चैतमा मेलम्ची काठमाडौं आउने सम्भावना कति ?

चैतमा मेलम्ची काठमाडौं आउने सम्भावना कति ?

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो ।

सुरुङ खनेपछि गर्नुपर्ने ‘कंक्रिटिङ’को काम बढाउन सीएमसीले अहिलेसम्म बेवास्ता गरेको छ । २७ किलोमिटरमध्ये १ हजार ४ सय मिटर मात्र सुरुङ खन्न बाँकी रहे पनि खनिएको सुरुङ ‘कंक्रिटिङ’को कामले गति लिन सकेको छैन । आयोजनाका सिनियर डिभिजन इन्जिनियरराजेन्द्रप्रसाद पन्तले अहिलेसम्म डेढ किलोमिटर मात्र ‘कंक्रिटिङ’ भएको बताए ।

खनिएको सुरुङ ढलान गरेर अन्तिम रूप दिनुलाई ‘कंक्रिटिङ’ भनिन्छ । ठेकेदारले अहिले दैनिक मुस्किलले १० मिटर जति मात्र सुरुङ ‘कंक्रिटिङ’ गर्दै आएको छ । गत वर्ष उपकरण अभावमा समयमा ‘कंक्रिटिङ’ गर्न नसकिएको बताएपछि एसियाली विकास बैंक (एडीबी)ले सीएमसीलाई उपकरण खरिद गर्न रकम उपलब्ध गराएको थियो ।

 

आयोजनाका पूर्वकार्यकारी निर्देशक घनश्याम भट्टराईले गत चैतसम्म मेसिन ल्याएर दैनिक ४० मिटर ‘कंक्रिटिङ’ गर्ने सर्तमा एडीबीले ठेकेदारलाई रकम उपलब्ध गराएको बताए । उनले भने, ‘अहिलेसम्म मेसिन नै ल्याएको छैन । ठेकेदारले सर्तअनुसार काम गरेन ।’ समयमा काम नगरेर आयोजना पछाडि धकेल्दै आएको सीएमसीले नोभेम्बरदेखि ‘कंक्रिटिङ’को गति बढाउने भन्दै आएको छ ।

इन्जिनियर पन्त १५ कात्तिकपछि कामको गतिका आधारमा मात्र मेलम्चीको पानी काठमाडौंंमा कहिले आउँछ टुंगो लाग्ने बताए । उनले भने, ‘वैशाखसम्म टनेलको काम सकिन्छ । टनेल खन्न ध्यान दिएका कारण अरू कामको गति नबढेको हो ।’ सीएमसीले प्रतिबद्धता जनाएअनुसार दिनको ४० मिटर ‘कंक्रिटिङ’ गरे पनि पूरै सुरुङको संरचना ‘कंक्रिटिङ’ सक्न २० महिना लाग्ने देखिन्छ।

सुरुङ फिनिसिङ नभएका कारण पानी ‘हेडबक्स’ (बाँध बाँध्ने काम)को काम समेत पछि धकेलिएको छ । वर्षापछि ‘हेडबक्स’को काम गर्छु भन्दै आएको ठेकेदार कम्पनीले कात्तिक दोस्रो सातापछि मात्र काम थाल्ने बताउँदै आएको छ ।

हेडबक्स अर्थात् मेलम्ची नदीको पानी टनेलमा फर्काउने बाँध बाँध्न अस्थायी ड्याम बनाएर पानी फर्काउनुपर्छ । यसका लागि टनेलको निर्माण पूर्णरूपमा सक्नुपर्छ । अझै १ किलोमिटर ४ सय ६ मिटर सुरुङ खन्न बाँकी छ ।

वैशाखसम्म टनेल खनिसके पनि फिनिसिङ नसकिँदासम्म पानी टनेलमा फर्काउन मिल्दैन । निर्धारित समयमा काम गर्न नसकेपछि कम्पनीले विभिन्न बहाना बनाउँदै आएको आयोजनाका इन्जिनियर पन्तले बताए ।

हेडबक्सको काम थाल्न टनेलमा पानी फर्काउन अस्थायी पाइप राख्ने सोच आयोजनाले अघि सारेको छ । यसका लागि प्रतितपत्र खोले पनि ठेकेदारले पाइप ल्याएको छैन । आयोजनाका पूर्वकार्यकारी निर्देशक भट्टराईले हेडबक्सको काम गर्न दुई हिउँद लाग्ने बताए । उनले भने, ‘खोलामा पानी नभएको अवस्थामा मात्र काम गर्न सकिन्छ । वर्षामा काम गर्न नसकिने भएकाले दुईवटा हिउँद लाग्छ ।’

६ महिनामा १ हजार ३ सय मिटर टनेल फिनिसिङ भएको बताउँदै पूर्वकार्यकारी निर्देशक भट्टराईले भने, ‘यस्तै अवस्था हो भने मेलम्ची आउने अनुमान ठेकेदारले मात्र गर्न सक्ने भयो ।’ ०७१ असारमा १ हजार ९५ दिनमा सम्पन्न गर्ने गरी सीएमीले आयोजनाको सुरुङ निर्माण र हेडबक्सको ठेक्का लिएको थियो । समयमा नक्सा नपाएको बहाना बनाएर यसअघि नै सीएमसीले आयोजनाबाट ५८ करोड ६२ लाख रुपैयाँ क्षतिपूर्ति लिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.