शव आउँदा गाउँमा रुवाबासी

शव आउँदा गाउँमा रुवाबासी

राजविराज : छठ मनाएर कर्मक्षेत्र फर्कंदै गर्दा बस दुर्घटनामा परी ज्यान गुमाएका २५ जनाको शव आइतबार एकैपटक आइपुग्दा सप्तरीवासी स्तब्ध बने। मृतकका आफन्त र गाउँलेबीच रुवाबासी चल्यो। राजविराजबाट काठमाडौं गइरहेको ना.६ख १४६७ नम्बरको यात्रुवाहक बस शनिबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा खस्दा सप्तरीका मात्रै २५ जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा तिलाठी, बोदे बर्साइन, मानराजा, शम्भुनाथ, अग्निसाइर कृष्णसवरन तथा राजविराजको बोरिया र देउरी भरुवाका नागरिक छन्।

 

ज्वाइँ सञ्जितसँगै शुक्रबार साँझ घुम्न काठमाडौं हिँडेका छोरा, छोरी, नाति, भाउजू, ज्वाइँ र उनका भाइको शव आइतबार घर आँगनमा आएपछि राजविराज नगरपालिका १६, बोरियाका मदन झा मूच्र्छित भए। ‘म त काठमाडौं पुगेको खबरको प्रतीक्षा गरिरहेको थिएँ', उनले भने, ‘यो अवस्था देख्नुपर्‍यो।'
परिवारका अन्य सदस्य र आफन्तलाई सम्हालिसाध्य छैन। गाउँले कसैका आँखा ओभाना छैनन्।

परिवारका ६ जनाको शव एकैपटक आँगनमा आइपुगेपछि सिंगो गाउँमा सन्नाटा छाएको छ। झाका छोरा आदित्य, छोरी सीमी र पूजा, भाउजू चन्द्रावतीका साथै तिलाठीनिवासी छोरीज्वाइँ सञ्जित, उनका कान्छा भाइ अञ्जित, सञ्जितका छोरा अभिनव र प्रतीक गरी आठ जना परेकामा ६ जनाको शव आइतबार आइपुगेको छ भने २० वर्षीया पूजा र तीन वर्षीय प्रतीक अझै बेपत्ता छन्।

दुर्घटनामा परेर घाइते मात्र भएको जानकारी पाएका सञ्जितका बुबा रमानाथ झा र आमा निर्मलालाई सम्हाल्न छिमेकीलाई मुस्किल परेको छ। दुर्घटनामा परेर छोरा, बुहारी र नातिनातिना घाइते भएको खबर सुनेदेखि नै सलाइन पानी चढाएर राखिएकी निर्मला शव देखेपछि मूच्र्छा परिन्।

यसैगरी, एकै परिवारका चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको शव लिएर आएका बोदे बर्साइन नगरपालिका ३ मानराजाका चतुरनारायण प्रमाणी आफन्तलाई देखेपछि छाती पिटेर रुन थाले। काभ्रेमा शिक्षण पेसामा रहेका उनले राम्रो शिक्षाका लागि छोरीहरूलाई काठमाडौंमा राखेका थिए।

अग्निसाइर कृष्णसबरन गाउँपालिका-४, बनौलीनिवासी योगेन्द्र यादवकी श्रीमती सुधिरा यादव र उनकी छोरी पाँच वर्षीया समीक्षा, भद्रकाली सेनाको मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज-१३ का ऋषिआनन्द देव, बोदे बर्साइनका सुरेन्द्र चौधरी, पशुपति चौधरी, आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, मानवी यादव, शम्भुनाथका सुदीप चौधरी, बसका सहचालक राजविराज १५ का नरेश मुखिया, नेगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो ३ का रामानन्द यादव, महदेवा-९ का प्रमोद इशरको शव पनि आइतबार नै सप्तरी आएको छ। सबैको घर र गाउँमा सन्नाटा छाएको छ। शव बुझेसँगै आफन्तले आ-आफ्नो संस्कृतिअनुसार आइतबार नै अन्त्येष्टि गरेका छन्।

दुर्घटनाले पूरै सप्तरीवासी शोकाकुल छन्। निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहले मातहतका सबै कार्यालय आइतबार बन्द गरे। शोक मनाउन जिल्लाभरिका शिक्षण संस्था बन्द गरिए भने प्रमुख बजार पनि सुनसान देखिए। बजारका विभिन्न स्थानमा शोक ब्यानर राखेर मैनबत्ती प्रज्वलन र श्रद्धाञ्जलीसभा गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.