त्यो खतरनाक ज्वालामुखी : जहाँ मानिसहरू मूर्ति बने
संसारकै पहिलो यात्रा-लेखक मार्को पोलोको देश इटालीमा पहिलो पाइला टेक्दा गर्वले मेरो छाती ढक्क फुलेको थियो । चीनसम्म पुगेका मार्कोपोलोलाई नेपाल स्पर्श गर्ने अनुकूल सायद मिलेन । तर, म चाहिँ उनको देशमा एकहप्ते छोटो यात्राका लागि पुगेको थिएँ ।
अंग्रेजीमा चल्तीको एउटा भनाइ छ, ‘अल रोडस् लिड टु रोम’ । मैले पहिलो पाइला रोममा टेके पनि मनले रोमबाहिर ‘नेपल्स’ जाने बाटोमा पाइला राखिसकेको थियो । ज्ञान, विज्ञान, धर्म, कला र साहित्यको प्राचीन केन्द्र रोममा घुम्नुपहिले आफ्नै देशको नामसँग मिल्दोजुल्दो इटालीको नेपल्स सहर पुग्न आतुर थिएँ । नेपल्स सहरसँग धेरै पहिले मेरो मनले सम्बन्ध जोडेको थियो । युरोपको लामो बसाइमा ‘ह्व्यर आर यु फ्रम’ भनेर सोधिने प्रश्नको नेपाल भनेर जवाफ दिँदा केही व्यक्तिहरू सायद नेपल्स सुन्थे । त्यसपछि उनीहरू इटलीको चर्चा गर्न सुरु गरिहाल्थे । झन्डै आफ्नो देशको नामसँग मिल्ने तर नदेखेको नेपल्स सहर त्यतिबेलैदेखि प्रिय लाग्न थालेको थियो ।
इटलीका अन्य सहर घुम्न छाडेर दुई छोरा कृतिश, सुयश, श्रीमती सञ्जु र म रोम सहरबाट बुलेट ट्रेनमा नेपल्स हुँइकियौं । नेपालसँग मिल्दोजुल्दो नेपल्स नाम कसरी रहेको होला ? त्यहाँ नेपालीहरू पनि छन् कि ? के त्यहाँका मानिसको अनुहार नेपालीकै जस्तो छ ? मभित्र उठेका यस्ता अनेकन प्रश्नका दौड बुलेटको गतिमा दौडिरहेको टे«नभन्दा कम थिएन ।
नेपल्स सेन्ट्रल ट्रेन स्टेसनबाहिर निस्किनेबित्तिकै आँखामा नीलो समुद्र टाँस्सियो । त्यो शान्त समुद्रको पानी स्पर्श गर्ने चाहनाले मन छचल्कियो । अगस्ट महिनाको चर्को गर्मीमा सुस्तरी आएको तातो हावाले स्वागत गरिसकेको थियो । अलिक अगाडि बढेर चारैतिर नजर दौडाउँदै छु । समुद्रलाई छोएर पहाडसम्म पुगेको भाग्यमानी सहर देखेर आल्हादित भयो मेरो मन । पहाडको काखमा बसी समुद्रको प्रेमिल स्पर्श पाएर होला नेपल्स सहर गुल्जार देखिन्थ्यो ।
प्राचीन समयमा ग्रीकबाट आएका आप्रवासीले नेपल्समा आएर बस्ती बसालेका रहेछन् । इटाली भाषामा ‘नापोली’, अंगे्रजीमा ‘नेपल्स’ भनिने त्यस सरहको अर्थ प्राचीन ग्रीक भाषामा ‘नयाँ सहर’ भन्ने रहेछ । नयाँ सहर भनिए पनि धेरै पुराना घरको ताँतीले नेपल्सको प्राचीन इतिहासको सानो झलक दिलाउँथ्यो । कला, संस्कृति र वास्तुकलामा ख्याति कमाएको नेपल्स सहरमा मोहनी लगाउने समुद्र अनि सुन्दर पहाडको आकर्षणले होला सडकमा पर्यटकको भीडभाड देखिन्छ । त्यो भीडमा कुनै नेपाली भेटिए हुन्थ्यो नि भनेर सडकमा नेपाली अनुहार ठम्याउन खोज्छु । भारतीय, पाकिस्तानी र चाइनिजका भीडमा नेपाली खोज्नु कठिन काम थियो ।
नेपल्समा नेपाली रेस्टुरेन्ट भेटिन्छन् कि भनेर विभिन्न गल्लीमा सोधपुछ गर्न थालेँ । नेपाली रेस्टुरेन्ट खोज्नुको अर्थ भातमात्र होइन नेपाली खोज्नु र उनीहरूको अनुभव सुन्नु पनि थियो । न नेपाली रेस्टुरेन्ट भेटियो न त नेपाली ! हार खाएपछि एउटा इटालियन रेस्टुरेन्टमा प्रवेश गर्र्यौं । संसारप्रसिद्ध इटली खाना पिज्जा र त्यसमा पनि नेपल्स सहरको उत्पादन प्रसिद्ध नापोली पिज्जा खायौं।
‘हामी घुम्न आएका नेपाली हौं । तपाईंले यता नेपाली रेस्टुरेन्ट वा कोही नेपाली चिन्नु भएको छ ? ’ पैसा तिर्ने बेलामा काउन्टरमा सोधेँ । उसले थाहा नपाएको बतायो । ‘नेपल्स घुम्न आउनुभएको भए नेपाली खोज्नुभन्दा बरु ज्वालामुखी पहाड हेर्न जानु’ भन्ने सल्लाह पो दियो उसले । कुरा ठीकै लाग्यो । ज्वालामुखीको नामले छोराहरू उत्साहित भइसकेका थिए । त्यहाँ पुगेर साहसी र रोमाञ्चकारी यात्राको बेग्लै अनुभूति लिने विचार आयो । आवश्यक जानकारी लिएर युरोपको सबैभन्दा खतरनाक ज्वालामुखी माउन्ट भेसुभियसको यात्रामा निस्कियौं ।
नेपल्स सहरबाट करिब १३ किमि टाढाको ज्वालामुखी पहाडको मुखसम्म पुग्न आधा बाटो लोकल ट्रेन र बाँकी माइक्रोबसको यात्रा गर्नु पर्दोरहेछ । उत्पात गर्मीमा नेपल्सबाट ‘एर्कोलानो स्काभी’ स्टेसनसम्म लोकल ट्रेनमा गुन्दु्रक खाँदिए जसरी करिब २० मिनेटको यात्रा गर्र्यैाँ । त्यसपछि माइक्रोबसले पचासौं साँघुरा घुम्ती पार गर्दै ज्वालामुखी पहाडको फेदमा लगेर उतार्यो । उभिएर दायाँबायाँ हेर्छु, ठ्याक्कै नेपालका जस्तै थिए पहाड । आफ्नैजस्तो लाग्ने ती पहाड हेर्दाहेर्दै राम्रा लाग्न थाले । समुद्री सतहबाट एक हजार दुई सय ८१ मिटर अग्लो ज्वालामुखी पहाडको टुप्पोसम्म गाडी नजाँदो रहेछ । त्यहाँ पुग्न करिब आधा घण्टाको घुमाउरो बाटोमा कस्सेर पैदल हिँड्नुपर्ने रहेछ ।
माउन्ट भेसुभियस युरोपको सक्रिय र सबैभन्दा खतरनाक ज्वालामुखी हो । त्यो अहिले सुतिरहेको छ । ३० लाख मानिस पनि त्यही ज्वालामुखीमाथि मस्तसँग सुतिरहेका छन् । ज्वालामुखी उठ्नुपहिले मानिस उठे भने ठीकै छ नत्र मानिसहरू फेरि पत्थर हुनेछन् ।
ज्वालामुखी पहाड चढ्न पाइला अघि बढे । ज्वालामुखीबाट निस्केका लाभा चिसिएपछि बनेका गेग्रान बाटाभरि छरिएका थिए । पृथ्वीको सयौं किलोमिटर मुनि प्राकृतिक भट्टीबाट निस्केका राखहरूमाथि पाइला राखेर अगाडि बढ्न पाउनु आफैंमा रोमाञ्चकारी यात्रा थियो । अगाडि बढ्दै जाँदा बेलाबेलामा मटरका दानाभन्दा अलिक ठूला मसिना गेग्रानमा खुट्टा सुल्किएर पछाडि सर्दाको क्षण बडो रोमाञ्चकारी थियो । त्यस्ता कुरा पहिले थाहा पाएकाहरू भाडामा लट्ठी लिएर उकालो चढ्दा रहेछन् । हामी हिँड्दै गयौं । फर्केर आउँदै गरेका यात्रीले लट्ठी थमाउँदै गरेको देख्यौं । एकछिनपछि हाम्रा हातमा पनि काठका लट्ठी परे । बस्, लट्ठीको सहारा भएपछि के चाहियो ? त्यसपछि उकालो चढ्न सजिलो भयो ।
‘ज्वालामुखीको राप हो कि सूर्यको ताप ? ,’ अलिकति उकालो चढेपछि चर्को घामले सेकिरहेको अनुहारको पसिना पुछ्दै सञ्जुले भनिन् ।
‘ज्वालामुखी देवको दर्शन गर्न जाँदा सूर्यदेवको प्रसाद बोनसमा आएको हो,’ यात्रालाई रोचक बनाउन प्रयास गरेँ ।
‘ज्वालामुखी पनि भगवान हुन् र ? ’ सञ्जुले जिज्ञाशा राखिन् ।
उकालो चढ्दै जाँदा मैले पढेको ज्वालामुखीसम्बन्धी रोचक कथा सुनाउन थालेँ । हामीहरूजस्तै अन्धविश्वासका कारण प्राचीन समयका मानिसहरू भोल्केनोलाई पूजा गर्थे । भोल्केनोको बारेमा केही रोचक पौराणिक कथा छन् । अंग्रेजीको भोल्केनो अर्थात् ज्वालामुखी ‘भल्कन’ शब्दबाट आएको हो । भल्कन प्राचीन रोमन धर्मको प्रमुख देवतामध्येका एक हुन् । उनी अग्नि, ज्वालामुखी र धातुका देवता थिए । ठूलो हथौडा लिएको उनको तस्बिर र मूर्ति इटाली र ग्रीकमा अझै पनि देख्न पाइन्छ । कथाअनुसार, भल्कन अर्थात् ज्वालामुखीमा देवताको लागि हतियार बनाइन्थ्यो । अहिले पनि भूमध्य सागरमा अवस्थित इटालीको अधीनमा रहेको भल्कनोनामको एक टापु छ । त्यहाँको ज्वालामुखी अत्यन्त सक्रिय छ । कथाअनुसार भगवान्को लागि त्यहीँ हतियार बनाइन्थ्यो ।
अर्को प्राचीन ग्रीक कथाअनुसार, पृथ्वीमा सयवटा सर्पको टाउको भएको टाइफन नाम भीमकाय प्राणी थियो । त्यसको टाउकोले आकाशका ताराहरूलाई छुन्थ्यो । त्यसले आँखाबाट विष, मुखबाट लाभा र अति तातो चट्टान निकाल्थ्यो । त्यसको फुँकार सयवटा सर्प बराबरको र गर्जन सयवटा सिंहको जत्रो हुन्थ्यो । एकपटक आकाश, चट्याङ र सबै देवताका पनि राजा जिउससँग टाइफनको घमसान युद्ध भएछ । त्यो युद्धमा सबै जीवित वस्तु नष्ट भए । त्यो शक्तिशाली जब्बर टाइफनलाई हराउन हम्मेहम्मे पर्र्यो । अन्त्यमा जिउसले निशाना लगाएर टाइफनमाथि ठूलो बज्र प्रहार गरे, जसले गर्दा एउटा विशाल पहाड टाइफनमाथि खस्यो । र, टाइफन त्यही पहाडमुनि दबिन पुग्यो । टाइफन मर्न चाहिँ मरेन । तर, कुनै पनि हालतमा त्यहाँबाट उम्केर बाहिर आउन नसक्ने गरी पृथ्वीको सतहमुनि बन्दी हुन पुग्यो । त्यो जीवित टाइफनले अझै पनि बेलाबेला पहाडको टुप्पोबाट आगो, धुवाँ र लाभा फालिरहन्छ । त्यही कारणले ज्वालामुखी विस्फोट भइरहने गर्छ ।
कथा सकिएको एकछिनमै माउन्ट भेसुभियसको टुप्पोमा पुग्यौं ।
वाफ रे ! आँऽऽऽ गरेर मुख बाएजस्तो विशाल गहिरो र गोलाकार खाल्डो देख्दा सातो गयो । कमजोर मुटु भएका कयौं यात्री त्यसको मुख देखेरै मुर्च्छा पर्न बेर लाउँदैनन् । त्यो गहिरो खाल्डोभित्र मानिस खस्लान् कि भनेर धन्न काठको बार लगाइएको रहेछ । त्यो बृहत्काय गोलाकार भ्वाङ यति ठूलो थियो कि त्यसको एकछेउबाट हेर्दा अर्को छेउमा उभिएको मानिस ठम्याउन सकिँदैनथ्यो । ज्वालामुखी विस्फोटन हुँदा परेको त्यो कहालीलाग्दो भ्वाँङको व्यास सात सय मिटर र गहिराइ दुई सय मिटर रहेको थाहा पाउँदा आश्चर्यचकित भएँ ।
पृथ्वीको गर्भमा करोडौं वर्षदेखि पाकिरहेका लाभा, ग्याँस र चट्टानका टुक्राहरू तीव्र गतिमा बाहिर निस्कँदा ज्वालामुखी विस्फोटन हुन्छ । प्रकृतिको त्यो ताण्डव लीला हेर्न र त्यसको रहस्य थाहा पाउने चाहनाले त्यहाँसम्म पुग्दा आफूलाई निकै भाग्यमानी पनि ठानेँ । विभिन्न देशको यात्रा गर्दा संग्रहालय, कला, संस्कृति, प्रकृति, समुद्र आदिमा रमाएको मन त्यस खतरनाक स्थानमा पुग्दा डर मिश्रित रमरमे आनन्दमा थियो ।
प्रकृतिको चक्र र लीला अचम्मको छ । भोल्केनोलोजिस्टका अनुसार, पृथ्वीको सतहमुनिको ऊर्जा अर्थात् जियोथर्मल इनर्जीका कारण चट्टान पग्लेर तरल र ग्याँससम्मको अवस्थामा पुग्छ । पृथ्वीको सतहमुनि पग्लिएर रहेको चट्टानलाई म्याग्मा भनिन्छ । अत्यन्त तातो म्याग्माले दबाब उत्पन्न गर्ने गर्छ । र, त्योमाथि आउने प्रयास गर्छ । म्याग्मा बाहिर निस्किँदा पृथ्वीको माथिल्लो सतह फाट्छ । मुनिबाट आउने अत्यधिक दबाबका कारण म्याग्मा विस्फोटक तरिकाले बाहिर निस्कन पुग्छ । ज्वालामुखी विस्फोटनको समयमा चट्टानका टुक्रा, धुलो, ग्याँस, खरानी, वाफ र तातो लाभा आकाश तर्फ तीव्र गतिमा निस्किन्छन् । त्यही म्याग्मा पृथ्वीको सतह बाहिर आएपछि त्यसलाई लाभा भनिन्छ।
ज्वालामुखी विस्फोटनलगत्तै अन्य प्राकृतिक उथलपुथल पनि सँगसँगै हुने गर्छन् । भूकम्प, बाढी, सुनामी, पहिरो, अम्ल वर्षा, आगलागी आदि ज्वालामुखी विस्फोटनका सहउत्पादन हुन् । पृथ्वीमा अस्तित्वमा रहेका पहाड, तराई, समुद्रमुनिको पहाड सबै ज्वालामुखी विस्फोटनको नतिजा हुन् । ज्वालमुखीबाट निस्केको ग्याँसले वायुमण्डलको रचना भएको मानिन्छ । लाखौं वर्षदेखि भइरहेका त्यस्ता विस्फोटनले पृथ्वीको धरातल र भौगोलिक अवस्थामा परिवर्तन ल्याइरहने कुरा भोल्केनोलोजिस्टहरूले बताएका छन् । उसो त नियमित रूपमा ज्वालामुखी विस्फोटन शुक्र, बृहस्पति र मंगल ग्रहमा पनि हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
‘खै त भोल्केनो ? ,’ सानो छोरा सुयशले माउन्ट भेसुभियसको गहिरो खाल्डोमा हेर्दै सोध्यो ।
‘यही त हो ।’ मैले जवाफ दिएँ ।
ऊ मेरो जवाफले सन्तुष्ट भएन । प्रचण्ड तातो भट्टीमा भत्भती पाकिरहेको चट्टानको तरल रूप प्रत्यक्ष हेर्न पाइने भन्ने उसले बुझाइ रहेछ । ज्वालामुखी पहाडबाट धुवाँसहित निस्किरहेको लाभा र रोमाञ्चकारी विस्फोटन प्रक्रिया टीभीमा देखेकाले उसले त्यस्तो सोचेको रहेछ ।
खतरनाक माउन्ट भेसुभियसमा सन् १९४४ मा ज्वालामुखी विस्फोटन भएपश्चात् अर्को विस्फोटन भएको छैन । त्यसबेला भएको विस्फोटनले खासै मानव क्षति पुर्याएन । तर, दोस्रो विश्वयुद्धको समयमा नेपल्सको पोम्पेइमा अखडा जमाएको अमेरिकी गठबन्धन सेनाको लडाकु जहाजलाई भने धेरै क्षति गरेको थियो । उक्त विस्फोटनको समयमा तिनका ८० वटा जहाज ध्वस्त भएछन् । तर, सन् ७९ मा भएको विस्फोटनबाट निस्केको लाभा र ग्याँसले नजिकको सानो नगर पोम्पेई र हर्कुलेनियममा ठूलो क्षति पुर्याएछ । त्यतिबेलाको समृद्ध नगर पोम्पेई नष्ट भयो । तत्कालीन समयमा २० हजार जनसंख्या भएको त्यो सहरको केही भाग ज्वालामुखीबाट निस्केको तातो खरानी र चट्टान पाँच मिटर माथिसम्म थुप्रिँदा पुरिएछ । प्लनी द योंगर नामका रोमन प्रशासक, लेखक तथा कवि उक्त ज्वालामुखी विस्फोटनको प्रत्यक्षदर्शी रहेछन् । उनले आफ्नो साथीलाई लेखेको चिठीमा त्यहाँको दर्दनाक र कारुणिक दृश्य वर्णन गरेका छन् ।
त्यसबेला ज्वालामुखी विस्फोटन हुँदा निस्केको २५० डिग्री सेल्सियस तापक्रम निकै परसम्म फैलिएको थियो । अत्यधिक तापका कारण थुप्रै मानिस मरे । मरेका मानिसलाई घरको भित्तामा सिमेन्ट र बालुवाले प्लास्टर गरे जस्तै तातो लावा र खरानीले ढाकेछ । वातावरण चिसिँदै गएपछि ती मानव शरीर पत्थरले ढलाई गरेका मूर्ति बन्न पुगे । त्यो कहालीलाग्दो इतिहास थाहा पाउँदा मेरा हातखुट्टा लुला भए ।
कष्टकर मृत्युको अन्तिम सास लिएका मानिसहरू पत्थर बनेको बीभत्स दृश्य माउन्ट भेसुभियसको पसलमा बेच्न राखेको पोस्टकार्डमा देख्दा मन रोयो । चट्टान पग्लिएर बनेको तातो र बाक्लो झोलले ढलाई भएर मूर्ति बनेका मानिसका कारुणिक दृश्य हेर्न पोम्पेईको म्युजियममा घुइँचो लाग्ने गर्छ । समय अभावका कारण छोटो दूरीमा रहे पनि म्युजियममा जान सकेनौं । जान नपाएकोमा खासै पछुताउ पनि लागेन । त्यहाँ पुगेको भए ज्वालामुखीले पत्थर बनाएका मानिसका हृदयविदारक आकृति देखेर सायद हामी पनि मूर्तिवत् हुन्थ्यौं ।
माउन्ट भेसुभियस युरोपको सक्रिय र सबैभन्दा खतरनाक ज्वालामुखी हो । वैज्ञानिकका भाषामा त्यो अहिले सुतिरहेको छ । उता ३० लाख मानिस पनि त्यही ज्यानमारा ज्वालामुखी माथि मस्तसँग सुतिरहेका छन् । ज्वालामुखी उठ्नुभन्दा पहिले मानिसहरू उठे भने त ठीकै छ नत्र मानिसहरू फेरि पत्थर हुनेछन् । सो कुरा थाहा पाएका वा नपाएका लाखौं पर्यटक बाह्रैमहिना त्यो ज्यानमाराको मुख हेर्न जान्छन् । अरूको के कुरा गर्नु ? त्यसको स्वरूप र रहस्य थाहा पाउन चाहनेको भीडमा हामी पनि मिसिएका थियौं । कुनै पनि बेला ज्यान जान सक्ने कुरा थाहा हुँदाहुँदै पनि मस्तले बसेका नेपल्स सहर आसपासका मानिस धेरै साहसी लागे ।
निकैबेर लगाएर ज्वालामुखी पहाड हेर्यौं । त्यो ज्यानमारा पहाडको आरोहण सकिसकेका थियौं । ज्वालामुखीको मुखलाई पटकपटक सुम्सुम्यायौं । पृथ्वीको गर्भबाट निस्केर यत्रतत्र लडिरहेको पत्थरलाई स्पर्श गर्यौं । त्यो पहाडको काखमा बसेको नेपल्स सहर र त्यसलाई स्पर्श गरिरहने समुद्रलाई धीत मरञ्जेल नियाल्यौं । हेर्न र बुझ्न केही बाँकी थिएन । फर्कने कुरा हुँदै थियो । जानुअगाडि ज्वालामुखी पहाड भेसुभियसलाई एक फन्को लगाउनुपर्छ भन्ने कुरा कृतिशले राख्यो ।
‘के थाहा, हेर्दाहेर्दै ज्वालामुखी विस्फोटन पो हुने हो कि ? चट्टानको बाक्लो तथा तातो झोल लाभाले ढलाई भएर पत्थर पो बनिने हो कि ? लु हुँदैन यहाँबाट चाँडै निस्कौं ।’ सञ्जुले ज्वालामुखी विस्फोटनभन्दा पनि डरलाग्दो सन्त्रास फैलाइन् ।
ज्यानमारा ज्वालामुखीले हाम्रो ज्यान नलियोस् भनेर छिटछिटो पहाडबाट तलतिर झर्यौं ।