क्याटलोनिया स्पेनबाट अलग हुने घोषणा, केन्द्र सरकारद्वारा संसद भंग, सरकार प्रमुख बर्खास्त
एजेन्सी : क्याटलोनियाको संसदले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको छ भने स्पेनको केन्द्र सरकारले क्यालोनियाको सरकारलाई बर्खास्त गरी संसद नै खारेज गरेको घोषणा गरेको छ । क्याटालोनिया संसदले शुक्रबार दिउँसो गोप्य मतदान मार्फत स्वतन्त्रताको पक्षमा निर्णय गरेको थियो। संसदमा स्वतन्त्रताको पक्षमा ७० मत परेको थियो भने विपक्षमा १० मत परेको थियो । दुई सांसद्ले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेको बताइएको छ ।
सो स्वतन्त्रताको पक्षमा मतपरिणाम आएपछि क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरी स्तन्त्रताको पक्षमा नाराबाजी गरेका थिए ।
क्याटलोनियाका संसदले यस्तो निर्णय गरे लगतै स्पेनको केन्द्र सरकारले त्यहाँको सरकारलाई बर्खास्त गरी संसद विगठन गरेको घोषणा गरेको छ । शुक्रबार स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले क्याविनेटको वैठक पश्चात यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।
क्याबिनेटको वैठकपछि पत्रकार संम्मेलनमा क्याटलोनिया सम्बन्धी निर्णय घोषणा गर्दै स्पेनिस प्रधानमन्त्री मारिआनो राखोइ । तस्बिरः रासस/एएफपी
प्रधानमन्त्री राखेइले स्पेनिस संविधानको धारा १५५ को प्रयोग गरी यस्तो निर्णय गरेको बताएका छन् । क्याटलोनिया सरकार प्रमुख कार्लेस पुज्डमोन बर्खास्त गरिएको छ भने आगामी २१ डिसेम्बरमा नयाँ निर्वाचन गरिने केन्द्र सरकारले घोषणा गरेको छ । निर्वाचन नभएसम्म क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन रहने निर्णय केन्द्र सरकारले गरेको छ ।
गत १ अक्टुवरमा केन्द्र सरकारको अवरोधका बीच क्याटलोनियामा जनमत संग्रह गरिएको थियो । स्पेनबाट छुट्टिने पक्षमा ९० प्रतिशत मत प्राप्त भएको घोषणा गरिएको थियो।
अमेरिका, मेक्सिको, फ्रान्स, जर्मनी, बेलायत लगायतले क्याटलोनियाको स्वतन्त्रतालाई मान्यता नदिने घोषणा गरेका छन् । उनीहरुले क्याटालोनिया स्पेनकै भू–भाग रहेको र एकत्रति स्पेन पक्षमा रहेको जनाएका छन् ।