जाजरकोटमा शक्ति कि राजीव ?
जाजरकोट : दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोटवासीले माओवादीका शक्ति बस्नेत र कांग्रेसका राजीवविक्रम शाह विजयी गराएका थिए। त्यस बेला दुई निर्वाचन क्षेत्र रहेको जाजरकोट यसपटक प्रतिनिधिसभाका लागि एउटा मात्र क्षेत्रमा खुम्चिएको छ। एउटा मात्र निर्वाचन क्षेत्र भएपछि बस्नेत र शाह नै आमनेसामने भएका छन्।
कांग्रेस उम्मेदवार शाहभन्दा वाम गठबन्धनका उम्मेदवार बस्नेत बढी ढुक्क देखिएका छन्। जाजरकोटमा वाम गठबन्धनको विजय सुनिश्चित भएको उनको दाबी छ। तर, शाह भन्छन्, ‘दुई पार्टीबीच नेताले गठबन्धन गरे। म जनतासँग गठबन्धन गरेर चुनाव जित्छु।' स्थानीय तह निर्वाचनको मतका आधारमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। कांग्रेससँग गठबन्धन गरेका राप्रपा र राप्रपा (प्रजातान्त्रिक)को मत पाँच सयभन्दा कम छ।
एमालेको मत २० हजार तीन सय ७३ र माओवादी केन्द्रको १६ हजार नौ सय २५ जोड्दा ३७ हजार दुई सय ९८ हुन्छ। कांग्रेसको मत १९ हजार पाँच सय ५७ छ। १७ हजारभन्दा बढीको मतान्तर पूरा गर्न शाहलाई त्यति सहज छैन। तर, उनले एमालेको मत चलायमान हुने अपेक्षा गरेका छन्। उनी आफ्नो जोगाउँदै एमालेको मत तान्ने रणनीतिमा छन्।
दोस्रो संविधानसभा निर्वाचन जितेका दुवै नेता यसपटक आमनेसामने
बस्नेतलाई भर पनि एमालेकै छ भने डर पनि एमालेकै। गठबन्धनलाई अझ कसिलो पार्न उनी कम्मर कसेर लागिपरेका छन्। एमाले नेता गोविन्दविक्रम शाहले उम्मेदवारी फिर्ता लिएपछि उनलाई राहत मिलेको छ। यद्यपि, युवा संघका पूर्वमहासचिव नीरज आचार्यलाई पछि राखेर प्रदेशसभातर्फ माओवादी केन्द्रका खगेन्द्रबहादुर सिंहलाई टिकट दिएपछि एमालेमा असन्तुष्टि देखिएको छ।
बस्नेत र शाहको प्रतिस्पर्धा निकै रोचक देखिन थालेको छ। बस्नेत माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन्। उनी पूर्वमन्त्रीसमेत हुन्। दाहालले उनलाई स्वकीय सचिवसमेत बनाएका थिए। जाजरकोटबाट मन्त्री पदसम्म पुग्ने उनी पहिलो व्यक्ति हुन्। उनको छवि नबिग्रिए पनि ‘शक्तिशाली' पदमा पुग्दा जिल्लाको विकासमा खासै काम नगरेको आरोप उनीमाथि लाग्ने गरेको छ।
समाजसेवाका क्षेत्रबाट जिल्लामा परिचित शाहलाई दशकअघि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिमा भित्र्याएका हुन्। २०६६ सालमा जिल्लामा झाडापखाला महामारीका रूपमा फैलिएको थियो। जीवनजल र सलाइन नपाएर बिरामीको मृत्यु भइरहेको थियो। विकट र दुर्गम बस्ती भएकाले समयमा सरकारले उपचार गर्न नसकेका बेला निजी खर्चमा दुर्गम बस्तीमा औषधि र चिकित्सक पुर्याएर नागरिकलाई गुण लगाएपछि उनको राजनीतिमा उदय भएको हो। तर, जनअपेक्षाअनुसार काम गर्न नसकेको, विकास निर्माण र रोजगारीका अवसर सिर्जना गर्न नसकेकोलगायत आरोप उनीमाथि पनि लाग्ने गरेको छ। पृष्ठभूमि र राजनीतिक सिद्धान्त फरक भए पनि दुवै जना जिल्लाका लागि चाहिने नेता भएको स्थानीयको भनाइ छ।