लेन्सभित्र बाघ
बिहान साढे पाँच बजेतिर उठ्यो । खानाको प्याकेट बोक्यो । ६ बजेदेखि बेलुका ६ बजेसम्म ड्राइभरसँगै जिपमा जंगल घुम्यो । चितवन राष्ट्रिय निकुञ्जमा ६ दिन बिताउँदा पनि बाघको अनुहारसम्म देख्ने मौका नपाउँदा एक प्रकारको हैरानी छाइसकेको थियो । छैटौं दिनको साँझपख करिब एक किलोमिटरभित्र केही दृश्य चलायमान भएको देखियो ।
मैले हतार-हतार दुर्बिनबाट हेरेँ । वाह ! यो त बाघ हो । क्यामेराको लेन्सले नभ्याउने दूरीमा भएकाले मैले ड्राइभरलाई झाडीतिर जिप कुदाउन भनेँ । विडम्बना ! त्यहाँ पुग्दा बाघ गायब भइसकेको थियो । यद्यपि मेरो दिक्दारी हटिसकेको थियो । मनमा स्फूर्ति पुनर्जीवीत भइसकेको थियो।
दसौं दिन सधैंजस्तै हामी जंगल सफारीमै थियौं । केही चिजको कडा गन्ध मेरो नाकमा पर्यो । मैले दुर्बिनले यताउता हेरेँ । नजिकैको झाडीबाट बाघले मलाई नै हेरिरहेथ्यो । तुरुन्तै मैले उसलाई क्यामेराको लेन्समा कैद गरिहालेँ । केही घण्टा त्यही बाघलाई पछ्याएर र थप फोटोहरू खिचेरै बिते।
खुला खालको जिपमा बसेर सालको घनाजंगल चिर्दै बाघलाई पछ्याउँदै घाँसेमैदान र पोखरीहरूको वरिपरि चहार्नु जाडो महिनामा सहज थिएन । मुटु नै कमाउने तराईको शीतलहरले थप हैरानी दिन्थ्यो ।
बाघको फोटो खिच्नु कम डरलाग्दो थिएन । एकपटक त बाघ मेरो निकै नजिक थियो । र, म जिपको पछाडि खुला भागमा थिएँ । भयानक अनुहार भएको बाघले मलाई लडाइँमा जान तयार क्रोधित योद्धाले जस्तै हेरिरहेथ्यो । र, त्यहीँ क्रोधजन्य अनुहारमै उसको सौन्दर्य पूर्ण रूपमा झल्किरहेथ्यो । जेहोस्, वर्षौंदेखिको चाह, मेहनत, धैर्य र गर्न सकिन्छ भन्ने विश्वासले मलाई बाघको त्यो क्रोधजन्य सौन्दर्यलाई क्यामराको फ्रेमभित्र कैद गर्न सघाउ पुर्यायो ।