वर्षका यी सर्वोत्कृष्ट

वर्षका यी सर्वोत्कृष्ट

मैदानको प्रतिस्पर्धा समाप्त भएपछि फुटबलरबीच फेरि एकपटक वर्षकोे सर्वोत्कृष्ट बन्नका लागि प्रतिस्पर्धा हुने गर्छ, जसको रोमाञ्चले विश्व फुटबल जगत्लाई नै तरंगित तुल्याउने गर्छ । फिफाका दुई सयभन्दा बढी सदस्यराष्ट्रका मुख्य प्रशिक्षक र कप्तान, छनोट गरिएका सीमित खेल पत्रकार अनि समर्थकहरू खेलाडी बन्ने मैदानबाहिरको यो प्रतिस्पर्धाले वर्षको सर्वोत्कृष्ट एक खेलाडीको टुंगो लगाउने गर्छ ।

यस रोमाञ्चक प्रतिस्पर्धामा यसपटक पनि स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले बाजी मारे । उनी यो वर्षको उत्कृष्ट मध्येको पनि उत्कृष्ट अर्थात् सर्वोत्कृष्ट पुरुष फुटबलर चुनिए । फिफाले बर्सेनि प्रदान गर्दै आइरहेको (सन् २०१० देखि २०१५ सम्म फिफा बेलोन्डेअरको रूपमा प्रदान गरिएको) यस अवार्डका लागि रोनाल्डोले स्पेनी क्लब बार्सिलोनाकै अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन स्ट्राइकर नेमारलाई पछि पारे ।

 

 

फिफाका सदस्यराष्ट्रहरूका मुख्य प्रशिक्षक, कप्तान, फुटबल पत्रकार र पहिलोपटक प्रयोग गरिएको अनलाइन भोटिङका आधारमा रोनाल्डो यस वर्षको उत्कृष्ट फुटबलर घोषित भए । रोनाल्डोले प्राप्त मतको ४३.१६ प्रतिशत मत पाएका थिए । मेसीले १९.२५ प्रतिशत मत प्राप्त गर्दा नेमारले ६.९७ प्रतिशत मत पाए । दुई कट्टर प्रतिस्पर्धीलाई निकै पछि पारेर यो अवार्ड जित्नुको आधार रोनाल्डोले सन् २०१६÷१७ को सिजनमा गरेको प्रदर्शन नै हो ।

रोनाल्डोले यो अवधिमा आफ्नो क्लब रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगसहित घरेलु लिग र स्पेनिस सुपर कपको उपाधि दिलाएका थिए । रियलले इटालियन क्लब युभेन्ट्सलाई ४-१ गोलले हराउँदै युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोले नै महत्वपूर्ण योगदान पुर्‍याएका थिए । समूहगत चरणदेखि फाइनलसम्म उनको सशक्त प्रदर्शनमा रियल युरोपकै अब्बल टोली ठहरिएको थियो ।

फिफाका सदस्यराष्ट्रका मुख्य प्रशिक्षक, कप्तान, फुटबल पत्रकार र पहिलोपटक प्रयोग गरिएको अनलाइन भोटिङका आधारमा रोनाल्डो यस वर्षको उत्कृष्ट फुटबलर घोषित भए ।

रोनाल्डोले सर्वाधिक पाँचपटक वर्ष खेलाडीको अवार्ड जित्ने मेसीको कीर्तिमान बराबरी गरेका छन् । सन् २००८ मा पहिलोपटक वर्ष खेलाडीको अवार्ड पाएका रोनाल्डोले त्यसपछि सन् २०१३, सन् २०१४ र सन् २०१६ मा पनि यो सफलता हात पारेका थिए । यो अवार्ड सर्वाधिक पाँचपटक जित्ने फुटबलर रोनाल्डो र मेसीमात्रै हुन् ।

रोचक प्रसंग के भने यस वर्ष रोनाल्डो र मेसी दुवैले आफ्नो मत आफ्ना सहकर्मीलाई दिएका थिए । अर्जेन्टिनी टोलीको कप्तानका रूपमा मेसीले आफ्नो मत बार्सिलोनाका लुइस स्वारेजलाई दिएका थिए भने पोर्चुगलको कप्तानका रूपमा रोनाल्डोले पनि आफ्नो मत रियल म्याड्रिडकै लुका मोड्रिचलाई दिएका थिए ।

यो प्रतिस्पर्धामा नेपालको मत पनि रोनाल्डोलाई नै गएको छ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो मत रोनाल्डोलाई दिएका थिए । कोजीले रोनाल्डोलाई पहिलो, मेसीलाई दोस्रो र नेमारलाई तेस्रो रोजाइमा पारेका थिए ।

सन् २०१० देखि सन् २०१५ सम्म विश्व फुटबल महासंघ (फिफा) ले फ्रान्सेली फुटबल म्यागजिनसँग मिलेर ‘फिफा बालन डी ओर’को नाममा वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी अवार्ड प्रदान गर्ने गरेको थियो । सन् २०१६ देखि भने फिफा र ‘बालन डी ओर’ले छुट्टाछुट्टै अवार्ड प्रदान गर्दै आएका छन् । सन् २०१६ को ‘बालन डी ओर’ अवार्ड पनि रोनाल्डोले नै जितेका थिए ।

अन्य सर्वोत्कृष्टहरू
महिलातर्फको वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेदरल्यान्ड्सकी लाइकी मार्टन्सले जितिन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मार्टन्सले अन्तिम तीनमा परेका अमेरिकाकी कार्ली लोयड र भेनेजुएलाकी डेयना कास्टेल्लानसलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् । मार्टन्सले २१.७२ प्रतिशत मत प्राप्त गर्दा लोयडले १६.२८ र कास्टेल्लानसले ११.६९ प्रतिशत मत पाएका थिए । 
मार्टन्सले सन् २०१७ को अगस्टमा नेदरल्यान्ड्सलाई महिला युरोपियन च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । नेदरल्यान्ड्सले फाइनलमा डेनमार्कलाई ४-२ गोलले हराउँदा २४ वर्षीया विंगर मार्टन्सले पनि एक गोल गरेकी थिइन् ।

रियल म्याड्रिडका जिनेदिन जिदान सर्वोत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए । फ्रान्सका जिदान रियल म्याड्रिडकै पूर्वखेलाडी हुन् । सर्वोत्कृष्ट प्रशिक्षकको पहिलो स्थानमा रहेका जिदानले चेल्सीका एन्टोनियो कोन्टे र युभेन्टसका मासिमिलियानो एलेग्रिलाई पछि पारे । जिदानले ४६.२२ प्रतिशत मत पाउँदा कोन्टेले ११.६२ र एलेग्रीले ८.७८ प्रतिशत मत प्राप्त गरेका थिए । वर्षको सर्वोत्कृष्ट महिला प्रशिक्षकको अवार्ड भने नेदरल्यान्ड्सकी सरिना बिगम्यानले जितिन् । बिगम्यानले ३६.२४, निल्स निल्सनले १२.६४ र जेरार्ड प्रेचरले ९.३७ प्रतिशत मत पाएका थिए ।

भेट्रान्स गोलरक्षक जियानलुइगी बुफोन सर्वोत्कृष्ट गोलरक्षक घोषित भए । सिरिए क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्ने इटालियन खेलाडी बुफोनले गत वर्ष लिग च्याम्पियन बन्दा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट गोलरक्षक बनेका हुन् । गत सिजनमा युभेन्ट्सले लगातार छैटौंपटक सिरिएको उपाधि जित्दा ३९ वर्षीय गोलरक्षक बुफोनले पोस्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

वर्षभरि भएकामध्ये सर्वोत्कृष्ट गोल गर्ने खेलाडीले पाउने पुस्कास अवार्ड इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रभावशाली खेलाडी ओलिभर गिरोडले पाए । गिरोडले सन् २०१७ को जनवरीमा खेलिएको क्रिस्टल प्यालेसविरुद्घको खेलमा गरेको ‘स्कोर्पियन किक’ गोल यो अवधिको सर्वोत्कृष्ट ठहरियो । आर्सनल २-० गोलले विजयी भएको खेलमा गरेको उनको गोलले ३६.१ प्रतिशत मत पायो ।

फिफाले सोही अवसरमा टोगोका खेलाडी फ्रान्सिस कोनलाई ‘फेयर प्ले अवार्ड’ बाट सम्मान गरेको छ । चेक गणतन्त्रको घरेलु लिगका क्रममा मैदानमा लडेका विपक्षी टोलीका गोलरक्षकको जीवन बचाएका उनलाई फेयर प्ले अवार्ड प्रदान गरिएको हो । यसैगरी स्कटल्यान्डको क्लब सेल्टिक आफ्नो समर्थकको आदर्श व्यवहारका कारण सम्मानित भएको छ । फिफाले सेल्टिकका समर्थकलाई यो अवधिकै सर्वोत्कृष्ट समर्थक मानेको छ ।

फिफा विश्व ११

यसैगरी सन् २०१६÷१७ सिजनमा खेलाडीले गरेको प्रदर्शनका आधारमा फिफाद्वारा घोषित उत्कृष्ट टोलीमा भने जियानलुइगी बुफोन, डानी आल्भेस, लियोनार्दो बोनुच्ची, सर्जियो रामोस, मार्सेलो, लुका मोड्रिच, टोनी क्रुज, आन्द्रे इनिएस्टा, लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेमार परेका छन् । उत्कृष्ट फिफा-११ टोलीमा रियल म्याड्रिडका पाँच, बार्सिलोना र पीएसजीका दुई÷दुई तथा युभेन्ट्स र एसी मिलानका एक÷एक खेलाडी परेका छन् । यसपटक इङ्लिस प्रिमियर लिग क्लबबाट भने फिफा-११ टोलीमा एकजना खेलाडी पनि परेनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.