कांग्रेसको आरोप : सुनियोजित भ्रष्टाचारका अखडा एमाले र माओवादी

कांग्रेसको आरोप : सुनियोजित भ्रष्टाचारका अखडा एमाले र माओवादी

काठमाडौं : सत्तारुढ कांग्रेसले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरेको चुनावी घोषणापत्रमा प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार माओवादी केन्द्रको वामपन्थी गठबन्धनको उद्देश्य लोकतान्त्रिक आन्दोलन अन्त्य गर्नु र सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु रहेको आरोप लगाएको छ ।

कांग्रेसले वाम गठबन्धनसँग एक दशकयता रहेका असन्तुष्टिको शृंखला सार्वजनिक गर्दै वर्तमान कम्युनिस्ट गठबन्धन अन्ततः लोकतन्त्रविरुद्धको गठबन्धन हुने दाबी गरेको छ । कांग्रेस उच्च स्रोतले अन्नपूर्णलाई उपलब्ध गराएको ८४ पानाको चुनावी घोषणापत्रमार्फत कांग्रेसले सत्ता साझेदार राप्रपा र राप्रपा (प्रजातान्त्रिक), सत्ता सहयोगी मधेसवादी दलहरूको उच्च प्रशंसा गर्दै संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवादसमेत दिएको छ ।

संविधान निर्माणपछिको राष्ट्रिय राजनीतिमा अतिवादको जोखिम र चुनौती कायमै रहनुमा प्रमुख बाधक एमाले रहेको ठहर कांग्रेसको चुनावी घोषणापत्रले गरेको छ । संविधान निर्माणदेखि प्रतिस्पर्धी दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक रूपमा क्रियाशील एमालेलाई कांग्रेसको नेतृत्वको सरकारमा सहभागी, संविधान निर्माणमा सहकर्मी, आफू सहभागी सरकारको निर्णय प्रक्रियामा खुला मनले सहयोगी र लचिलो भूमिकामा प्रस्तुत हुन नसकेको आरोपसमेत कांग्रेसले लगाएको छ ।

 

संसदीय पद्धति र आचरणअनुरूप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा गुटगत राजनीतिक भागबन्डा खोज्ने प्रवृत्तिको एमालेले पटक-पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखाउँदै गएकाले उसको राजनीतिक असहिष्णुता झनै बढेको निष्कर्षमा कांग्रेस पुगेको छ ।

वामपन्थी गठबन्धन एकअर्कालाई धृतराष्ट्रको अँगालोमा बाँध्नेगरी क्रियाशील राष्ट्रियता र लोकतन्त्रको संरक्षक र पहरेदार मधेस

एमालेले सत्तामा रहुन्जेल संविधान संशोधनद्वारा संविधानसम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत समर्थन नगरेको परिणाम उसको अतिवादी राजनीतिक अडानले तराई-मधेसको आन्दोलन झनै चर्को बन्दै गएको उल्लेख छ । एमालेको यो अनुदार प्रवृत्तिका कारण संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियासमेत जोखिममा परेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा साना दलको पनि महत्व र भूमिकासमेतलाई एमालेले आत्मसात् गर्न सकेन र ऊ साना दलप्रति पनि अनुदार देखिएको घोषणापत्रमा छ । लोकतन्त्रले नेपाली राजनीतिमा ल्याएको अभूतपूर्व जागरणले मुलुकमा विभिन्न प्रकृतिका अधिकारका आन्दोलनप्रति एमालेले देखाएको नकारात्मक र असहिष्णु व्यवहारले नेपाली राजनीतिलाई गम्भीर र जटिल बनाउँदै लगेको पनि घोषणापत्रमा उल्लेख छ ।

मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ । मधेस र पहाडबीच मतभेद चर्काउने र एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पुर्‍याएको छ । संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, कम्युनिस्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिस्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको छ ।

कम्युनिस्ट गठबन्धनको नाममा एमाले र माओवादी केन्द्र कम्युनिस्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दै छन् । वस्तुतः संसद्मा कम्युनिस्टहरूको वर्चस्वले स्थिरताको ग्यारेन्टी गर्दैन । व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिस्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्ने कुरामा घोषणापत्रले जोड दिएको छ ।

दोस्रो विश्वयुद्धपछिको ७० वर्षमा एसिया, अफ्रिका र दक्षिण अमेरिकाका थुप्रै मुलुक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको प्रयोग गर्र्दै तानाशाही व्यवस्थामा परिवर्तित हुँदै राजनीतिक अस्थिरताको भुमरीमा फसेका छन् । एमाले र माओवादी सुनियोजित रूपमा भ्रष्टाचार गर्ने पार्टी प्रमाणित भएको उदाहरण आफ्नो लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भ्रातृसंगठनको माध्यमबाट अस्पताल-मेडिकल कलेज, एनजीओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थका कारण व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तित गर्दै लगेको कुरा पनि घोषणापत्रमा उल्लेख छ ।

माओवादीको ढुलमुले चरित्रले मुलुकमा दीर्घकालीन अस्थिरता

पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ । पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर माओवादीको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग र कहिले कांग्रेससँग मिलेर सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टी बन्दै आएको छ ।

एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिंगो माओवादी पार्टी एक दशकमा टुक्रा-टुक्रा भएको छ । आफू निरन्तर विभाजित भइरहेको माओवादी र एमाले अब एउटै कम्युनिस्ट पार्टी बनाउने नारामा अहिले एकअर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन् । गठबन्धनको घोषित उद्देश्य आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तालमेल गरी एउटै कम्युनिस्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने रहेको छ । यो कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य-पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने उद्देश्य राखेका छन् ।

कांग्रेस र यसका लाखौं ऊर्जाशील साथी र समर्थकहरूको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सामाजिक न्याय र समतामूलक विकाससहितको लोकतान्त्रिक समाजवाद स्थापनाको अभियानलाई अवरुद्ध हुन दिने छैन । कम्युनिस्ट गठबन्धनले अन्ततः संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको देखिन्छ । एकदलीय कम्युनिस्ट शासनको सपना र प्रयोगले धेरै मुलुकका स्वाधीनता, स्वतन्त्रता र समृद्धि गुमेको इतिहास छ । पहिलोपटक नेपाललाई यस्तो जोखिमतर्फ धकेल्ने कुचेष्टा वर्तमान कम्युनिस्ट गठबन्धनले गरेको छ ।

राष्ट्रवादको अन्धनारामा मात्र बहकिँदा लोकतन्त्र र देशको एकतामा गम्भीर आघात पुग्न सक्छ, अनि लोकतन्त्र मात्रको कागजी नारामा अलमलिँदा देशको अस्तित्व र स्वाधीनता जोखिममा पर्न सक्छ । यो चुनौतीलाई सामना गर्न कांग्रेस सम्पूर्ण राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील दलबीच साझा सहमति र सहकार्य आवश्यक छ भन्ने ठहर गर्छ । राष्ट्रिय एकता, मेलमिलाप, सहमति र सहकार्यको साझा अभियानमा कांग्रेस नागरिक समाज, जनताका स्वतन्त्र र पेसागत संगठन, किसान र श्रमिक संगठनसँगै १८ वर्षदेखि ४५ वर्ष समूहका युवाको ऊर्जाशील चेतनालाई एकताबद्ध गर्न चाहन्छ ।

वर्तमान कम्युनिस्ट गठबन्धन अन्ततः लोकतन्त्रविरुद्धको गठबन्धन बन्नेछ । किनभने यो कम्युनिस्ट गठबन्धनले राष्ट्रिय एकता र सहमतिलाई होइन, कम्युनिस्ट एकता र वर्चस्वको शासन र संरचनाको आह्वान गर्दै छ । ११ वर्ष लामो माओवादी द्वन्द्व समाधान गर्न, ०६२÷६३ को जनआन्दोलनको सफलताको आधार निर्माण गर्न र लामो बहस र संवादबाट सबै राजनीतिक विचार र दर्शनको साझा अभिव्यक्तिको संविधान निर्माण गर्न हामीले प्रयोग गरेको राष्ट्रिय एकता, सहमति र सहकार्यको भावना यो कम्युनिस्ट गठबन्धनले भत्काउने प्रयास गरेको छ । यो दुष्प्रयासलाई पूर्णतः पराजित नगरी देशका राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिले वि श्राम लिने छैनन् । संवाद र सहकार्यको बाटोमा मधेसकेन्द्रित दल आन्दोलनको लामो चक्रव्यूहबाट निस्किएर संविधान संशोधनको माध्यमबाट समस्या समाधान गर्न अग्रसर भएका मधेसकेन्द्रित दलको राजनीतिक निर्णयलाई कांग्रेस प्रशंसा र स्वागत गर्छ ।

राष्ट्रियता र लोकतन्त्रको संरक्षक र पहरेदार मधेस

राष्ट्रियता र लोकतन्त्रको संरक्षक र पहरेदारका रूपमा मधेसका जनताले राष्ट्रिय एकतालाई सुदृढ बनाएकामात्र नभएर अन्न भण्डार र कृषि उत्पादनको केन्द्र बनेर मधेसले राष्ट्रिय समृद्धिको आधार खडा गरेको घोषणापत्रमा उल्लेख छ । सभ्यता र सांस्कृतिक वैभवको राजधानी बनेर मधेस र मधेसी जनताले देशको इतिहास र पहिचान बनाएका छन् । अब मधेसलाई अशान्त र सामाजिक मतभेदको केन्द्र बन्न दिनु हुँदैन भन्ने संकल्पसाथ कांग्रेस सबै मधेसकेन्द्रित दललाई राष्ट्रिय एकता र सहमतिको साझा लोकतान्त्रिक प्रतिबद्धता र सहकार्यमा स्वागत गरेको छ ।

राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसँग विश्वसनीय सहकार्य देशको नयाँ संविधानप्रतिको गम्भीर प्रतिबद्धता तथा लोकतन्त्रका विश्वव्यापी मूल्य-पद्धतिमाथिको विश्वास नै कांग्रेस तथा राप्रपा (प्रजातान्त्रिक) एवं राप्रपा नेपालको सहकार्यको आधार हो । राष्ट्रियता र लोकतन्त्र, सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक आर्थिक ढाँचा र देशको समृद्ध सांस्कृतिक वैभव र पहिचानको संरक्षण गर्ने संवैधानिक प्रतिबद्धता पनि हाम्रो सहकार्यको आधार हो । कम्युनिस्टहरूको षड्यन्त्रलाई परास्त गर्दै लोकतन्त्र र आर्थिक समृद्धिको बाटोमा देशलाई डोर्‍याउने उद्देश्यसहित राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसँग साझा प्रतिबद्धता र सहकार्यमा कांग्रेस क्रियाशील छ ।

राष्ट्रिय राजनीतिमा पुनः उठ्न थालेको अतिवादी र एकदलीय कम्युनिस्ट वर्चस्वको शासनको सोच र प्रवृत्ति राष्ट्र र लोकतन्त्रका लागि जोखिमपूर्ण छ । दलहरूले सत्ताका निम्ति मात्र दलीय प्रतिस्पर्धा गर्नुको साटो लोकतन्त्र र आर्थिक समृद्धिको मुद्दालाई केन्द्रमा राखेर सहकार्य गर्ने तत्परता देखाउनु जरुरी छ । लोकतन्त्रले प्रदान गरेको ऊर्जा र सिंगो देशको सामथ्र्य र साधन-स्रोतलाई आर्थिक समृद्धिको एजेन्डामा केन्द्रित गर्नुपर्छ भन्ने कांग्रेसको निष्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.