हाम्रो सोचको आयतन कत्रो ?
मेरा प्रिय लेखकहरू,
तपाईंहरूको हृदय अत्यन्तै ठूलो छ । कम्तीमा पनि नेपालका राजनीतिकर्मीको भन्दा ठूलो र विशाल ! त्यति ठूलो हृदय नहुने हो भने तपाईं कसरी यत्ति राम्रा सिर्जना गर्न सक्नुहुन्छ !यसो भन्दाभन्दै पनि विस्तारै हाम्रा लेखकहरूको हृदय सानो र संकुचित हुँदै गएको छ भन्नुपर्दा थुप्रै लेखक मसँग रिसाउन सक्छन् । तर, वास्तविकता यही नै हो ।
जब हामी जन्मजात प्राप्त उत्कृष्ट हृदय सामान्य स्वार्थपूर्तिका निम्ति खुम्च्याउँदै जान्छौं, तब हाम्रो सोचको आयतन कत्रो होला ? २०७३ सालको फागुनमा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा त्यहाँका प्रख्यात कवि सीताकान्त महापात्रले कुराकानीका क्रममा मसँग सोधे- ‘तिम्रो देशको एकजना स्तरीय लेख्ने र अभिभावकजस्ता साहित्यकारको नाम भन त मलाई !’ कथा, कविता, उपन्यास लेखिरहेको जीवित लेखकको नाम उनले जान्न चाहेका थिए । उनलाई जवाफ दिन सकिनँ । धेरै नाम सोचेँ, मेरो दिमागमा थुप्रै लेखक-साहित्यकारका अनुहार नाच्न थाले । तर, ‘सबैको लेखक’ बन्न सकेको र गुट-उपगुटमा अनावद्ध कुनै पनि साहित्यकार छान्न सकिनँ र प्रश्नलाई अर्कैतिर मोड्ने प्रयत्न गर्न थालेँ । कान कम सुन्ने महापात्रले दुई-तीन पटक नै मलाई सोधिरहे ।
मेरो देशको ठूलो हृदय भएको लेखक म खोज्न थालेँ, तर पाउन सकिनँ । मुलुकको सरकारले पत्याएको नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञका नाम र अनुहार सरसर्ती सम्झनामा आए, तर तिनको निधारमा राजनीतिक दलको झन्डा नाचिरहेको देख्न थालेँ । ती लेखक कम र राजनीतिक दलको कार्यकर्ता बढी देखेँ।
नामका सूची अरू पनि आए सम्झनामा । कोही नेपाली कांग्रेस, कोही एमाले, कोही माओवादी त कोही दक्षिणपन्थी ! कोही मधेसी त कोही पहाडे, कोही महिला त कोही पुरुष, कोही दलित, कोही जनजाति, कोही बाहुन लेखक ! मैले सग्लो र विशुद्ध ‘लेखक’ पाउनै सकिनँ । राज्यले स-सम्मान विभिन्न उपाधि र मासिक उपदान दिएका केही लेखक पनि सम्झेँ, मुलुक आन्दोलनको भुमरीमा परेका बखत तिनको निष्क्रियता वा आन्दोलनविरोधी आवाज गुञ्जन थाल्यो मेरो कानमा । सधैं सत्ताको वरिपरि घुम्ने लखेक पनि के जनता (सबै) का लेखक भन्ने विचार बलियो बन्यो मेरो मानसिकतामा । लेखक त सधैं प्रतिपक्षी हुनुपर्छ भन्ने सोच अद्यापि मभित्र बलियो छ ।
के साँच्चै नेपाली साहित्य अभिभावकविहीन अवस्थामा पुगेको हो ? के लेखक कुनै एउटा राजनीतिक दलको विचारको दास हुन सक्छ या ऊ त्यो भन्दा माथि उठ्न सक्नुपर्छ ? यो प्रश्नको उत्तर मैले दिइरहनु आवश्यक छैन । नेपाली साहित्य बजारमा अहिले देखिएका अनुहारहरूले नै बताउँछन् । जब लेखक कुनै दलमा आबद्ध हुन्छ तब उसले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने हैसियत गुमाइसकेको हुन्छ । यसो भन्न उसले एकपटक आफ्नो दल सम्झनुपर्ने हुन्छ, नेतालाई सोध्नुपर्ने हुन्छ । आफ्नो दल वा समान विचारको मान्छेको रचना रहेछ भने त्यो झुरै भए पनि राम्रो भन्न ऊ विवश हुन्छ ।
भन्नका लागि भन्दिनु र तर्कसंगत ढंगमा वादविवाद गर्नु फरक अवस्था हो । अघिल्लो पुस्ताका विश्वेश्वरप्रसाद कोइराला, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, मोहन कोइराला, ईश्वर वल्लभ, वैरागी काइँला, पारिजात, रमेश विकल, भूपि शेरचन, गोविन्द गोठाले, विजय मल्ल, वासु शशीलगायतलाई नेपाली साहित्यको देखाउन लायक अनुहार मान्न सकिन्छ । तर, तिनका रचनालाई महान् भन्ने जति छन्, झुर भन्ने पनि कम छैनन्।
यसको एउटै कारण हो, ती लेखकले आफूलाई ‘सबैको’ बनाउन सकेनन् या ती नेपाली साहित्यको अभिभावक बन्न सकेनन् । अथवा, तिनलाई पनि राजनीतिको झन्डामुनि ल्याउने प्रयास भयो, च्याउसरी खुलेका साहित्यिक संघसंस्था र गुटउपगुटले तिनलाई आफ्नो पक्षको देखाउने प्रयत्न गरिरहे । अरू त छाडौं, निधन भइसकेपछि पनि राजनीतिक झन्डा ओढाएर लेखकलाई सबैको बन्न नदिने खेल चलिरहेकै छ । विश्वेश्वरप्रसाद कोइराला, मोहन कोइराला, ईश्वर वल्लभ, पारिजात, रमेश विकल, भूपि, गोविन्द गोठाले, विजय मल्ल, वासु शशीलाई त सबैको बन्न दिऊँ न कृपया !
लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, गुरुप्रसाद मैनालीजस्ता ‘अल टाइम फेभोरिट’ लेखक नेपाली साहित्यले पाउन नसकेको लामो समय भएको छ । अचम्म, यिनलाई पनि बेलाबखत उनी प्रगतिशील थिए या प्रजातान्त्रिक अथवा राजावादी थिए भनी बिटुल्याउन खोजिन्छ !
किशोर पुस्ताको सानो हिस्सा नै भए पनि पढन्ते देखिएको छ । तिनले नेपाली साहित्यबारे जान्न-बुझ्न खोजिरहेका छन् । प्लस-टु पुस्ता पनि साहित्यप्रति लगाव देखाइरहेको छ । तिनलाई नेपाली साहित्यको अनुहार देखाउने बलियो आधार भनेको तिनले विद्यार्थीकालमा पढ्नुपर्ने पाठ्यक्रम हो । तर, दुर्भाग्य पछिल्लो समय पाठ्यक्रम पनि राजनीतिक भागबन्डामा निर्माण हुन थालेको छ । त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको विषय यहाँ वर्णन गरिरहनु आवश्यक छैन । विगतमा भन्दा पनि निकै कमजोर साहित्यिक रचना पढ्न बाध्य छ किशोर पुस्ता पाठ्यक्रममा । यो अवस्थाले समग्र नेपाली साहित्यप्रति एउटा पुस्ताको वितृष्णा उत्पन्न हुने खतरा बढाइदिएको छ ।
मुलुकको सरकारले पत्याएको नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञका नाम र अनुहार सरसर्ती सम्झनामा आए, तर तिनको निधारमा राजनीतिक दलको झन्डा नाचिरहेको देख्न थालेँ । ती लेखक कम र राजनीतिक दलको कार्यकर्ता बढी देखेँ ।
पाठ्यक्रम निर्माणका निम्ति बन्ने कमिटीका विद्वान्को हृदय यति सानो छ कि तिनले आफूलाई नियुक्ति गर्ने दलमा आबद्ध लेखकका रचना पाठ्यक्रममा घुसाउन भरमग्दुर प्रयत्न गर्दै आएका छन् । कतिपय त आफ्नै रचना समावेश गर्न पनि लाज मान्दैनन् ! जसरी प्रज्ञा-प्रतिष्ठान राजनीतिक दलको भागबन्डामा चल्दै आएको छ, पाठ्यक्रममा रचना पनि उसैगरी भागबन्डाका आधारमा समावेश गरिँदै आएको छ । कुनै पनि दलको झन्डामुनि नबसी, स्वतन्त्र रहेर स्तरीय ढंगमा साहित्य साधनामा तल्लीन लेखकका रचना पाठ्यक्रम निर्माताले एक पटक पढ्ने जमर्को पनि गर्दैन, पढे पनि त्यसलाई समावेश गर्न चाहँदैन ! यसले नेपाली साहित्यको भविष्य कति बिरूप बन्दै गएको छ भन्ने कुरा हामी सहजै अनुमान लगाउन सक्छौँ । किशोर मनोविज्ञानमा नेपाली साहित्यप्रति कस्तो सम्मान जाग्ला यो चिन्तनले ?
किशोर पुस्तामात्र होइन, यतिखेर नेपाली साहित्यका समग्र पाठक नै बडो रनभुल्लमा छन् । तिनलाई कुनै राजनीतिक दल, जात, क्षेत्र, लिंग, धर्मका दास लेखकका कृति पढ्न बाध्य पारिएको छ । उल्लिखित वर्गका लेखकले आआफ्ना स्वार्थका कुण्ठा लेखिरहेका छन् । कसैका कुण्ठा पढ्न पाठकले पैसा किन खर्च गर्नु ?
नेपाली पाठकले विशुद्ध साहित्यकारको रचना कहिले पढ्न पाउँलान् खै ? यसको अर्थ नेपाली साहित्य सबै नै कमजोर छ भन्न खोजिएको बिलकुलै होइन, पछिल्लो समय केही राम्रा कृति पनि आएका छन् । स्तरीय साहित्य बजारमा आउँदा पनि त्यसलाई कित्ताकाट गर्दै तेरो र मेरो भन्ने जुन संस्कार विकसित हुँदै गएको छ त्यसले नेपाली साहित्यलाई हानि मात्र गरेको छ । पाठकले लेखकको अनुहार, लिंग, जात वा उसको आबद्धता हेरेर पुस्तक किन्दैन ।
पाठक आफूले तिरेको पैसाको पूरापूर सदुपयोग होस् भन्ने चाहन्छ । पुस्तकबाट केही ज्ञान, आनन्द वा आश्चर्यबोध गर्न चाहन्छ पाठक । पढिसकेपछि तनाव नै भए पनि एकछिन मस्तिष्क हल्लाउने पुस्तकको खोजमा हुन्छन् पाठक । पुस्तक पढ्दै गर्दा लेखकले वर्णन गरेको लोकमा पुग्ने र पात्रसँग संवाद गर्ने चाहना पाठकको हुन्छ । पाठकको चाहना पूरा गर्न सक्ने लेखक नै सफल हुनेहुन् । यसकारण पनि लेखकको सम्बद्धता, उसको अवस्थालगायत बुझेर पुस्तक यदि कसैले किन्छ भने त्यो लेखकलाई दिएको चन्दा वा सहयोग हुन पुग्छ । सुन्दर अनुहार भएका लेखकको कृति पाठकले किन्ने भए त आज संसारका थुप्रै कलाकार लेखक भइसक्ने थिए ! पाठकको हृदय विशाल छ, तिनलाई आफ्नोभन्दा पनि अझै विशाल हृदय भएको लेखकको कृति पढ्ने इच्छा छ ।
संसारका थुप्रै लेखकले प्रगतिवाद वा वामपन्थतर्फ झुकाव राखेको देखिन्छ । एउटा कोमल हृदय भएको लेखकले दुनियाँमा जारी थिचोमिचो, विभेद, गरिबी तथा आवाजविहीनहरूको बोली बोल्न चाहनु उसको जिम्मेवारी नै हो । मान्छे, जमिन, समयको जानकारी नराखी लेखक कसरी अघि बढ्न सक्छ ? संसारका मुठ्ठीभर मान्छेका हातमा धेरै पैसा छ, यसरी धनको असमान वितरणले गरिबी चुलाइदिएको छ । धेरै पैसा हुनेले संसारकै राज्यव्यवस्था आफ्नो नियन्त्रण वा आदेशमा चलाउने र अन्याय गर्ने काम गर्दै आएका छन् । यही कारण संसार युद्धको भयबाट जहिल्यै आक्रान्त छ ।
जातीय, क्षेत्रीय, लिंगीय, धार्मिक तथा वर्गीय आधार र अल्पसंख्यकमाथि अन्याय अहिले पनि कायम छ । यसबारे नलेख्नु लेखक अचेत हुनु हो । यही कारण पनि कतिपय ख्यातिप्राप्त लेखक वाम विचारका अनुयायी बनेका देखिन्छन् । केही लेखक मान्छेको वाक् स्वतन्त्रका पक्षपाती बन्दै लोकतान्त्रिक विचारमा आबद्ध रहेका पनि देखिन्छन् । तर, तिनले पार्टीको सदस्यता नै लिएका छैनन्, केहीले लिएको देखिए पनि कालान्तरमा छाडेका छन्, स्वतन्त्र बन्न पुगेका छन् ।
पढन्ते नयाँ पुस्ता नेपाली साहित्यको अवस्था देखेर भड्किरहेको छ । तिनले पुराना अर्थात् क्लासिक नेपाली साहित्य राम्ररी पढ्न पाएका छैनन् । कतिपय राम्रा क्लासिक कृति कि त प्रज्ञा-प्रतिष्ठान कि त साझा प्रकाशनका अँध्यारा गोदाममा थन्किएर रहेका छन् । यसकारण समकालीन साहित्यबारे मात्रै तिनलाई जानकारी छ । उच्च माध्यमिक वा त्यसभन्दा माथिल्ला तहका विद्यार्थीलाई नेपाली क्लासिकबारे जानकारी दिनु आवश्यक छ । त्यसका निम्ति अहिले लेखिरहेको पुस्ता पुल बन्न सक्नुपर्छ ।
आफ्ना अग्रजलाई सम्मान गर्दै तिनका रचनाबारे पाठकलाई सकेसम्म बढी जानकारी दिने काम यो पुस्ताले गर्नुपर्छ । अहिलेको पुस्ता पनि भोलि पुरानो बन्छ । आज उसले पुलको काम नगर्ने हो भने भोलि आफ्ना निम्ति पुल कोही बनिदिने छैन भन्ने बुझ्नु अत्यावश्यक छ । र, पुल बन्दा हृदय विशाल हुनु जरुरी छ । अहिले वास्तवमै अघिल्लो पुस्ता, विश्वेश्वरप्रसाद कोइरालाको समय र समकालीन पुस्ताबीचको सम्बन्ध सेतु चुँडिएको अवस्थामा छ । त्यसलाई जोड्न नसक्ने हो भने नेपाली साहित्यको बाटो नै खण्डित हुन सक्छ । एकातिर यो पुस्ता बलियो पुल बन्ने र नयाँ पुस्तालाई आकर्षित गर्ने साहित्य लेख्न सक्ने हो भने अब हामी पनि लेखेरै बाँच्ने अवस्था बन्नेछ ।
गुट-उपगुट, टुच्चा राजनीतिको पुच्छर बन्ने तथा सिन्डिकेटको बलमा लेखक हुने संस्कार बस्नबस्न खोजेको छ । विखण्डन, तेरो-मेरो तथा विभाजनको बादल नेपाली साहित्य आकाशमा पनि घना बन्दै गएको छ । त्यसलाई तोड्ने एकमात्र उपाय लेखक स्वतन्त्र बस्ने र स्तरीय तथा रुचिकर लेख्न प्रयास गर्ने नै हो । लेखक पुस्तान्तरको सवालमा पुल बन्ने, राजनीतिक
(पार्टी विशेष) सन्दर्भमा स्वतन्त्र बस्ने हो भने राज्यव्यवस्थाको गलत व्यवहारका कारण उत्पन्न सामाजिक विखण्डनको सम्भावनालाई रोक्न सकिन्छ ।
लेखक केही वर्षको सरकारी नियुक्ति खाने लोभमा कुनै दलको पिछलग्गु हुनु सिर्जनाको हुर्मत लिनु हो, मानमर्दन गर्नु हो । लेखकको अनुहारमा उदाएका महा-उपमहा वा नगरपालिकाको मेयर, सांसद वा अन्य कुनै पदमा जाने आकांक्षा पालेर यदि कोही बसेका छन् भने तिनले साहित्यमा लागेर बेकार समय बर्बाद नगर्नु नै श्रेयष्कर हुन्छ । कोही कसैले भनिदेओस् कुनै लेखक आजका मितिसम्म राजनीतिक उच्च पदमा पुगेर स्तरीय साहित्य लेख्न थालेको ! आफूलाई लेखक भन्न चाहने कसैलाई त्यस्तो लोभ छ भने साहित्य लेखन छाडेर दलको घोषणापत्र लेख्नतिर लाग्नु फाइदाजनक हुन्छ । हाम्रा राजनीतिक दलमा शुद्ध, मानक नेपाली भाषामा स्तरीय घोषणापत्र लेख्न जान्ने नेता-कार्यकर्ताको सर्वथा अभाव छ ।
यसको अर्थ लेखकले राजनीति, अर्थनीति, विज्ञान, गणित, समाजको गति बुझ्नै हुन्न भन्ने चाहिँ बिलकुलै होइन । लेखकले सकेसम्म बढी विषयमा ज्ञान राखेको राम्रो । तर, त्यो ज्ञान कुनै राजनीतिक दल विशेषको स्तुतिमा प्रयोग हुनु हुन्न भन्ने मान्यता मेरो हो । वर्तमानको प्रतिकूल अवस्थामा पनि नयाँ पुस्ताका थोरै राम्रा लेखकले स्वतन्त्र अनुहार बनाउने चेष्टा गर्दै आएका छन् । ती साहित्यरूपी आकाशमा लागेको कालो बादलमा टुप्लुक्क देखा परेको चाँदीका घेरा हुन् । तिनको हृदय ठूलो छ र तिनका कृतिलाई पाठकले स्वागत पनि गरिरहेका छन् ।