गौचन हत्या प्रकरण: तीन साता बित्दा पनि प्रहरी शून्यमा

गौचन हत्या प्रकरण: तीन साता बित्दा पनि प्रहरी शून्यमा

काठमाडौं: करिब तीन साता बित्दा पनि प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पक्रन सकेको छैन। घटना भएकै दिन काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई लोप्साङ लामाले फोन गरेर घटना आफूले गराएको दाबी गरेका थिए।

घटना अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीको संयोजकत्वमा अनुसन्धान टोली बनाइएको थियो। अनुसन्धान टोली अहिले पनि कसले घटना गराएको हो ‘शून्य' मै छ । केही व्यवसायीलाई भारतबाट इन्टरनेट फोनमार्फत मनोज पुन समूहका मानिसले धम्की दिएका कारण गौचन हत्यामा भारतमा लुकेर बसेका नेपाली अपराधीको संलग्नता हुन सक्ने अनुमान प्रहरीको छ। तर, यही समूहले गराएको हो भन्ने ठोकुवा अनुसन्धान टोलीको छैन।

अनुसन्धान टोलीमा केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरोदेखि अपराध महाशाखासम्मका प्रहरी छन्। तर, तीन साता बित्न लाग्दा पनि अनुसन्धान टोली कुनै निष्कर्षमा पुगेको छैन। स्रोतका अनुसार अनुसन्धान टोलीले गौचनको लगानी, लगानी स्रोत, मोबाइलको कल डिटेल, महासंघकै केही सदस्यको कल डिटेल हेरिसकेको छ। ठूलै आर्थिक ‘डिल' नमिलेपछि गौचनको हत्या भएको आशंकामा अनुसन्धान सुरु गरिए पनि खास सुराक नपाएपछि अनुसन्धान लम्बिने देखिएको छ।

असोज २३ गते गौचनको हत्या गर्न प्रयोग गरिएका सुटर नेपाली नभई भारतबाटै भाडामा ल्याइएको र हतियारको व्यवस्थापन मात्रै नेपालीले गरेको हुन सक्नेतर्फ प्रहरी अनुसन्धान अगाडि बढेको छ । प्रहरीले गौचनले हात पारेका ठूला ठेक्काबारे समेत अनुसन्धान थालेको छ। अपराध महाशाखाको टोली केही सुराक पाएर गत साता बुटवल पुगेर दुई दिन बस्दा पनि केही हात नपरेपछि फर्किएको थियो। बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्या घटना र काठमाडौंमा दावा लामामाथि भएको गोली प्रहार घटनाको सम्बन्धबारे समेत प्रहरी अनुसन्धान सुरु भएको छ।

तिवारी हत्या मनोज पुनले नै गरेको पुष्टि भइसकेको छ। तर, अहिले तत्कालीन समयमा घटनामा प्रयोग भएका मोबाइल नम्बर बन्द भएपछि प्रहरीको टाउको दुखाइको विषय बनेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘अहिलेसम्म गौचनको हत्या कसले गराएको, सुटर कताबाट आए, घटनामा प्रयोग भएको मोटरसाइकल नम्बर कुन हो भन्नेबारे प्रहरी अनुसन्धान शून्य नै छ। अनुसन्धानका धेरै तरिका अपनाइए पनि केही उपलब्धि हात परेको छैन ।' प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले अनुसन्धान तीव्र गतिमा भएको दाबी गरे। उनले भने, ‘अनुसन्धानको विषय भएकाले के–के भएको छ, त्यो बताउन मिलेन। तर, चाँडै अपराधी पत्ता लगाउने कोसिसमा प्रहरी छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.