जसले गोरेटोलाई बाटो बनाए
चियाको वाफसँगै आकासिँदै गरेको गफमा एकाबिहानै मस्त हुन्छन् उनी चिया अड्डातिर । जागिरे टन्टा भ्याएपछि कफी कर्नरतिर गफ्फिन पुग्ने उनै हुन् । अनि साँझ ढलेपछि मदिरागृहतिर कविता र पछिल्लो वाद (विवाद) विषयमा चर्काचर्की थप्न सामेल हुने पनि उनै हुन् । उनी हुन्, प्रतिनिधि ती
फुर्सदिला पुरुष झुण्डका । लाग्छ, समय त उनीहरूकै इशारामा चल्ने रहेछ । वाह ! सबैतिर हक दाबी गर्न भ्याइदिने ।सायद ईष्र्यालु हुँदै छ मेरो मन ।
भान्सा राज्यको क्लियोपाट्रा उनी । उनको शासन सुरु हुन्छ, चिया कफीको बेड सर्भिसबाट । हतारहतारमा पूरा गर्नुपर्ने परिवारको खानाको टन्टा, बच्चाको खाजापानीको तयारी पनि उनै महारानीको जिम्मामा छ । चिटिक्क बनाइएका नानीहरूलाई भने स्कुल छाडिदिन खासै अफ्ठेरो मान्दैनन् घरमूली । अनि हतारको लतपत मेकअपमा अड्डामा हाजिर हुन पुग्नुपर्ने पनि उनैले हो । साँझ सीधै घर, त्यसपछि सुरु हुन्छ फेरि भान्सा राज्यको शासन । यो हो, एक पढालेखा महिलाको दैनिकी ।
यस्तो गन्जागोल र हतार हतासको जिन्दगीमा पढलेख गर्न चाहने महिलाको हालत के होला ?मन कटक्क काट्छ ।लेखनका लागि प्रशस्त घुमफिर, अनेकन अन्तरक्रिया गर्न भ्याउने एक स्वतन्त्र मस्तिष्क र सधैं चुलाचौकाको जिम्मेवारी र कामको पेलानले लखतरान रहने भारी दिमाग के समान रूपमा सिर्जनाकर्ममा लाग्न सक्ला ?बारम्बार घोचिरहने प्रश्न यही भएको छ अचेल ।
महिला साहित्यकारको लेखनबारे तेस्र्याइने विभिन्न प्रश्नको जवाफमा निकै अग्लो बनेर उभिन्छन् उनीहरूको परिवेश, अवस्था, जिम्मेवारी र अनेकन सामाजिक मान्यताहरू । निकै फराकिलो भइसकेको आजको सामाजिक परिवेशका महिलाले त अनेकन बाधा व्यवधान झेल्नु परेको छ भने अघिल्ला पुस्ताका महिला साहित्यकारले के कस्ता अप्ठ्यारा झेल्नु पर्यो होला ? उहाँहरूका अनुभूति सुन्दा लाग्छ, हामी त निकै नै सहज यात्रामा रहेछौं ।
कथा बाँचेकी माया
‘म त बाल श्रमिक, सातआठ वर्षकै उमेरबाट कमाउने र घरलाई हेर्ने गर्थें । कसैले दिएको पूरा खाएर हुर्किएँ ।’उनको यस्तो अनुभूति सुनेपछि एकैछिन अघिसम्मको चञ्चल माहोलमा एकाएक निस्तब्धताको कुहिरो मडारिन थाल्छ । प्रश्निल आँखाहरू उनैतिर तेर्सिन्छन् । आह्वान समूहको एक कार्यक्रममा उनी पोख्दै हुन्छिन् आफूलाई डामिगएका विगत पलहरू ।
विश्वास गर्नै कठिन । आज नेपाली साहित्यमा विशिष्ट स्थान बनाएकी वरिष्ठ कथाकार माया ठकुरीको विगत यति असहज ! उनी आफ्ना बाल्यकालका अप्ठ्यारा समय बोल्दै थिइन् । पोखिँदै थिए उनका जीवन र लेखनका भोगाइहरू ।
सम्झन्छु, त्यो एक अपराह्न जहाँ मैले पाएकी थिएँ भव्य आत्मीय स्वागत उनकै निवास धोबीघाटमा । नीलो बुट्टे सारी र उनको ब्रान्ड बनिसकेको ठूलो टीकामा सजिएकी माया दिदी, चिटिक्कको निवास, टेबलभरि हाम्रै लागि उनले बनाएका अनेक परिकार । यतिखेर उनको अभावग्रस्त बाल्यकाल र अर्काको पूरा खान पाउँदा खुसी भएको अनुभूति सुन्दा लाग्छ जीवन गुजुल्टाहरूले भरिएको हुँदो रहेछ । हरेक गुजुल्टामा एउटा एउटा रहस्य लुकिबस्दो रहेछ ।
गाह्रो समय भए पनि उनले योगदान दिएकी हुन् पोखरेली युवा सांस्कृतिक परिवारको जग बसाल्न । तर, पुरुष सहयात्रीको नाम बारम्बार आइरहँदा उषा शेरचन भने नेपथ्यमै कतै बिलाउँछिन् ।
औपचारिक शिक्षा पाइनन् उनले । समय त्यस्तै थियो । अभाव, गरिबी अनि अनेक समस्याले भरिएको । घरधन्दा र नानी हेरिदिएबापत घरमै लेखपढ गराइदिने वाचा गरे एक स्कुल मास्टरले । भोलिपल्टैबाट उनी भर्ती भइन् त्यहाँ एक बाल श्रमिकका रूपमा । घरको सारा धन्दा भ्याइसकेपछि अलिकति बाँचेको समय रहन्थ्यो पढ्नका लागि । आफ्ना दौंतरीहरू कालो पाटी बोकेर विद्यालय गइरहँदा उनी भने अर्काको नानी स्याहार्दै हुन्थिन् । पढ्ने उत्कट आकांक्षा र ती मास्टरको सहयोगले एकैचोटि हाइस्कुलको परीक्षा दिइन् । स्कुले परीक्षामा पाएको सफलता जीवनमै नयाँ मोड बनेर आइदियो ।
अभाव र गरिबीको चपेटामा बितेका बाल्यकालका देखाइ, भोगाइ नै बने उनका कथाका विषय । पेचिलो जीवन संघर्षले उनलाई सामाजिक विषयकेन्द्रित बनाइदियो । क्याफेमा चुरोट र कफीसँग रंगिँदै स्वैरकल्पनाको उडान उनको भागमा थिएन । जीवन संघर्षले त उनलाई विद्रोही बनाइदिएको थियो । त्यसैले उनका पात्र नजानिँदो पाराले विद्रोहमा उत्रन्छन् । नपत्याउँदा महिला पात्र पछि भयंकर विद्रोही भइदिन्छन् । उनी भुइँमान्छेका कथा टिप्छिन् अनि पक्षमा उत्रिन्छिन् उनै सीमान्त पात्रहरूको ।
उमेरले सत्तरी काटिसक्दा पनि उनको कलमले थाक्न जानेको छैन । लेखिरहेकै छिन् कथाहरू । ‘आमा जानुस्’ लगायत निकै चर्चित कथासंग्रह सहितले उनले नेपाली साहित्यमा नमेटिने गरी आफ्नो नाम लेखाइसकेकी छन् । बेवास्तामा परेका विषय पनि उनको हातमा परेपछि झट्का दिने कथा बनिजान्छन् । उनी साँच्चै नै कुशल कथाकार हुन् । तर, आजको स्थापित कथाकार माया ठकुरीले पार गरेर आएकी छन् अनेकन सकसपूर्ण समय । धेरै अघिको अप्ठेरा ती गोरेटाहरू सम्झँदै गर्दा उनी एकपटक भावुक हुन्छिन् । उनको गला अवरुद्ध हुन्छ ।
उइचा जलेश्वरी
बजै बितेको एक वर्षमै बाजेले अर्की बजै भित्याए । तर, त्यही घरमा काका बितेको धेरै भइसक्दा पनि काकी उसैगरी घर सम्हालेर बसेकी थिइन्, एक्लै । उनलाई सनक चल्यो र बाजेलाई सोधिन्, ‘तपाईंले त नयाँ बजै ल्याइहाल्नु भो, काकीले चाहिँ किन बिहे नगरेको ? ’
जवाफस्वरूप कान रन्काउने एक थप्पड साथै नयाँ नाम पाइन्, उइचा अर्थात् बहुलाई । उही उइचा मैंचा हुन् आजकी स्थापित साहित्यकार जलेश्वरी श्रेष्ठ।
दिनहुँ देखिने असमान व्यवहारले खुब पीडा दिन्थ्यो उनलाई । मन हलुका पार्न भए पनि उनी बोलिहाल्थिन् । खानामा भाइले पाउने अन्डाबारे होस् वा विद्यालय जाने विषयमा सधैं बोलिन्, आवाज उठाइरहिन् । महिनावारी हुँदा बार्नुपर्ने, लोग्नेमान्छेले घरमा पहिले भात खाने र उनीहरू ढिला आए पनि आमा र काकीहरू कुरी बस्ने जस्ता सामान्य ठानिने प्रसंगले पनि उनलाई आक्रोशित बनाउँथ्यो । उनी आवाज उठाइहाल्थिन् । परिणाममा उनलाई जीवनको एक चरणसम्म ‘बहुलाई’ नै सम्बोधन गरियो ।
जीवनले पैंसट्ठी खुड्किला उक्लिसकेको छ । उनको मीठो नेवारी लवज भरिएको बोलीमा उत्साह भने कायम नै छ । प्रत्येक कार्यक्रममा चिटिक्क मिलेको साडी र शिरमा फूल सिउरेर पुग्ने यी नेवार्नी दिदी सामाजिक सरोकारका मुद्दामा निकै चासो राख्छिन् । उनको लेखनको सुरुआत नै मातृत्वको अधिकार र आमाको नामबाट नागरिकता पाउनुपर्छ भनी वकालत गरिएको लेखबाट सुरु भएको थियो ५७ सालतिर । आफ्नै पनि दुई छोरीमात्र भएकाले घरकाले सम्पत्तिको बाँडफाँटमा किचलो गरेको प्रसंग उनी उप्काउँछिन् । तर, आफूले डटेरै बराबर अंश लिएको कुरा भन्दै गर्दा सन्तोषको एक लहर मुस्कान फुस्किन्छ उनको ओठबाट । जुझारु र विद्रोही स्वभाव प्रत्येक प्रसंगमा झल्किएकै कारण आजकल उनका नातेदारहरूले भन्ने गरेका छन्, ‘जलेश्वरी कहाँ पहिलेजस्तो हो र, ऊ त बदमास भइसकी ।’
बहुलाईदेखि बदमाससम्मको ट्याग भिरेरै पनि निरन्तर बोल्दैछिन् । आजकल त अझ खुलेरै सामाजिक र मनोवैज्ञानिक कथाहरू लेख्न थालेकी छन् । अधबैंसेहरूको प्रेम, सम्बन्ध र मनोभाव उतारिएका शक्तिशाली कथाहरू लेखेकी छन् पछिल्लो समय । उनलाई लेख्नका लागि केही अप्ठेरो छैन आजकल । जसले जे भने पनि अब केही लाग्दैन । उमेरमा घरमा निकै कडा शासन र निगरानीमा रहिन् । बिहेपछिको घरको शासन, श्रीमान्को खटनपटन् भनिसाध्य नै छैन । लेख्नेपढ्ने वातावरण नै रहेन । समय सँगसँगै केटाकेटी हुर्किएपछिका फुर्सदिला समय र विभिन्न सामाजिक असमानताले घोचिरहेको बखत उनले तिनै मुद्दाहरू लेख्न थालिन् । आफूभित्रको उकुसमुकुस व्यक्त गर्ने उपयुक्त माध्यम बनिदियो लेखन ।
घरकै साहिँला बाजेले कान्छी पत्नी भित्याए । जेठी बजैबाट कुनै सन्तान भएन । उनी एक्लो र निरस जीवन बिताउन बाध्य भइन् । पछि बुझ्दा थाहा भयो, बाजेले अर्की दुलही ल्याएपछि उनीसँग कहिल्यै सम्बन्ध नै राखेनछन् । त्यही पीडालाई टिपेर उनले ‘नियति चक्र’ लेखिन् । महिलाको पीडालाई केन्द्रमा राखी लेखिएको एक सशक्त उपन्यास हो यो ।
ती गाह्रा अप्ठ्यारा समय पार भएपछिको शान्त समय बिताउँदैछिन् अचेल उनी । तर, विद्रोहको आगो त कहाँ निभेको छ र ? स्वभाव उस्तै विद्रोही छ । भन्छिन्, ‘बेथितीले विद्रोह जन्माउँदो रैछ । महिलाप्रतिको असमानता र विभेदले दिएको पीडा र उमारेको विद्रोहले नै मलाई लेखक बनाएको हो ।’
नेपथ्यमा धकेलिएकी उषा
अघिल्लो र अहिलेको पुस्ता जोड्ने सेतु हुन् उनी । बुट्टेदार सारी र कालो चस्मा बनिसकेको छ उनको ब्रान्ड । उनको आत्मीयता र अनुज पुस्ताको लागि उर्लिने प्रेम पनि उत्तिकै महसुस हुन्छ । सबैकी प्रिय उनी हुन्, उषा शेरचन ।
‘साहित्यमा लाग्नु भनेको लागूऔषध सेवन गर्नुजस्तै थियो’, आह्वान कार्यक्रममा उनको यो भनाइले सन्नाटा सिर्जना गरिदिन्छ । साथीभाइबाट लुकीचोरी ड्रग्सजस्तै पास गरिएका किताब रातभरमा पढी भ्याउँथिन् उनी । अचम्मको साहित्यिक भोक थियो उनीभित्र । तर, सहज थिएन समय । विद्यालयमा शिक्षकले पनि साहित्य पठनमा रोक लगाउँथे । त्यसमाथि आजभन्दा ४०÷५० वर्षअघिको समाज महिलाका लागि कति अनुदार थियो कल्पना गर्न सकिन्छ । ‘त्यसो त आजै पनि कति पो सहज छ र ? ’, उनी प्रश्न तेस्र्याउँछिन् ।
एकातिर लेखन पठनको भोक, युवा जोश अनि अर्कोतिर घर र समाजको निरन्तरको अंकुश । उनी हैरान हुन्थिन् । कसको घरमा के पाक्यो भनी चाल पाइने त्यस बेलाको साँघुरो पोखरामा उनलाई निकै हम्मे भएथ्यो आफूभित्र अंकुराएको साहित्यको मुनालाई मलजल गर्न । तर, पछि हटिनन् । तत्कालीन समाजमा रहेका महिलाप्रतिका कठोर सामाजिक बन्धनलाई चुनौती दिइन् उनले । ती एकखाले असन्तुष्टि र सुषूप्त विद्रोह उनका कथामा पनि टिपिएका छन् । नेपालको हिमाली भेगमा रहेको बहुपति प्रथाको विषय र पाँच पतिकी साझा श्रीमतीको पीडालाई उनले ‘अर्को क्षितिज’ नामक कथामा व्यक्त गरेकी छन् ।
अनेकन परम्पराको नाममा बारम्बार शोषण र पीडामा महिला परेको सन्दर्भले उनलाई बिथोलिरहन्छ । तिनै घटनालाई उनले आफ्ना कथा, गीत र मुक्तकका विषय बनाउँछिन् । उनको ‘तेस्रो रङ’ नामक कथासंग्रहले समाजमा विद्यमान अनेकन रूढि मान्यताप्रति व्यंग्य गरेको छ ।
वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठसँगै पोखरेली युवा सांस्कृतिक परिवारका लागि काम गरेकी हुन् उनले । गाह्रो अप्ठेरो समयमा पनि निरन्तर साहित्यमै लागिरहनु र आजका दिनमा अझ बढी सक्रियतासाथ अनुजहरूलाई प्रोत्साहन दिन प्रत्येक कार्यक्रममा पुग्नु नै उषानेस हो । उनको उदार भाव र साहित्यप्रतिको लगाव नै हो उनको पहिचान ।
‘बाटो आफैंले बनाउने हो, समाजले छेक्यो भन्दैमा छेकिन जरुरी छैन’, उनको वाक्यमा उनले गरेको संघर्षको झल्को आउँछ । एउटा लामो अनुभवको सार हो यो । कताकता असन्तुष्टि पनि झल्किन्छ उनको सौम्य अनुहारमा ।
स्रष्टामा लोग्नेमान्छे र स्वास्नीमान्छे भनी छुट्याउन नहुने भए पनि फेरि यी दुईका भोगाइ फरक हुन्छन् । त्यसैले उनका लेखाइमा पनि भिन्न स्वाद हुन्छ । तर, अझै पनि हाम्रो समाजमा आइनसकेको उदारपनाप्रतिको उनको गुनासो छ । गाह्रो समयमा पनि उनले योगदान दिएकी हुन् पोखरेली युवा सांस्कृतिक परिवारको जग बसाल्न । तर, पुरुष सहयात्रीहरूको नाम बारम्बार आइरहँदा उषा शेरचन भने नेपथ्यमै कतै बिलाउँछिन् ।
यो चिन्ता र चिन्तन दुवैको विषय हो— महिलाहरू कसरी इतिहासबाट विमुख हुन्छन् र नेपथ्यमै हराइजान्छन् ।
यात्रा समानताको
सामाजिक इतिहासका पुस्तक र प्रतिवेदनमा समय फेरिएको फेहरिस्त छ । तर, महिलाका लागि समय सुगम बनिसकेको छैन । हिजोको असमानताको बाक्लो कुहिरो थोरै भए पनि हटेको भने अवश्य नै हो । आर्थिक उन्नतिसँगै समाजको उदारीकरणको ग्राफ पनि उकालो लागेकै हो । तर, समाजको जगमा बसेका जड मानसिकता अझै हल्लिएका छैनन् । महिला र पुरुषबीच विद्यमान विभेदका अग्ला पर्खाल होचिने क्रममा छन् तर सकिएका छैनन् ।
यो विभेद अझै कायम छ साहित्य जगत्मा पनि । हो, अघिल्लो पुस्ताका महिला साहित्यकारले निकै अप्ठेरो गोरेटो पार गरेर एउटा स्पष्ट बाटो बनाइदिएका छन् । आजका पुस्ता त्यही बाटो समाई आआफ्ना साहित्यिक यात्रामा निस्केका छन् । समयसँगसँगै चुनौतीहरू त थपिँदै जान्छन् नै । अबको यात्रा प्रतिस्पर्धी समयसँग पौंठेजोरी खेल्दै समान अवसर र वातावरण निर्माणतर्फ हो ।