यस्तो छ म्यानमारका नेपाली भाषीको कथा-व्यथा
‘जुन रूख सीधा छ, त्यही पहिला काटिन्छ । बांगाटिंगा बाँकी रहन्छन् । मान्छे पनि त्यस्तै हो । जो सीधा छ उसलाई लडाउन खोज्छन्’, चाणक्यको नीति श्लोकको उदाहरण दिँदै मोहनलाल गुरागाईं आफ्ना संकटका दिन सम्झन्छन् ।सन् २००६ मा उनको जीवनमा भयानक घटना घट्यो । भारतीय मूलको म्यान्मा साथीसँग मिलेर गरिरहेको हीराको व्यापार डुब्यो । कारोबारमा दिनुपर्नेले पैसा नदिएपछि उनले दुई लाख डलर घाटा बेहोरे । त्यसपछि त्यो व्यापार छोड्नुको विकल्प भएन । कारोबार गर्ने ठाउँमा उनको ऋण प्रशस्त थियो ।
करिब एक दशकको निक्कै मेहनत र दुःखले आज उनी सन्तुलित जीवन बाँचिरहेका छन् । म्यानमारको पुरानो राजधानी यंगुनमा उनको गार्मेन्ट फ्याक्ट्री र होलसेल पसल छ । श्रीमती सन्ध्याले पसल सम्हाल्छिन् । उनी गार्मेन्ट र बजार सम्हाल्छन् ।मोहनलाल स्कुल जान थालेपछि नाम परिवर्तन भएर मोती भए । तर, स्कुलका साथीहरूले मोती भनेको मोदी सुने । म्यान्मा भाषामा मोतीको कुनै अर्थ लाग्दैन तर मोदी भनेको असिना हो । ‘मेरो नाम मोती हो भन्दा साथीहरू रमाइलो मानेर ‘ओ मोदी’ भन्दै दंग परेर बोलाउन थाले’, उनी भन्छन् ।
मोती दाइ साँच्चै ‘मोती’का दानाजस्तै सबैका प्रिय छन् । ‘मोदी’का दानाझैं समूह वा साथीभाइबीच बिलाइजाने खालका छन् । दुर्भाग्य भारतका प्रधानमन्त्री मोदी त्यस्ता छैनन् ।
‘मलाई गाली गर्न र रिसाउन आउँदैन’, दुई छोरीका पिता उनी भन्छन्, ‘छोरीहरूलाई पनि मैले आजसम्म गाली गरेको छैन । स्कुल जान अल्छी गरेर सुतिरहेका छन् भने पनि म उनीहरूलाई गाली गर्दिनँ । जाने मन छ कि छैन भनेर सोध्छु । आफैं बुझेर उठ्छन् । मन नभए जाँदैनन् ।
जबर्जस्ती गर्नु हुन्न भन्ने लाग्छ,’ उनी सधैं सन्ध्या भाउजूलाई छोरीहरूको एक्जाम रिजल्ट कुर्न निवेदन गर्छन् । ‘रिजल्ट सधैं राम्रै ल्याउँछन् र मलाई जोगाउँछन् । श्रीमती चैं बाबुजस्तो भइनस् भनेर कराउँछिन् तर म यस्तै छु’, मोती दाइ आफैं मक्ख पर्छन् ।साँझ ८ बजेपछि घरबाहिर नबस्ने घर-सल्लाह छ उनको । पिउन नियन्त्रण गर्न उपाय हो यो । तर, आज हामी अलिक अबेरसम्म बाहिरै छौं । मोती दाइ घरीघरी बियरको ग्लास र फोन हेर्दैछन्।
नेपाली भाषीहरू म्यानमारमै चाहिँ गोर्खालीको पहिचान बोकेर बाँचेका छन् । तर, म्यानमारको सरकारी अभिलेखमा गोर्खालीको जातीय, धार्मिक, सांस्कृतिक वा सामाजिक पहिचान छैन।
मोती दाइ इतिहास, साहित्य र कला-संस्कृतिमा पनि विशेष रुचि राख्छन् । म्यानमारका कुनै पनि ठाउँ वा नामको प्रसंग आयो भने उनले त्यसको पितृ बुझाउँछन् । ‘यो वालस्ट्रिटको पुरानो नाम हो मंगोल स्ट्रिट । अचेल यसलाई स्वेभौँता भन्छन्’, उनले इतिहास पढाउन थाले । अचेल म्यानमारको स्टक मार्केटलाई ‘भोजौ मार्केट’ भन्छन् । सन् १९४८ मा जब ब्रिटिस साम्राज्यबाट बर्माले मुक्ति पायो, त्यसपछि बर्मा भयो म्यानमार । यसरी नै देशसँगै प्रान्त र ठाउँका नाम पनि फेरिए । अंग्रेजहरूले राखेका कति अंग्रेजी नाम म्यान्मा भए । त्यसरी नै बाटोघाटोको नाम पनि परिवर्तन भयो।
गल्लीको मध्यभागको एउटा अग्लो घरको छैटौं तल्लामा रहेको व्याक-व्याक रेस्टुरेन्टमा भेला भएका छौं । ‘व्याक-व्याक रेन्टुरेन्ट एन्ड लज’ले मितव्ययी टुरिस्टहरूका लागि सस्तोमा बस्ने र खाने सुविधा दिन्छ । यस्तो महँगो सहरमा यो राम्रो सुविधा हो । ५, ६ डलरमा बस्न पाइने रहेछ ।
यस गल्लीलाई म्यानमारको वालस्ट्रिट मानिन्छ । यहीँबाट म्यानमारको मुद्रा तथा धातुहरूको भाउ निर्धारण हुन्छ । ‘यो सडक डेढ सय वर्षदेखि रुवी, पत्थर, सुन, हीरा र डलर कारोबारमा प्रसिद्ध छ’, सँगै बसेका शेरबहादुर आचार्यले भने । शेर दाइको बर्मेली नाम फोटोक हो । म्यान्मा भाषामा फोटोक भनेको ‘पुकुले बच्चा’ हुन्छ । उमेरले ४० नाघे पनि उनको अनुहार पुकुले बच्चाजस्तै छ । पुक्क परेको । दशकौंदेखि ठूलो व्यापार सम्हालेका उनी नेपाली भाषीहरूको संस्था युवा विभागको अध्यक्ष पनि हुन् ।
अचेल म्यानमारमा यो समुदायलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा बहस चलिरहेको छ । एकथरी नेपाली र अर्कोथरी गोर्खालीको मतमा छन् । मैले सहजताका लागि नेपाली भाषी भनेर सम्बोधन गरेँ । तर, यसमा मेरो कुनै अर्को राजनीतिक अभिप्राय छैन । त्यहीँ पनि मोती दाइ नेपाली भनौँ भन्नेमा छन्, फोटोक दाइ गोर्खालीको पक्षमा छन् ।
फोटोक दाइको पनि यही सडकमा पत्थर र सुनको व्यापार छ । होटेलसँगै जोडिएको घर पर्तिरको अर्को घर देखाउँदै उनले भने, ‘म यही घरको माथिल्लो फ्ल्याटमा बस्छु । यसलाई यहाँ ‘मिनी कोण्डो’ भन्छन् ।’‘यो वालस्ट्रिट अंग्रेजहरूको पालादेखिकै हो’, वियर सुक्र्याउँदै गरेका ठाकुर पराजुलीले भने । ‘बम्बेले त अघि रित्याइसकेछन्, थप,’ मोतीदाइले जिस्क्याए ।
‘बम्बे ? ’ उनको नाम बम्बे राखिनुको विशेष कारण छ । नेपाली भाषीमध्ये उनकै बुबाले म्यानमारमा पहिलोपटक भारतीय सामानको ‘दुकान’ ‘इन्डियन स्टोर’ को नामले खोलेका थिए । भारतको बम्बैबाट चुरा, टीका, धागोदेखि प्रेसरकुकरसम्मका सामान त्यस ‘दोकान’मा पाइन्थ्यो । त्यो व्यापार म्यानमारको प्रसिद्ध सहर मोगोकबाट सुरु भयो । ‘हम आपके है कौन फिलिमबाट बढियाँ पैसा कमायौं हामीले’, बोलीचालीमा हिन्दी शब्द मिसिनु स्वाभाविक हो यहाँ । फिल्मका क्यासेट र पोस्टरको व्यापार पनि गर्दा रहेछन् उनीहरू । उहिल्यै जितेन्द्र, धर्मेन्द्रदेखि शाहरुख खानसम्मका धेरै पोस्टर बेचेछन् उनका बुबा रुद्रप्रसाद पराजुलीले । ‘पिताजी कामबाट रिटायर्ड हुनुभयो, अहिले मैले हेर्छु ।’ ठाकुरजीको उपनाम बम्बेको कथा यही हो । यसमा मनीषा कोइराला हिरोइन् छैनन् ।
आज बम्बे नै उनको पारिवारिक इतिहाससहितको परिचय बनेको छ । उनी त्यसमा खुसी छन् ।
बोतल त अघि नै खाली भइसक्यो । अब ग्लासको बियर रित्तिँदैछ । मोती दाइ आफ्नो बाल्यकालका स्मृति बताउँदैछन् । छेउमा यंगुन नदी बग्दैछ । ६ तलामाथिबाट टाउको उठाएर उनी पर हेर्दै बोल्दैछन् । मानौं उनका स्मृति जुनेली रातमा पर कतै नदितिर देखिन्छ । ‘म सात वर्षको हुँदासम्म नेपाली समाज र संस्कृतिबाट बाहिर निस्किएको थिइनँ । हाम्रो घर मोगोकको काण्डमा थियो । सहरभन्दा निक्कै भित्र । अझ मातापिताहरू त सात माइलभित्र बस्नुहुन्थ्यो, गाई-भैंसी पालेर । पिताजीको जन्मचाहिँ च्यामख्याममा भएको हो ।’ हात्तीसार, बरबोटे, सैलुङ, च्यामख्यामजस्ता नाम छन् नेपाली गाउँबस्तीका । नेपालबाट म्यानमार आएर जब नेपालीहरूले बस्ती बसाए, नेपालका तिनै पहाडी नाम र चौतारीलाई सँगै बोकेर ल्याएछन् ।
‘स्कुल जानेबेला भएपछि हाम्रो परिवार र कान्छो काका मोगोककै स्यान्ड भन्ने ठाउँमा सर्यौं । परिवारमा त्यतिखेर दुई दाजुभाइ, तीन दिदीबहिनी, बुबाआमा, हजुरआमा र कान्छा काका हुनुहुन्थ्यो,’ स्यान्ड आएपछि उनलाई थाहा भयो, यहाँ त फरक भाषा र फरक समुदाय छन् । ‘मलाई म्यान्मा भाषा थाहा थिएन । नेपाली मात्रै बोलेको, सिकेको । स्कुलमा म्यान्मा भाषा सिक्न गाह्रो भयो । पत्लुङ (पाइन्ट) उठाएर सरले चाकमा लौरोले कुट्थे मर्नेगरी ।’ त्यो कष्टकर समयलाई पुलकित स्मृतिमा बताउँछन् मोती दाइ । ‘त्यसरी कुटाइ खाएकै कारणले पनि हो कि उनलाई म्यान्मा भाषा र साहित्यप्रति बढी रुचि भएर आयो’, उनी रमरम दम्भका साथ भन्छन्, ‘मैले यहाँको साहित्यको अध्ययन गरेको छु ।’
चार कक्षादेखि उनले नेपाली भाषा साहित्य पनि पढ्न पाए । म्यानमारमा नेपाली भाषा सिक्ने-सिकाउनेको ठूलो संघर्ष र लामो कथा छ । उनका बुबा ठाकुरप्रसाद गुरागाईं म्यानमारमा नेपाली साहित्य, कला र संस्कृतिको उत्थानमा लागेका अग्रणी व्यक्तित्व हुन् । ठाकुरप्रसाद खासमा म्यानमारका औंलामा गनिने समाजसेवीमध्येमा पर्छन् ।
उनी सम्झन्छन्, ‘पिताजीले बनाएको नेपाली पाठ्यपुस्तक बर्मेली अनुवाद गरेर त्यसको ३६ प्रति हातले सारेर म्यानमारका ३६ सरकारी निकायमा बुझाउनुपथ्र्यो । हरेक कार्यालयबाट पुस्तकमा कहीँ न कहीँ रातो मसी लगाएकै हुन्थ्यो । सेन्सरबाट पास हुँदा-हुँदा अन्तिममा क-ख-ग-घ र अ-आ-इ-ई मात्रै बाँकी रहने स्थिति थियो । तर, पनि कर्मकाण्ड र धर्म सिकाउने कुरा सम्झाएर पाठ्यपुस्तक पास गरियो ।’ पाठ्यपुस्तकमा कुनै पनि राजनीतिक वा सामाजिक संगठनका कुरा नपरून् भन्ने म्यान्मा सरकारको सोच हो ।
अझ बौद्ध धर्म र उनीहरूको सामाजिक अभ्यासमा आँच आउने काम नहोस् भन्ने उनीहरू चाहन्छन् । यसरी बनेको नेपाली भाषाको किताब पढेर हुर्कियो मोती दाइको पुस्ता । स्कुलको तीनमहिने हिउँदे बिदामा नेपाली पाठशाला सञ्चालन हुने गर्छ । यही तीन महिनामा जतिले नेपाली सिक्छन्, त्यही नै म्यानमारमा नेपाली भाषाको आधार हो । केही चाहिँ नेपाल आएर पनि पढ्छन् । ‘हामीले हिन्दु कर्मकाण्ड र श्र्राद्ध विधि पढ्यौं । त्यसैगरी लेखनाथ, देवकोटा र माधव घिमिरेका कविता पनि पढ्न पायौँ,’ उनी भट्याउन थाल्छन्-
आयो टप्प टिप्यो
लग्यो
मिति पुग्यो
टारेर टर्दैन त्यो ।
तर, स्कुलको विशेष अनुशासनले उनलाई पढाईप्रति भने आकर्षित गरेन । ‘यस किसिमको निरंकुश शिक्षाप्रति मेरो रुचि घट्यो । यस तरिकाको निरंकुश शिक्षाले मान्छे बनाउँदैन जस्तो लाग्यो । त्यसैले ९ कक्षापछि स्कुल जानै छाडिदिएँ ।’
मोगोकको अर्को नाम हो- रुवील्यान्ड । रुवीको खानी हो यो ठाउँ । उनले ९ वर्ष रुवी र पत्थरको व्यापार गरे । तर, उनलाई खासै फलिफाप भएन । त्यसपछि नजिकैको अर्को सहर माण्डले आएर चाइनिज सामानको व्यापार गर्न थाले । ‘एउटा चाहिँ थर्मसको व्यापार गरेँ । माचिस र अरू सामान पनि बेचेँ’, ६ महिना यो काम गरेपछि उनी अर्को कामतिर लागे । बिल्डिङ बनाउने काम । उनले सबकन्ट्रयाक्टरको रूपमा काम गरे ।
प्रसंगले फड्को मार्यो । मोती दाइको अनुमानमा हाल म्यानमारमा एक लाख जति नेपाली होलान् । फोटोक दाइले कुरा काटे । ‘पछिल्लो सुचनाअनुसार म्यानमारमा लगभग दुई लाख नेपाली भाषी छन् । हिजोमात्रै यसबारे छलफल भएको थियो ।’ आधिकारिक तथ्य नभएकोले मोती दाइले सहमति जनाएनन् । भने, ‘जति भए पनि नेपालीहरूले म्यान्मा सरकारबाट निक्कै माया पाएको छ । हामीले पनि म्यान्मा सरकारलाई भलो हुने काम मात्रै गरेका छौं ।’
फेरि उनले इतिहास र समाजको गुदी कुरा खोले । ‘म्यान्माहरू आफूलाई शाक्यवंशी ठान्छन् । नेपालका नेवारहरू र यिनीहरूमा केही समानता पाइन्छ । यही कुरा बुझ्न मैले नेवारी शब्दकोश मगाएँ नेपालबाट र त्यसको अध्ययन थालेँ । खासगरी भक्तपुरका नेवारले बोल्ने भाषा र म्यान्मा भाषामा धेरै समानता भेटेँ मैले । २.दुई सय ५० भन्दा बढी शब्दमा मैले समानता भेटेँ । जस्तै माछालाई ‘ङा’ भन्छन् नेवार पनि, बर्मेली पनि । ‘मि’ भनेको आगो । ‘ल्हाम’ भनेको बाटो । ‘मिक’ भनेको आँखा ।’ दर्जनौं शब्द मुखाग्र छन् । उनका अनुसार, शब्द त्यही भए पनि म्यान्माहरूको उच्चारण अलिक फरक छ । त्यसको भेद पनि खोले उनले ।
‘बुद्धम शरणम् गच्छामी’लाई बर्मेलीहरूले ‘बुद्धम तरणम् गच्छामी’ भन्छन् । पुरानो समयका बर्मेलीहरूले ‘स’ उच्चारण गर्न नसक्ने हुनाले ‘स’को सट्टा ‘त’ भन्थे । तर, अहिलेकाले ‘स’ भन्न जाने पनि ‘बुद्धम तरणम गच्छामी’ नै भन्छन् । उनीहरूको लागि यही ठीक हो भन्ने भयो ।
‘हाम्रा पुर्खाले भाषा र संस्कृतिको भण्डार बोकेर आए । तर, मेरा पिताजीको पुस्तासम्म आइपुग्दा नेपाली शब्द भण्डार दस हजारसम्ममा पुग्यो होला ।
हाम्रो पुस्तासम्म आइपुग्दा ५, ६ हजारमा झर्यो । मेरी छोरीको पुस्तासम्म आइपुग्दा दुई, तीन हजार बाँकी रह्यो,’ मोती दाइ भावुक हुँदै भन्छन्, ‘अब केही पुस्तापछि यहाँका नेपालीहरूले म्यान्मा वा अंग्रेजीमा म नेपाली हँ भन्ने स्थिति आउनेछ ।’
लुनाजीले यो तीतो यथार्थमा सहमति जनाइन्, ‘यूएसएमा भएकी मेरी साथीकी छोरी नेपाली बोल्न जान्दिनँ ।’
अनेकौं कारणले (अरू भाषाको हेपाइमा परेर, अल्पसंख्यक माथि राज्यको दमनले वा अन्य धेरै कारणले) धेरै भाषाहरू संसारबाट लोप भइरहेका हुन्छन् । तर, कुन भाषा कति बाँच्छ भन्ने कुरा आज ठूलो राजनीतिक रहस्य हो । शासन सत्ता र राज्यको नीतिमा यसको भरोसा छ । नेपालभित्रै पनि कयौं भाषाको स्थिति म्यानमारमा नेपाली भाषाको जस्तो छ । मोती दाइ भन्छन्, ‘हाम्रो समस्या भनेको जनसंख्या पनि हो । नेपालीमा लेखिएको साहित्य पढिदिने मान्छे नै छैन ।’ अर्कोतिर यहाँको नेपाली साहित्य त्यति समृद्ध पनि छैन जसलाई अन्यत्रका नेपालीहरूले पढिदिऊन् । ठूलो समस्या राज्यको नीति हो, जहाँ नेपाली भाषा अटाउने स्थिति छैन । म्यानमारका आदिवासी मानिएका समुदायका धेरै भाषा लोप हुने अवस्थामा छन् । नेपालमा जस्तै यहाँ राज्यले पहिचान गरेको भाषाहरू एक सय २० वटा छन् ।
ठाकुरप्रसाद गुरागाईंले लेखेको पुस्तक ‘म्यानमारमा नेपाली समाज’ले सन् १८८६ भन्दाअघि म्यानमारमा नेपालीहरूको इतिहास आधिकारिक रूपमा भेटिँदैन भन्छ । त्यसपछि नेपालीहरूको इतिहास र अभिलेख प्रशस्त पाइन्छ । म्यानमारले चार सय वर्ष पुरानो इतिहास भएको समुदायलाई आदिवासीको पहिचान दिएको छ । उनी भन्छन्, ‘म्यानमार सरकारको हालको नियमअनुसार यहाँको आदिवासी हुन अझै दुई सय वर्ष कुर्नुपर्छ ।’
नेपाली भाषीहरू म्यानमारमै चाहिँ गोर्खालीको पहिचान बोकेर बाँचेका छन् । तर, म्यानमारको सरकारी अभिलेखमा गोर्खालीको जातीय, धार्मिक, सांस्कृतिक वा सामाजिक पहिचान छैन । उनीहरू म्यानमारका अन्य जातिसरह चुनावमा भोट हाल्न पाउँछन् । चुनावमा प्रतिनिधि बन्ने अधिकार पनि उनीहरूलाई छ । तर, व्यावहारिक रूपमा अनेकौं तगारा छन् । नेतृत्वको माथिल्लो तहसम्म पुग्न यहाँका आदिवासी मान्यता पाएका समुदाय र तिनको संगठनले दिँदैन । नेपाली भाषी वा गोर्खालीको पहिचान बोकेर चुनावमा उठ्न पाइँदैन । यहाँका आदिवासीहरूको पहिचानमा मिसिएर राजनीति गर्न सकिन्छ । फोटोक दाइ बीचमै उदाहरण मिसाउँछन्, ‘अधिवक्ता गणेश बस्नेतले पछिल्लो स्थानीय चुनावमा प्रतिनिधि बन्ने मौका पाएका थिए कचिन स्टेटबाट । बस्नेत कचिन समुदायकै प्रतिनिधि भए । उनले चुनाव जित्न नसके पनि आफ्नो समुदायबाट पहिलो पटक यसरी राजनीतिमा आएकोमा नेपाली भाषीहरू खुसी छन् ।’
‘आर्मी र पुलिसमा भने हाम्रा मान्छेहरू उच्च पदमा छन् कुरा उही हो,’ मोती दाइ थप्छन्, ‘राजनीतिक रूपमा नेपाली भाषीबाट म्यानमारलाई हालसम्म कुनै शंका छैन । त्यही भएर आर्मी र पुलिसमा नेपालीलाई सजिलो छ ।’
यहाँ राजनीतिक वा सामाजिक संगठन बनाउन नपाइने हुनाले धर्मको नाममा धेरै संघसंस्था खुलेका छन् । म्यानमारभरिमा नेपाली भाषीले निर्माण गरेको तीन सय जति हिन्दु मन्दिर छन् । नेपालीले सञ्चालन गरेको तीनवटा संस्कृत पाठशाला छन् । म्यानमारमा गोर्खालीहरूको छविका बारेमा मोती दाइ भन्छन्, ‘हाल रखाइन प्रान्तमा भइरहेको हिंसा देखाउन एउटा मिडियाले खुकुरी र रगत प्रयोग गरेछ । त्यसबाट नेपाली समुदाय चिन्तित भयो । र, सारा नेपालीभाषीले सामाजिक सञ्जालमा आलोचना गरे । खुकुरीलाई गलत ठाउँमा प्रयोग नगर्न निवेदन गरे । पछि उक्त मिडियाले माफी मागेर समाचारमा प्रयोग भएको लोगोको खुकुरी हटायो ।’
वेटरले ल्याएको बियर फोटोक दाइले छामे । उनले म्यान्मा भाषामा केही भने । वेटरले बियर फिर्ता लग्यो । आफूले रोक्न मिलेन । ‘यहाँ चिसो बियर रहेनछ । अर्कोतिर जाउँ’, फोटोक दाइको उर्दीसहित हामी तल झर्र्यौँ । तल झरेपछि सबैजना आ-आफ्नो घर जाने कुरा पो भएछ । सायद सबैको घरबाट फोन आयो । कुराकानी अझै बाँकी थियो । भर्खरै युवा विभागका सचिव कार्कीजी पनि आएका थिए । हरेकका आ-आफ्ना कथा थिए, म सुन्न आतुर थिएँ।
फोटोक दाइले जब घरबाट आफ्नो गीति एल्बम ‘आयो दिवाली’ मगाए म झन् उत्साहित भएँ । ६ जना म्यान्मा नेपालीको स्वर भएको यस गीतमा मोती दाइले विरही गीत गाएका रहेछन् । ‘पिताजीले लेखेको गीत हो यो । मलाई सबैले ट्रयाजिक गीत सुहाउँछ भनेर मेरो भागमा यो पर्यो ।’
भैया मेरो आयो कि भन्दै
दिदी होलिन् बाटैमा हेरेकी
सयपत्री मखमली फूलैफूल सारा
ढकमक भएका छन् गाउँघर सारा
भोलिपल्ट मोती दाइ र ममात्रै भेट्यौं उहाँकै होलसेल गार्मेन्ट दोकानमा । उनको यो दोकान मिङ्लाबार मार्केटमा छ । गार्मेन्ट फ्याक्ट्रीको नाम छोरीहरू उन्नति र प्रगतिको पहिलो अंग्रेजी अक्षर जोडेर राखिएको छ । यूपी अर्थात् ‘अप’ । करिब ५० कामदार भएको ‘अप कलेक्सन’ले त्यस प्लाजाका दुई सयभन्दा बढी कपडाका होलसेल दोकानलाई लुगा सप्लाई गर्छ । यहाँ पाँच सय दोकान छन् । म्यानमारका नेपालीमाझ चलेको शब्द हो- दोकान । अब उनी अर्को गार्मेन्टको तयारीमा छन् जसको नाम हुनेछ नेपाली शब्द ‘सुहायो’ । ‘म कहीँ न कहीँ मेरो काममा नेपाली कुरा जोडियोस् भन्ने चाहन्छु ।
गत एक दशकमा दुई लाख डलर ऋण घटेर २० हजार डलरमा झरेको छ ।’ त्यसैले उनले हरेश खाएका छैनन् । दुःख गरेर विस्तारै ऋण तिर्ने मोती दाइ र पुष्पा भाउजूको प्रतिबद्धता छ ।
खासमा त मूल कथा नै मैले सुन्न बाँकी थियो ।
त्यत्रो पैसा प्वाल परेको डुंगा समुद्रमा डुबेझैं डुबेपछि उनले मोगोकमा रहेका बुबालाई फोन गरे । ‘पिताजीले गाली गर्नुभएन । बरु भन्नुभयो, म त व्यापारी होइन । भैंसी पालेको अनुभवमात्रै छ । भैंसी जुन जंगलामा हरायो त्यहीँ खोज्ने हो । त्यसैले जुन सहरमा तेरो पैसा डुब्यो तैंले त्यही सहरबाट त्यो पैसा उठाउनुपर्छ’, बुवाको यो विचारले उनलाई फेरि केही काम गर्ने राहत मिल्यो । बुवाको अर्को विचारले उनलाई झन् टेवा दियो । ‘सहरमा हरेक मान्छे घरबाट निस्कँदा गोजीमा पैसा बोकेर अरूलाई दिन निस्किन्छन् । तँलाई दिने पैसा पनि उसँग हुन्छ । मात्रै तैंले लिनु जान्न पर्छ ।’
त्यसपछि उनले यंगुनमा शाकाहारी रेस्टुरेन्ट खोले । नेपाली दाल, भात, तरकारी पाइने यस रेस्टुरेन्टको नाम राखियो- नेपाली फुड हाउस । ‘ श्रीमतीले भान्सा सम्हालिन्, म वेटर बनेँ । रेस्टुरेन्टमा एक महिना जति कोही आएनन् । कति दिन त खाना पकाउँदै फ्याँक्दै गरियो । झन्डै हामी निरास भएर छोड्न लागेका थियौं । तर, विस्तारै मान्छेको ओइरो लाग्न थाल्यो ।’
यंगुन मांसाहारी सहर हो । मासुबेगर यहाँका मानिसको दैनिकी चल्दैन । यस्तो वातावरणमा भड्किएका सबै शाकाहारी जाने ठाउँ भयो उनको रेस्टुरेन्ट । ‘लोन्ली प्लानेटमा यो रेस्टुरेन्ट परेपछि विदेशीको ओइरो लाग्न थाल्यो ।’
यो रेस्टुरेन्टको अर्को आकर्षण बन्यो- म्युजिक । साँझ परेपछि मोती दाइ आफैं गीत गाउन थाले । अंग्रेजीमा बब मार्लीदेखि जोन लेननसम्म गाए । हिन्दीमा गुलाम अली र जगजित सिंहका गीत खुब गाए । नेपालीमा चाहिँ नारायणगोपालका गीत धेरै गाए । यी यस्ता प्रतिभा रहेछन्, बजाउन नजानेको बाजा केही छैन । गितार, भोइलिन, मादल, ढोलक, बाँसुरी, किबोर्ड, हार्मोनियम बजाउँछन्, ‘प्रायः बाजा कामचलाउ बजाउँछु ।’
रुवीको व्यापार गर्नुअघि उनी फिल्म निर्देशक बन्न चाहन्थे । हिन्दी फिल्म प्रशस्त हेरेका उनलाई म्यान्मा फिल्म स्तरीय बनाउने इच्छा थियो । उनलाई लागेको थियो- उनी तीन भाषामा दक्खल राख्छन् म्यान्मा, नेपाली र हिन्दी । म्यान्माका स्थानीयभन्दा आफ्नो भाषा र साहित्य बलियो भएकोले उनीहरूभन्दा राम्रो फिल्म बनाउँछ भन्ने विश्वास थियो । ‘सिंगापुर पुगेर फिल्म निर्देशन र फिल्म निर्माणका किताब किनेर ल्याएँ । पढ्न थालेँ । फिल्मकर्मीहरूको संगत गर्न थालेँ । तर कुरा बुझ्दै जाँदा फिल्म निर्देशन गर्न कम्तीमा पाँच वर्ष सहायक निर्देशकको रूपमा काम गरेको हुनु पर्ने रहेछ’, अर्को समुदायबाट आएकाहरूलाई म्यान्मा फिल्म उद्योगमा सहज देखेनन् उनले । त्यसपछि ती किताब पुस्तकालयलाई दान दिए ।
‘म एउटै काममा जिन्दगीभर बिताउनु हुन्न भन्ने सोच्छु’, केही वर्षमा व्यापारको बाटो परिवर्तन गरिरहने मोती दाइ भन्छन्, ‘कति मान्छे वर्षौंदेखि गाडी चलाइरहेका छन्, एउटै पसलमा उनीहरूलाई उहीले देखेको, अहिले पनि त्यहीँ छन् । तर, गरिरहेको काममा खासै सम्भावना देखिनँ भने म धेरै कुरेर बस्दिनँ । नयाँ विकल्प खोजी हाल्छु ।’ तर, म्यानमारमा गार्मेन्टको सम्भावना चाहिँ प्रचुर देख्छन् उनी । यहाँ उत्पादन लागत कम भएकोले विदेशी व्यापारीहरू पनि गार्मेन्ट व्यापारतिर अकार्षित छन् । त्यसैले उनी यही व्यापारलाई अझै बृहत् बनाउने योजनामा छन् ।
‘मेरी श्रीमतीको मेहनतले हामीलाई यहाँसम्म ल्याएको हो । उनलाई घरबाहिर कस्तो सल बनाउने भन्ने चिन्ता छ, घरभित्र के सब्जी बनाउने भन्ने चिन्ता छ’, होलसेल दोकान सम्हालेर बसेकी सन्ध्या भाउजू व्यंग्य गर्दै भन्छिन् ‘भाइ, दाइको बारेमा लेख्दा त्यो पिउने कुरा चाहिँ नछुटाउनुस् है।’
गत वर्ष मोती दाइ बुवासँग नेपाल घुम्न आएका थिए । नेपाली कविता डटकमले उनका बुबालाई काठमाडौंमा सम्मान गर्ने मेसो थियो त्यो । त्यही मेसोमा उनी नेपालका विभिन्न गाउँमा पुगे । पोखरा उनलाई निक्कै मन पर्यो । त्यसपछि उनी आफ्नो पुर्खाहरूको थलो तेह्रथुमको मोराहाङ पुगे । आफ्ना नाताका मान्छे अझै रहेछन् गाउँमा । हजुरबाका हजुरबाले धर्मशाला बनाएर गाडेको शिलालेख तिनै नातेदारले देखाइदिए र भने, ‘तिमीहरूको जग्गा यही हो । लैजाऊ ।’मोती दाइ ठट्टा गर्दै भन्छन् ‘काठमाडौंमा भए के दिन्थे ? त्यो पहाडको पाखो जग्गा के गर्नु? ’