बुद्धको भत्केको घरमा मिलरेपा

बुद्धको भत्केको घरमा मिलरेपा

घ्याङ्गुलमा पनि बुद्धको घर भत्केको थियो । भव्य गुम्बाको आँगनमा सुस्ताउने रामराजा दाइको इच्छालाई मलजल दिने त म नै थिएँ । प्रत्येक साना-ठूला गाउँमा भव्य गुम्बा छन्, जहाँ जुत्ताका तुना खुकुल्याएर यात्राको थकाइ मेट्न सकिन्छ । गुरु रिम्पोछेको प्रतिमा अगाडि धुवाइरहने धुपको वास्नामा लट्ठिन सकिन्छ । वा आफूलाई लमतन्न फिँजाएर बुद्धका पिँढीमा भोटेकुकुरका कानमा मन्त्र फुकिदिएर निरन्तर भुकिरहने पार्न सकिन्छ ।


काठमाडौंको एक रोगी साँझले चियाको रित्तो कपमा आत्महत्या गर्नुपूर्व नै मैले दाइलाई हेलम्बु यात्राको रोमाञ्चमा डुब्ने बनाइदिएको थिएँ । आमा ह्याल्मो बसको टिकट काटेर घर आई झिटीगुन्टा कस्दा होस् वा भोलिपल्ट जोरपाटीबाट हेलम्बुका लागि प्रस्थान गर्दा होस् मनमा २०७२ को महाभूकम्पको ताण्डव कत्ति पनि नाचेको थिएन ।मनजस्तै घुमाउरो बाटो हुँदै बस माथि-माथि चढ्दै थियो । इन्द्रावतीको तीरमा खाएको खाजाले पानी माग्दै थियो ।

हामी भने मेलम्चीलाई समेत छोडेर सेर्माथानको उकालो उक्लिरहेथ्यौं । ह्योल्मो आमाको चम्बाको स्वाद चाख्न आकाशमार्ग हुँदै आएको मिलरेपाको मन मेरो शरीरमा पनि टपक्क मिलेको थियो । कवि युयुत्सु आर डीसँग आँदा होस्, कवि विजय सापकोटासँग आउँदा होस् हेलम्बुमा ह्योल्मो आमाले माया गरिदिएको चम्बा प्रत्येक पटक खाएको हुन्थेँ । हरदम तातो रहिरहने ह्याल्मो भान्छा, उम्लिरहेको कित्ली र डबकाभरि तातो पानीमा घोलेर खाएको चम्बाको स्वादको झन्झन् नजिक हुँदै थिएँ म ।सेर्माथानमा बसबाट ओर्लिएपछि आँखैमा बुद्धको भत्किएको घर थियो । आँखा त्यहाँबाट तल ओर्लिए, भिरालो बस्ती हुँदै समथर पाटाहरूमा । अहँ, कुनै घर सग्ला थिएनन् ।

 

डोको घोप्ट्याएजस्ता ढुंगाका थुप्राहरू र छेवैमा जस्ताका कटेज । सेर्माथानको त्यो भव्य वैभव खुम्चिएर जस्तापातामा आफ्नो आङ ढाक्दै थियो । अनि भूकम्पपछि बनेका दुईचार घरहरू कंक्रिटको जंगलको ढाँचाका थिए । एउटा भव्य शेर्पा संस्कृति क्षय हुने बाटोमा लुरुलुरु गइरहेको त छैन ? मनभरि प्रश्न उठिरहेका थिए ।हाम्रो अन्योलमा घोलिएको मनस्थितिलाई चनाखो बनाएर उही पुरानो मायालु हात हल्लाउने लुङ्दरहरू भने उही भव्यता उही सौम्यता फर्फराइरहेका थिए । यिनै राता, नीला, पहेँला रङको मेलाले गाउँलाई पुरानो स्वरूपमा ल्याउन प्रयास गरिरहेको देख्न सकिन्थ्यो।

हामी सेर्माथानमा बनेको आधुनिक चारतले पक्की घरमा पस्यौँ । आ-आफ्ना सामान थन्क्याएपछि गाउँ घुम्न थाल्यौं ।ह्योल्मोहरूको उही मायालु अनुहार छ, उही निष्कपट हाँसो छ, उही आत्मीयता प्रकट गर्ने स्वभाव छ तर उनीहरूको सांस्कृतिक पहिचान बोकेका सुन्दर ढुंगा माटाका घर छैनन् । घरभित्रका भव्य शेर्पा सजावट छैनन् । हामी गाउँको पुछारमा रहेको चिमालीको फेदबाट गाउँलाई चिहाइरह्यौं । यो हिमाली, सेतो गुराँसले क्षय हुँदै गएका ह्योल्मो संस्कृतिको श्यामश्वेत तस्बिरको प्रतिनिधित्व गरेझैं लागेर हामी झमक्क साँझ नपरुन्जेल त्यतै अलमलिरह्यौं । यस्तो सुन्दर गाउँ छोडेर सहर पसेका युवा, भर्खरै गाडीको बाटोले जोडिएर संक्रमणको संघारमा रहेको संस्कृति, भूकम्पका दाह्रा र नङ्ग्राले चिथोरेर पल्टाएका धरोहर र तिनीहरूलाई विस्थापित गर्दै गरेका आधुनिक भवनहरू ! हाम्रो चिन्ता र चासोमा झ्याउँकिरीहरू पनि साथ दिइरहेथे ।

लाङटाङ राष्ट्रिय निकुञ्जको पुछारका सेर्माथान, घ्याङगुल, नोर्बुगाउँ, तातुङ, न्याल्मुनेस, तार्केघ्याङ, हेरिङलगायतका गाउँमा रहेका ३५ वटा भव्य गुम्बा अब कुनै पनि बाँकी नरहेको थाहा पाउँदा यहाँ घुम्न आउने कसैको पनि मन विचलित नभई रहन सक्दैन । ६ सय ७५ वर्ष पुरानो गुम्बासमेत रहेको यो हेलम्बु भेग गुम्बैगुम्बाको गाउँ भनेर पनि चिनिने गथ्र्यो । रातिको खाना खाँदै साहुनीका भूकम्पअघिको हेलम्बु र गुम्बाहरूको बयानले हाम्रो खानालाई खल्लो बनाइदियो । हामी जहाँ आएका थियौं । हामी यहाँबाट जहाँ जहाँ जान लागेका थियौं ती गाउँमा बुद्धको घर भत्केको थियो ।बिहान रामराजा दाइ नउठ्दै म उठेँ र डाँडो चढ्न थालेँ । राति बलेका बत्तीहरू अझै निभ्न बाँकी रहेको गाउँलाई छोडेर म डाँडो चढ्न थालेँ । भत्केर खण्डहरमा परिणत हुँदै गरेको गुम्बाका केही तस्बिरहरू लिएँ र सूर्योदयको प्रतीक्षा गर्दै वनको बिहानी संगीत सुन्न थालेँ ।

सम्पूर्ण गाउँ बिहानीपखमा मीठो निद्रामा थियो र चराहरू ब्युँझेर प्रथम स्वरले बिहानीलाई स्वागत गरिरहेथे । ती ताजा गीतको आनन्द लिँदै खस्रुका पातमा झुन्डिरहेको गोब्रेकीरोसँगै म व्यायाम गरिरहँदा रामराजा दाइ आइपुग्नु भयो । हामी फर्केर गाउँको गोरेटो समात्यौं र एकजना सहृदयी शेर्पा दाइको घरमा चिया पिउन थाल्यौं । बिहानै तार्केघ्याङको यात्रा थाल्ने सल्लाह भयो र होटेलबाट बिदा भएर हामी तार्केतिर लाग्यौं ।

बाटामा चौंरीको बथान हाँकिरहेका शेर्पा दाइसँग भेट भयो । गाउँमा आपूmले मात्र गाई, चौंरी पालेको उनले बताए । सम्पूर्ण गाउँलेले पहिला बस्तुभाउ पाल्दा लेकमा रमाइलो हुन्थ्यो । जाडोमा गाउँमा झार्दा पनि एउटा पर्व झैं हुन्थ्यो । अहिले त म एक्लैले मात्र पालेको छु । हेरौं कतिञ्जेल यो पुख्र्यौंली पेसा धान्न सकिन्छ भन्दै उनी चौंरीसँगै पाखातिर लागे । छिमी गाउँका ती शेर्पा दाइलाई पछ्याइरहेका आँखाहरू उनी देखिन छाडेपछि पुन:आफ्नो गन्तव्यमा लागे । बाटामै पर्ने छिमी गाउँको गुम्बामा हामी छिर्‍र्यौं । भूकम्पपछि बनाइएको यो गुम्बा पूरा तयार भएको थिएन ।गुम्बामा सम्पूर्ण आधुनिक निर्माण सामग्रीको प्रयोग भएको थियो । टिकाउका दृष्टिले हेर्दा त हो तर प्राचीन तिब्बतेली शैलीका दृष्टिले हेर्दा त्यो गुम्बाले कुनै आकर्षण बोक्ला भन्नेमा रामराजा दाइले शंका व्यक्त गर्नुभयो । 
नेपाली सिनेमाको शैलीलाई एउटा छुट्टै आयाम दिन लगातार खोज र अनुसन्धानमा व्यस्त रामराजा दाहालको महत्वाकांक्षी प्रोजेक्टको विषय शेर्पा संस्कृति पनि रहेकोले मैले उहाँबाट धेरैभन्दा धेरै कुरा सिक्नु थियो । लेकाली एकान्त वनमा हामी ह्योल्मो संस्कृतिले भूकम्पपछि भोग्ने अतिक्रमण, यातायातको विकासपछि आउने परिवर्तन र यसको अस्तित्वको विषयमा गहन चिन्तन गर्दै अगाडि बढ्यौं ।एउटै वनमा रातो, सेतो, वैजनी रङका गुराँस फुलेका थिए । आकाशै छोउँला झैं अग्ला देवदारका रूखहरू, खस्रुका गँठर्किएका रूखहरू अनि प्राचीन लाग्ने झ्याउले छोपिएका रूखहरूमा छेलिँदै- देखिँदै हाम्रो यात्रा अगाडि बढिरहेको थियो ।

पदयात्राका लागि सुखद र सुन्दर मानिएको हेलम्बुका सुनसान जंगलमा आफ्नो योजनाका खाकाहरू फुकाउँदै, जेलिएका खोजका सुर्कानाहरू खोल्दै हिँड्नुको मज्जा हामी दुई भाइ उठाउँदै थियौं । ठाउँठाउँमा आउने हरिया चौरहरू, फड्केमा तर्नुपर्ने हिमाली हिउँ-खोलाको सुगन्ध बोकेका खोलाहरू अनि चराहरूको गीतमा हामी हाम्रो हृदयको सुसेली मिसाउँथ्यौं । आफैं आफ्नो सुर न तालको लयमा झुम्थ्यौं । भोकले नेटो काट्न आँटेपछि मात्र हामी घ्याङ्गुल आइपुग्यौं ।गुम्बामा पूजा भएकाले गाउँमा रहेको एउटै होटल पनि बन्द थियो । अत:हामी ‘होम स्टे’ चलाउने घरतिर लाग्यौं ।

भुइँस्याउ खनिरहेकी ह्योल्मो आमालाई अनुरोध गर्‍यौँ र उनले खनेका भुइँस्याउ बोकेर घरतिर लाग्यौं । यस गाउँमा पनि एउटै घर सग्ला थिएनन् न त बुद्धको सुन्दर घर नै बाँकी थियो । खाना पाक्दै गर्दा हामी भुइँस्याउले पेट भर्न थाल्यौँ । यात्राले थाकेको जीउलाई घर पछाडिको चौरमा फुक्का छोडिदियौं । खानापूर्वको छोटो निद्राले यात्राको थकानलाई पूरै मेटाइदिएको थियो । मायालु ह्योल्मो आमा- बालाई धन्यवाद दिएर हामी अगाडि बढ्यौं । छोराछोरी सहर या त विदेश रहेका अधिकांश ह्योल्मो घरको कथाभन्दा फरक थिएन ती बृद्ध जोडीको कथा पनि । गाउँमा या त वृद्धवृद्धा थिए या त केटाकेटी । सहरबाट तरुना तन्नेरी नआई गाउँको जात्रापात्रा नचल्ने अवस्थाको युवाविहीन गाउँको दुःख हेर्दै हामी गोरचिलिङ पुग्यौं । यहाँबाट टासी थाङ र तार्के घ्याङको बाटो छुट्थ्यो । हामी तार्केपट्टि लाग्यौं ।

तार्के सबैभन्दा पुरानो बस्तीमा भूकम्पले झनै ताण्डव देखाएको थियो । ६ सय ७५ वर्ष पुरानो गुम्बाको नामोनिसान थिएन । भिरालामा गुजुमुज्ज परेका घरहरू एउटै थिएनन् । ती पुराना घरभन्दा केही तल र वारिको समथर पाटामा टिनका कटेजहरू थिए । त्यहाँ पनि आधुनिक घरहरू बन्ने क्रम सुरु भइसकेको थियो । भूकम्पअघि ह्योल्मो सुन्दरताको आसमा जाने मानिसले निराशाबाहेक केही फेला पर्दैनथ्यो । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधनबाट ह्योल्मो गाउँको सुन्दरता बचाउने भूकम्प प्रतिरोधी घरका नमुनाहरू नेपाल सरकारले होर्डिङ बोर्डका रूपमा राखिदिएको थियो तर त्यस्ता घरहरू हामीले देख्न पाएनौं । तार्केबाट मेलम्चीघ्याङ जाने योजनालाई हामीले बलैले छोट्याउने निर्णय गर्‍र्यौं ।

हेलम्बु धेरैपटक जाँदा पनि मिलरेपा गुफा हेर्ने धोको पूरा भएको थिएन । बिहानै दाजुभाइ मिलरेपा गुफातिर झर्न थाल्यौं । सुन्दर जंगल, करु, जौ र गहुँबारी हुँदै हामी मिलरेपा गुफामा पुग्यौं । तिब्बतबाट आकाशमार्ग हुँदै यात्रा गर्ने मिलरेपाले तपस्या गरेको गुफाको प्राचीनतामा डुब्ने इच्छा लिएर हामी मिलरेपा गुफा क्षेत्रमा प्रवेश गरेका थियौं । श्रद्धालुहरूको भीड थियो । आधुनिक निर्माणले बाहिरी परिसर ढाकिए पनि गुफा त प्राचीन रूपमै होला भन्ने हाम्रो सोचाइलाई नराम्रो धक्का लाग्यो जब हामीलाई सहस्र दीपहरू प्रज्वलित एउटा सिमेन्टेड स्थानलाई गुफा भनी देखाइयो।

गुफालाई संरक्षित गर्ने नाउँमा माथिका गुफाको ढुंगा नखसुन्, गुफा नबिग्रियोस् भनी बलियो बनाउन गरिएको निर्माणले गुफाको सम्पूर्ण रूप, रङ, स्वाद मरेको अनुभव हामीले गर्‍र्यौं । हामीलाई बलियो मिलरेपा गुफा भन्दा भत्केका बुद्धका घर अर्थात् हेलम्बुका गुम्बाका खण्डहर राम्रो लाग्यो । हामी बुद्धको भत्केको घरमा बस्ने इच्छा लिएर बाँचिरहेको मिलरेपा हेरेर फर्कियौं ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.