वाम गठबन्धन राष्ट्रविरुद्धको षडयन्त्र : प्रधानमन्त्री देउवा
पोखरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन राष्ट्र विरोधी भएको आरोप लगाएका छन्। ‘राष्ट्रियता कमजोर पार्ने षडयन्त्र भएको छ,’ पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले भने।
वामपन्थीहरुले डर र त्रासको शासन ल्याउन गठबन्धन गरेको पनि प्रधानमन्त्री देउवाको आरोप थियो। ‘साम्यवादीहरुको गठबन्धनले डर र त्रासको शासन ल्याउन खोजिरहेको छ, हेर्नुस् उत्तर कोरिया साम्यवादीहरुको देशमा कहिं पनि बोल्न पाइन्न, लेख्न पाइन्न’, उनले भने।
कांग्रेसले राणा र पञ्चहरुको डर त्रासको शासन विरुद्ध लडेको हुँदा फेरि डरत्रासमुक्त शासनका लागि कांग्रेसले जित्नुपर्नेमा जोड दिए। स्थानीय चुनावमा जसलाई भोट हाले पनि जनताले प्रदेश र संघका लागि कांग्रेसलाई भोट हाल्न उनले अपिल गरे। एकदलीय निरंकुश शासन कम्युनिस्टहरुले ल्याउन सक्ने भन्दै व्यक्ति मन परे पनि नपरे पनि लोकतन्त्रका निम्ति कांग्रेसलाई भोट दिनुपर्ने उनको भनाइ थियो।
राप्रपाका पूर्व केन्द्रीय कोशाध्यक्षसमेत रहेका उद्योगी सूर्यबहादुर केसी र अखण्ड नेपालका अध्यक्ष कुमार खड्कासहितका नेता कार्यकर्ता उक्त कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनीहरुलाई कांग्रेसको सदस्यता प्रदान गर्दै सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतले स्वागत गरे।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले लोकतन्त्रको भर्याङ चढेर अधिनायकवाद लाद्न लागेको बताए। ‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखा परेको छ। अहिले कम्युनिष्टहरु संविधान कार्यान्वयनमा व्यवधान खडा गर्दैछन्,’ उनले भने, ‘कम्युनिस्टहरु बहुमतले जारी गरेको संविधान फेर्ने कुरा गर्दै हिँडेका छन्। लोकतन्त्रको भर्याङ चढेर अधिनायकवादमा पुग्ने कम्युनिस्टहरुको चालबाजी सुरु भएको छ।’
महामन्त्री शशांक कोइरालाले नेपाल समृद्धिको बाटोमा अगाडि बढ्को दाबी गरे। उनले समृद्धिको बाटोमा देश जाँदै गर्दा वामपन्थीहरु विस्तारै पलायन हुँदै जाने विचार राखे। ‘जहाँ समृद्धि हुन्छ, त्यहाँ कम्युनिस्ट फस्टाउँदैन,’ उनले भने।