मध्यम स्तरको गतिलो कथा
एक उमेरपछि आमाहरू
खुला छोडिदिन्छन् छोरीहरूलाई
उदास हुनका लागि
आमाहरू सोच्छन्,
यसो गर्दा
उदास हुने छैनन् छोरीहरू
कम्तीमा ती कारणका लागि
जुन कारण उदास भएकी थिइन् उनी आफैं
वा उनकी आमा
वा उनकी आमाकी पनि आमा
...
प्राय:हिम्मत दिन्छन् आमाहरू
भन्छन्, जसरी पनि बिती जानेछन्
यी अँध्यारा दिन
हामी छौं नि तिमीसँग !
- गगन गिल (एक उम्र के बाद माँएँ, हिन्दीबाट भावानुवाद)
गगन गिलको सामान्यजस्तो लाग्ने यस कविताले आमाले छोरीका लागि गर्ने संघर्षबारे कथा भन्छ । छोरीको आँखामा उदासीको बाक्लो बादल नपोतियोस् र उनका सपना पूरा हुन् भनेर आमाले गर्ने संघर्षको कथा इतिहासको कुन पानामा लेखिएको छ ? इतिहास त वीरताका अतिरञ्जित कथाहरूले भरिएको छ । जहाँ वीर हुन्छ र हुन्छ उसको पराक्रम ! तर, समयका डोबमा सपनाले बुट्टा हानेको हुन्छ । त्यसैले त इतिहासका पराक्रमी कथाको किनारामा सिर्जनाका रङ पोतिएका छन् । त्यो सपना र सिर्जनाको गाथा सम्भवत:आमाको कोखमा लुकिबसेको हुन्छ । समयले कोरल्ने सपना जोगाउन आमाहरूले गर्ने संघर्ष कसलाई थाहा हुन्छ ? भान्साको चुलेसीलाई ? आँसु नै निकाल्ने गरी पुत्याउने चिसो दाउरालाई ? आमाका आँखा टाँसिइबस्ने झ्याललाई ? कसलाई ? बलिउड दुनियाँमा पछिल्लोपटक रिलिज भएको ‘सेक्रेट सुपरस्टार’ले विस्मृतिका गहिरा रहहरूमा हराइजाने आमाको संघर्षको कथा भन्छ ।
बुवाले छोरीहरूलाई कुस्तीबाज बनाउन गरेको त्याग र समर्पणको कथा ‘दंगल’मार्फत भनेका आमिर खानको शृंखला फिल्मजस्तो देखिए पनि यो फिल्ममा केही नयाँपन पाइन्छ । त्यसो त आमिर खान बलिउड इन्डस्ट्रीमा फरकपनको पर्याय नै बनेका छन् । बजारकेन्द्रित एक धु्रव र फरक धार अर्को धु्रवको बीचमा आफ्नै बाटो बनाई हिँडिरहेका छन् उनी । यस हिसाबले यो फिल्म त्यही मार्ग पछ्याइरहेको अर्को कडि हो ।
सत्यजित रेको टिप्पणी हुन्थ्यो, ‘बलिउड फिल्म के नै हो र ? केही गीत, केही एक्सन, केही डाइलग, अलिकति आँसु, अलिकति हाँसो ।’ आमिर र किरण राव दम्पतीले निर्माण गरेको यो फिल्ममा आम बलिउड प्रवृत्तिका केही छनक हुँदाहुँदै फरकपन पनि पाइन्छ । सामान्यजस्ता लाग्ने तर गहकिला विशेषताले फिल्मको कथानकलाई बलियो बनाएको छ । निर्देशक अद्वैत चन्दनले चमत्कार गरेका छैनन् । सामान्य ढंगले नै कथालाई प्रभावकारी प्रस्तुति दिएर फिल्मलाई विशिष्ट बनाएका छन् ।
कथा सामान्य, संघर्ष जटिल
जिन्दगीको यात्रा बिनासपना पनि पूरा हुन सक्छ । तर, सपनाले जिन्दगीलाई परिचय दिन्छ । सपनाले बाँच्नुको अर्थ दिन्छ । सपना पूरा गर्ने संघर्षले नै हरेक बिहान नयाँ किरण लिएर आउँछ । नभए त जिन्दगी बाँच्नुको के मज्जा ? गुजरात बरोडाकी १५ वर्षीया किशोरी इन्सिया मलिक (जायरा वसिम)को सपना छ गायिका बन्ने । स्वरले साथ दिएको छ उनलाई । गितार पनि छ, राम्रै फिट्छिन् उनी । तर, सपनाको वेग हान्न बाधक बनिदिन्छ बाबुको स्वभाव ।
सधैं क्रोधित हुने, ससानो विषयमा पनि हातै हाल्ने फरुक मलिक (राज अर्जुन) छोरालाई मात्र माया गर्ने, पत्नीलाई अदबमा राख्न खोज्ने र छोरीलाई बेवास्ता गर्ने पुरुष हुन् । प्रश्न उठ्न सक्छ— के अहिले पनि त्यस्ता पिताहरू होलान् र ? फिल्म भन्छ— अहिले पनि विद्यमान छन् त्यस्ता पिता । उनीहरूका निम्ति अहिलेसम्म युग हिँडेको बाटो नै सही बाटो हो । यसको विकल्पको परिकल्पना पनि गलत हो । ती ‘असल’ पुत्र, ‘असल’ पति र ‘असल’ पिता बन्न चाहन्छन् । असलको अर्थ शास्त्रसम्मत छ । आमालाई सम्मान गर्छन् । बिहेभोजमा जाँदा पत्नीलाई गहनाले सिँगारेर लैजान चाहन्छन् । पुत्रीका लागि ‘सही’ समयमा ‘उपयुक्त’ वरको खोजी गर्छन् । तर, सफल जिन्दगी कहाँ शास्त्रसम्मत हुन्छ र ? आउट-ट्र्याक हिँडेको जिन्दगीले नै नयाँ परिचय बनाउँछ ।
छोरी हिँड्न खोजेको आउट-ट्र्याक बाटोमा साथ दिन्छिन् आमा नाज्मा मलिक (मेहेर भिज)ले । तर, आर्थिक रूपमा पूर्णतया पतिमा आश्रित उनीसँग चोर बाटो हिँड्नुको विकल्प हुन्न । छोरीले गितार बजाएको मन नपराउने बाउबाट जोगाएर ल्यापटप किनिदएर सेक्रेट सुपरस्टार बनाउन उनले गरेको संघर्ष आमजीवनजस्तै सामान्य लाग्छ । तर, सामान्य जिन्दगीका सतहमुनि जटिल संघर्ष लुकेका हुन्छन् । फिल्मले त्यही जटिल संघर्षको कथा भन्छ ।
छोरी जन्माउनदेखि उसको बाटो फराकिलो बनाउन नाज्माले गरेको संघर्ष सरल छैन । त्यो संघर्षबारे उनीसँग कुनै सिद्धान्त वा वादको लगाम पनि छैन ।
छोरी जन्माउनदेखि उसको बाटो फराकिलो बनाउन नाज्माले गरेको संघर्ष सरल छैन । त्यो संघर्षबारे उनीसँग कुनै सिद्धान्त वा वादको लगाम पनि छैन । बस् छ— आम आमामा हुने मातृत्व र सन्तानप्रतिको विश्वास । परम्पराका साँघुरा आँगनबाट जिन्दगीका फराकिला बाटोहरूमा हिँड्ने पूर्वनिर्धारित योजना उनीसँग छैन । तर, जीवनसंघर्षले कति बेला त्यो चौडा सडकमा पुर्याइसकेको हुन्छ उनैलाई पत्तो हुँदैन ।
संघर्षमा साथसाथ
आमा-छोरी सम्बन्ध यो फिल्मको क्यानभासमा पोतिएको गाढा रङ हो । आमाले छोरीका लागि गरेको संघर्ष र आमाका लागि छोरीले दिएको साथ आमघरको कथा हुनसक्छ । तर, सपना पूरा गर्ने उद्देश्यमा जोडिएर त्यो सामान्यपन असामान्य बनिदिएको छ । फिल्ममा आमा-छोरी सम्बन्धको यो स्वाभाविकता प्रस्ट देखिन्छ । सँगसँगै देख्न सकिन्छ, पुस्तैनी अन्तर र सुझबुझले बनाइदिएका फरक पनि ।
आमा चाहन्छिन्— छोरीका सारा सपना पूरा हुन्, ऊ आफूले चाहेजस्तो गायिका बन्न सकोस् । तर, छोरीको आँखामा उनी ‘स्टुपिड’ आमा हुन् । डरपोक पनि । चुपचाप लोग्नेको कुटाइ खान्छिन् । भन्छिन्, ‘त्यतिसम्म मात्र सपना देख्नुपर्छ जहाँसम्म उड्न सकिन्छ ।’ उनी आमआमाहरूको प्रतिनिधि हुन् । ती आमाहरूको जो लोग्नेको कुटाइ पनि चुपचाप सहन्छन् । आफ्ना सपनाहरूलाई श्रद्धाञ्जलि दिन्छन् र सन्तानको सपनाका निम्ति बलिदान हुन पनि तयार हुन्छन् । तर, छोरीले साथ दिएर सम्बन्धविच्छेद गर्ने बाटो देखाउँदा भन्छन्, ‘तेरो बाउजस्तो भए पनि मेरो पति हो र तेरो भाइको बाउ हो ।’
आमाहरू यस्तो हुनु अस्वाभाविक होइन । ती हुर्किए नै त्यसैगरी । छोरीका सपनाले आमालाई पनि फेरिदिन्छ । जब छोरीको सपनाको धज्जी उडाइन्छ, नाज्मा पूरै एक सय असीको फरकमा उभिन्छिन् । पतिव्रतालाई तिलाञ्जलि दिन्छिन् र नयाँ जीवनको बाटो खन्छिन् । सरल, सोझी र ‘स्टुपिड’ नाज्माले मौनतामै च्यापिरहेको जीवन संघर्ष फिल्मको पेटबोली हो ।
फरक आमिर, आमकथा
हरेक फिल्ममा नयाँ रूपमा प्रस्तुत हुने आमिर खानको स्वभाव सम्भवत:डीएनएमै छ । यो फिल्ममा उनी त्यस्तो हिट म्युजिक डाइरेक्टर शक्तिकुमारको भूमिकामा देखा परेका छन् जसका दुई पत्नीसँग डिभोर्स भइसकेको छ । ऊ स्त्रीप्रति लालायित छ । घमण्डले फुलेको छ । जोकोहीलाई मान्छे गन्दैन । टाइट टिसर्ट, रफ जिन्स, चटपटे स्वभावमा देखा परेका आमिरले मूलत:फिल्म दुनियाँको चरित्र उजागर गर्छन् ।
अक्सर कलाकारहरू सफलताको एउटा बिन्दुमा पुगेपछि केही घमण्डी बनिदिन्छन् । अनि प्राय:फिल्म दुनियाँमा रसरङले जीवनभन्दा बढी प्राथमिकता पाउने गर्छ । इन्सियाले गीत गाइरहँदा रेकर्डिङ स्टुडियोमा युवतीसँग मस्त डाइरेक्टर, ल फर्ममा जाँदा पनि रिसेस्पनिस्टलाई आँखा मार्ने शक्तिकुमारजस्ता दृश्यमार्फत अद्वैत चन्दनले फिल्म दुनियाँका दृश्यहरू छर्न खोजेका छन् ।
र, छुटफुट
सिनेमाटोग्राफीमा चमत्कार छैन । क्यामेराको सञ्चालन औसत छ । किनभने जीवनको यात्रा औसत नै हुन्छ । जब त्यसले एउटा उचाइ छुन्छ बल्ल नयाँ दृश्यहरूको निर्माण हुन्छ । नाज्माको भाइ गुड्डु (कबिर) र उनको प्रेमी चिन्तन (तीर्थ शर्मा) फिल्मका सकारात्मक पात्र हुन् । चिन्तनको सहयोग र प्रेमले दर्शकलाई अवश्य आशाका गुच्छाहरू दिनेछ । गुड्डुको दिदीप्रतिको प्रेम स्वाभाविक हुँदाहुँदै पनि मनमोहक लागिदिन्छ ।
आमबलिउड फिल्मजस्तै लाउड म्युजिक, अस्वाभाविक क्लाइमेक्स यो फिल्मको पनि विशेषता हो । फिल्मले हसाउँछ, रुवाउँछ र अन्तत:संवेदनामा घोच्छ । सामान्य ढंगले मसिनो कथामा बुनिएको ‘सेक्रेट सुपरस्टार’लाई मध्यम स्तरको गतिलो कथा भन्न सकिन्छ । फिल्मलाई मनोरञ्जनको साथसाथै सन्देश र कथाको आँखाबाट हेर्नेहरूका लागि यो उपयुक्त हुनेछ ।