कांग्रेस प्रवेश गरेका उद्योगपति चौधरीलाई देउवाले भने : आर्थिक समृद्धिको नेतृत्व लिनुहोस्
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ उद्योगपति एवं समाजसेवी विनोद चौधरीलाई आर्थिक विकासको अभियानमा प्रेरणादायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। देउवाले सोमबार कांग्रेसको लेटरप्याडमा उद्योगपति चौधरीलाई धन्यवाद दिँदै पठाएको पत्रमा आर्थिक विकासको अभियानमा उनको सबल, सक्षम र सबैलाई परिचालन गर्न सक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्न प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
देउवाले सोमबार कांग्रेसको लेटरप्याडमा उद्योगपति चौधरीलाई धन्यवाद दिँदै पठाएको पत्रमा आर्थिक विकासको अभियानमा उनको सबल, सक्षम र सबैलाई परिचालन गर्न सक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्न प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
आर्थिक विकासको मोडेल लोकतान्त्रिक शासन पद्धतिमा विश्वव्यापी स्थापित मान्यता एवं खुला बजार अर्थतन्त्र र सामाजिक न्यायको छाताबाहिर गएर सम्भव नभएको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण र द्रुतगतिको आर्थिक विकास पहिलो प्राथमिकताको विषय भएकाले अब लोकतन्त्रवादी फेरि एक हुनुपर्ने उल्लेख गरेका छन्।
उच्च दरको आर्थिक वृद्धि, समावेशी विकास, पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीमा प्रत्यक्ष योगदान पुर्याउन एवं विकास कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने बृहत्तर सोच र कार्यक्रम रहेको उनको पत्रमा उल्लेख छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल विश्वमै लगानीमैत्री वातावरण भएको मुलुकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, गैरआवासीय नेपालीहरूले आर्जन गरेको पुँजी, सीप र क्षमतालाई नेपालमा परिचालन गर्ने वातावरण तयार गरेर सबैलाई आर्थिक समृद्धिको अभियानमा गोलबद्ध गर्नुपर्नेमा समेत प्रधानमन्त्रीले जोड दिएका छन्। उद्योगपति चौधरी कांग्रेसको तर्फबाट प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा परेका छन्।