दुर्घटनाको दर्द

दुर्घटनाको दर्द

 

एउटा अर्को दुःखद सडक दुर्घटनाको खबरले यसको जोखिम न्यूनीकरणबारे पुनः विमर्श आवश्यक देखिएको छ । राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस शनिबार बिहानै त्रिशूली नदीमा खस्दा ३१ जनाले ज्यान गुमाएका छन् भने अरू थुप्रै घाइते भएका छन् । सप्तरीको तिलाठी कोइली शोकमग्न छ ।

राजधानी पुगेको खबर सुन्ने पर्खाइमा बसेका परिवारजनले आफन्त गुम्दाको बज्रपात सहनुपरेको छ । यो पछिल्लो सबैभन्दा ठूलो सडक दुर्घटना हो । यद्यपि यसै वर्ष पनि एकपछि अर्को सडक दुर्घटना भएका छन् । यसअघि डोटीको बोगाटन गाउँमा जिप दुर्घटना हुँदा नौजनाको ज्यान गएको थियो भने चार घाइते भएका थिए । दसैं आसपास भएका दुर्घटनामा पनि थुप्रै सर्वसाधारण सिकार भए । यस्ता अनेक दृष्टान्त हेर्दा लाग्छ, दुर्घटना हाम्रो नियति झैं बनेको छ । यसमा चालक, व्यवसायी, सरकार सबै पक्षको गम्भीरता आवश्यक छ ।

दुर्घटनाका बेलामा समीक्षा हुने, दुर्घटनाका कारण पत्ता लगाउन अध्ययन हुने अनि बिर्सिइने प्रचलन छ । कम्तीमा ती अध्ययनका निष्कर्षहरू प्रभावकारी ढंगले पछ्याउने हो भने यसखाले दुःखद खबरसँगको साक्षात्कार सायद कम हुन्थ्यो । विडम्बना के छ भने अध्ययन गरिन्छन्, कारणहरू पनि पत्ता लाग्छन् तर कार्यान्वयन हुँदैनन् । जसले गर्दा उही र उस्तै प्रकृतिका त्रुटि दोहोरिन्छन् र निर्दोषहरू अनाहकमा मारिन्छन् । पछिल्लो दुर्घटनाको प्रारम्भिक खबर हेर्दा पनि चालकको त्रुटि हुन सक्ने अनुमान गर्न सकिन्छ । रात्रिकालीन र लामो दूरीका बसचालक परिवर्तन गर्ने नियम बनाइएको छ, तर अनुगमन नहुँदा एउटै चालकको मात्रै प्रयोग हुँदा थकान र निद्राका कारण दुर्घटना बढेको तथ्य यसअघिका कयौं दृष्टान्तले पुष्टि भइसकेको छ ।

 

त्यसो त दुर्घटना दुःखद संयोग हो । मानवीय कमजोरी वा सडकको कमजोर अवस्थाका कारण हुनसक्ने दुर्घटना केकसरी र कुन बेला आउँछ भन्न सकिने विषय होइन । त्यसकारण हरपल यसमा सचेत हुनुको विकल्प हामीसँग छैन । यात्रु, चालक, व्यवसायी, सरकार सबैले दुर्घटना कम गराउन आआफ्नो ठाउँबाट सचेत र सजग हुन जरुरी छ । यसमा सबैभन्दा बढी सरकारी नियमन आवश्यक छ । क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएको छ कि ? सवारीको अवस्था केकस्तो छ ? लामो दूरीमा पनि एउटै चालक प्रयोग भएको छ कि ? सडकको अवस्था आदिको बारेमा नियमित नियमन हुनुपर्छ । सँगसँगै चालक र व्यवसायीहरू पनि जिम्मेवार हुनुपर्छ । यात्रहरूको सुरक्षित अवतरणको जिम्मेवारी बोकेका चालकमा त्यसप्रति संवेदनशीलता र जिम्मेवारीबोध हुन आवश्यक छ ।

दुर्घटनाका अहिलेसम्मको प्रवृत्ति हेर्दा यसमा केही मूलभूत कारण जिम्मेवार हुन्छन् । जस्तो- सवारी नियमको उल्लंघन गर्ने प्रवृत्ति । सडकको कमजोर पूर्वाधार । चालकको लापरबाही । सवारी साधनको सिन्डिकेट । प्राविधिक रूपमा चलाउन नमिल्ने अवस्थामा पुगेको सवारी साधन । त्यसमा पनि क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति । यस्ता अनेक कारण छन् दुर्घटनाका ।

शनिबार त्रिशूलीमा बस किन खस्यो ? कसको त्रुटि हो यो ? यसको छानबिन आवश्यक छ, तर छानबिनपछि बिर्सिने प्रवृत्ति रोकिनुपर्छ । दुर्घटनाका कारण पत्ता लगाई त्यसलाई पाठका रूपमा ग्रहण गरी त्रुटि नदोहोर्‍याउने अवस्था सिर्जना गर्नुपर्छ । दोषी देखिएको पक्षमाथि कारबाही हुनुपर्छ र सडक दुर्घटनाका जोखिम न्यूनीकरण र व्यवस्थापन गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ, अन्यथा हाम्रा सडकहरू ‘मृत्युमार्ग’ बनि नै रहनेछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.