको अन्तिम पेज रुँदै पढेको अहिले पनि याद छ । मोटरसाइकलमा सँगै जाँदै गर्दा अभि (सुवेदी) सरले केही वर्षअगाडि भन्नुभएको थियो, ‘मुटु विशाल छ भने मान्छे रुन सक्छ ।’
भारतमा फ्रेन्च
भारतमा पढ्न जाँदा फ्रेन्च उपन्यास खुब पढियो । फ्रेन्चमै अलि कम, अंग्रेजी अनुवादमा अलि बढी । अंग्रेजीको चर्चाले फ्रेन्चलाई खाइसकेको छ । बकिमचन्द्रको बंगला भाषाका किताब पढ्दा गाह्रो हुन्थ्यो भाषाको कमजोरीले । हिन्दी उपन्यास भने सजिलै बुझ्थेँ । स्कुलमा लागेको हिन्दीका जासुसी कथा पढ्ने बानी छँदै थियो ।
किताबको प्रेम दूर देशको कहिले नभेटिएको साथीको आँखाको प्रेम हो । मैले किताबको बाटो हिँडेर त्यस्ता धेरै आँखालाई प्रेम गरेँ ।
किताबको प्रेम दूर देशको कहिले नभेटिएको साथीको आँखाको प्रेम हो । मेरो अनुभूति हो यो । मैले किताबको बाटो गरेर त्यस्ता धेरै आँखालाई प्रेम गरेँ । भारतमा नै मैले नेपाली किताब पढ्ने मौका पाएँ । मेरा एक नेपाली साथीलाई मन पर्ने लाइन अहिले मधुरो सम्झना छ । मोतीराम भट्टको कुनै गजल वा कविता थियो त्यो । भैरहवाको त्यो साथी खुब गाउँथ्यो । मलाई एकदुई शब्दमात्रै याद छ, ‘न यता न उता ।’ मैले जिस्काउँथे, ‘कसको प्रेममा परिस्, छोडेको नेपाली केटीको कि अब भारतकीकोमा ? ’ मोतीरामको कबिताको किताब उनैले दिएका थिए । पछि एक बंगाली साथीलाई केही पंक्ति सुनाउँदा उनले भनेका थिए, ‘अलि नसुन्ने गरी सुनियो भने बंगला जस्तै लाग्छ ।’
सिद्धान्तको बाटो
त्रिभुवन विश्वविद्यालयमा मेरो रुचि साहित्यिक सिद्धान्ततिर गयो । श्रीधर लोहनी र अभि सुवेदी शिक्षक हुनुहुन्थ्यो । सञ्जीव र सजग साथी थिए । ती दिनदेखि किताबमा मात्तिने ऋतु आरम्भ भयो । साहित्यिक सिद्धान्त, सांस्कृतिक अध्ययन र उत्तरऔपनिवेशिक विधाका किताब पढ्दा मेरी श्रीमती शोमाले अभि सरलाई मेरो रुचि टेगोरतिर बढाउन भन्थिन् । सरले पेन्टिङको कुरा गर्थे । सुरुमा डेरिडाबाट मात्रै प्रभावित थिएँ पछि टेगोर र पेन्टिङमा पनि रुचि बढ्न थाल्यो । डेरिडाको चर्चा गर्छु, उनको ‘पोजिसन्स’ भन्ने किताब मलाई खुब मनपथ्र्यो । अहिले पनि मन पर्छ । एउटा विचारलाई अर्को विचारमा परिवर्तन गर्दा इन्टरभल अर्थात् अन्तराललाई बिर्सन हुन्न भन्ने उनको विचार मन पर्छ । उनी भन्छन्, इन्टरभल माथि स्वामित्व वा अधिकार देखाउनहुन्न । होमी भाभाले त्यस्तै भनेकी हुन् जस्तो लाग्छ । उनले भनेकी छन्, ‘स्वतन्त्रताको आधार अनिश्चितता हो ।’ अनिश्चितता अन्तरालबाट जन्मिन्छ र अर्को विचारतिर लाग्छ । अमेरिकामा मार्क्सवाद पढेँ र सँगै उत्तरऔपनिवेशिकवाद र नारीवादका उत्तर सिद्धान्तहरूका किताब धेरै पाएँ । फ्रेन्च फेमिनिस्ट म जुलिआ क्रिस्टेभाको लेखाइ अचम्मको गाम्भीर्यता हुन्छ । उनले एउटा लेखमा गर्भको भाषा र चेतनाको भाषा, दुवै स्टाइल वा रूप प्रयोग गरिन् । उनलाई पढ्दा जीउ सिरिंग हुन्छ र नारीवादी धारणाप्रति श्रद्धा जाग्छ ।
समकालीन अध्ययन
अचेल मैले पढ्ने किताब दक्षिण एसियाली हुन् । म मेरा विद्यार्थीसँग, नेपाल र दक्षिण एसियामाथिका किताबहरूमा व्यस्त छु । म पढ्छु र उनीहरूसँग छलफल हुन्छ । म उनीहरूसँग हाजिरीजवाफ गर्छु । इतिहास र संस्कृत, कला र धर्म, दर्शन र समाजविज्ञानका प्रश्न सोध्छु । मसँग अनुसन्धान गर्ने विद्यार्थी किताब त वाक्यका वाक्य पढ्छन् । यी मेरो रिसर्च ग्रुपका हुन् जो नेपाल स्टडिज र साउथ एसियन स्टडिजमा काम गरिरहेछन् ।
यही परिपे्रक्ष्यमा अचेलमा विधि-विज्ञानका किताब पढिरहेछु । म विज्ञानका अरू विधाहरू भूगोल, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, आदि पढ्ने बुझ्ने विधिबारे अध्ययन गरिरहेछु । यस्ता अध्ययनले अनुसन्धानको दायरा बढाउँछ । मलाई हरेक विधाको विषयवस्तु जान्न मन लाग्छ । जस्तै गणितको विषयवस्तु के हो ? साहित्यको के हो ? भूगोलको के हो ? यी विधाको विधि के हो ? एमफिल पढ्न आउने एकजना विद्यार्थीलाई मैले सोधेको थिएँ, ‘तिमीले के पढाउँछौ ? ’ उनले भने, गणित । मैले सोधेँ, ‘गणितको विषयवस्तु के हो ? ’ उनले जवाफ दिएनन् । त्यसो त यसको एउटामात्रै जवाफ नहुन पनि सक्छ । जवाफ दिन नसक्नु पनि ठीकै हो । तर, मलाई लाग्छ मैले साहित्यको विषयवस्तु के हो भन्न सक्नुपर्छ । त्यसैले म अहिले मेथोडोलजीको अध्ययन गरिरहेछु ।
अहिले पनि मलाई सबैभन्दा मन पर्ने साहित्य सिद्धान्तको किताब नै हो । मार्तिन हैदेगार त भन्छन्, ‘सिद्धान्त छैन भने विश्वविद्यालय प्रवेश दिनु हुँदैन ।’ म ज्याक डेरिडा, गायत्री स्पिभाक र होमी भाभाका किताबहरू पढिराख्छु । यिनीहरूका विचार सुकरातको सोच्ने तरिकाबाट प्रभावित छन् । विचार गर्ने तरिका, व्याख्या गर्ने दृष्टिकोण, महत्वपूर्ण लाग्छ भने यिनको किताबहरू पढ्न आवश्यक छ । यिनीहरूको भाषा गाह्रो छ किनभने विचार अति गम्भीर हुन्छन् ।
अहिले मेरो रुचिको अर्को क्षेत्र पूर्वी दर्शनहरू हुन् । संस्कृतमा नै पढ्न पाए अति खुसी हुन्थँ । तर, अंग्रेजीमा पाइने पूर्वीय दर्शनहरूमा सांख्य दर्शनमा मेरो सबैभन्दा बढी रुचि सांख्य दर्शनमा छ । यो विषयमा मेरो अल्पज्ञान छ तर बुझ्ने चेष्टा सधैं गर्छु । पूर्वीय हिन्दु र बौद्ध दर्शनबारे धेरै अंग्रेजी किताब पाइन्छन् । तर, राम्रो अनुवाद भएका किताब खोज्नुपर्छ । औपनिवेशिक र अति दक्षिणपन्थी अनुवादले यस्ता धर्म र दर्शनका विषयवस्तु विकृत बनाएका हुन्छन् । स्पिभाकले मलाई एकपटक भनेकी थिइन्, ‘खबरदार प्लेटोको गलत अनुवाद नपढ्नु ।’ फेरि केही धार्मिक किताबहरूका नाम चलेका प्रकाशकले पनि मनपरी सम्पादन गर्छन् । यस्तो गम्भीर विषयमा लेख्ने उत्तरउपनिवेशिक लेखकहरू पनि छन् । कुनै दिन यसबारे थप चर्चा पनि गर्नेछु ।
अस्तव्यस्त, केरकार
एकदिन एउटा स्कुल प्रिन्सिपल मेरो अध्ययन कक्षमा आए । मेरो कोठा देखेर उनले भने, ‘कोठाभरि किताब छरिएको छ, अलि मिलाएर राख । तिम्रो किताबहरू त पेन्सिलको दागले फोहोर देखिन्छ ।’ उनलाई केही भनिन् । मेरा साथी आनन्द बारम्बार भन्छन्, ‘लौ हेरुम के पढ्दै छौ ? ’ एकपटक उनलाई विद्यार्थीले सफा टिलिक्क परेको किताब देखाएका मात्र के थिए, गाली गरिहाले, ‘सिसाको अल्मारी म थन्काउ, सूर्य नमस्कार गर, किताब पुछ र फेरि थन्काउ ।’
धेरै किताब पढ्नु भनेको संसारबाट छुट्टिएर असांसारिक हुनु हो भनेर खिल्ली उराउने पनि गरिन्छ । मलाई त त्यस्तो लाग्दैन । त्यसो त किताब हेर्ने बित्तिक्कै रिसाउने साथीहरू पनि छन् । मलाई भने एउटा कथाको सम्झना आउँछ । एउटा देश थियो, किताब नभएको देश । त्यो देशको राजकुमारी प्रेममा कहिल्यै परिनन् । राजाले सोधे, ‘के भो मेरी छोरीलाई ? ’ मन्त्रीले भने, ‘किताब छैन, कवितावाचन गर्न जान्दैनिन् । आलंकारिकता छैन । कसरी प्रेम गर्छिन् ? ’
राजाले आदेश दिए, ‘लौ किताब किन, के के गर्नुपर्छ गर, तर छोरीलाई किताब देऊ ।’ ४० रथमा १० हजार किताब आए । राजकुमारी किताबको संसारमा डुबिन् । दुई वर्षपछि, राजाले राजकुमारीलाई बोलाए । दरबारमा किताब लिएर नै आइन् । राजाले मन्त्रीलाई विस्तारै सोधे, ‘अब प्रेममा पर्छिन् कि ? ’ मन्त्रीले डराउँदै जवाफ दिए, ‘झन् सम्भव छैन जस्तो छ, किताबबाट फुर्सद छैन, हजुरको विदुषीको ।’
त्यसैले शिक्षकहरू मेरा हिरो हुन् । मसँग कफी खाने विद्यार्थी र साथीहरू हुन् । मसँग मेरा केही विद्यार्थीहरू रमाउँछन् तर किताब र कफीसँगै हुनुपर्छ । तर, किताबले मात्रै हुँदैन, कुरा गर्न जान्नुपर्छ । सफासुग्घर देखिनुपर्छ । बौलाहाजस्तो दार्शनिक होइन अलि उत्तरआधुनिक लुगा लगाउनुपर्छ ।