कोहली शीर्ष स्थानमा उक्लिए
दुबई : भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली एकदिवसीय ब्याट्सम्यानतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका कोहलीले दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डी भिलियर्सलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेका हुन् । कोहलीलाई ११ दिनअघि मात्रै डी भिलियर्सले पछि पार्दै शीर्ष स्थान कब्जा गरेका थिए ।
कोहली आईतबार राति सम्पन्न पाहुना टोली न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै ब्याट्सम्यानतर्फको सूचीको शीर्ष स्थान कब्जा गर्न सफल भएका हुन् । न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय शृंखला भारतले २-१ ले जित्दा कोहलीले सर्वाधिक दुई सय ६३ रन बनाएका थिए । म्यान अफ दि सिरिजको पुरस्कार जितेका कोहलीले तीन खेलमा दुई शतक जोडेका थिए । पहिलो एकदिवसीय खेलमा एक सय २१ रन बनाएका उनले आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा एक सय १३ रन जोडे।
कोहलीले कुल आठ सय ८९ अंक बटुल्दै शीर्ष स्थान कब्जा गरेका हुन् । दोस्रो नम्बरमा झरेका डी भिलियर्सको आठ सय ७२ अंक छ । यसैगरी आठ सय ६५ अंकसहित अस्ट्रेलियाका डेभिड वार्नर तेस्रो, आठ सय ४६ अंक जोडेका पाकिस्तानका बाबर जाम चौथो र आठ सय आठ अंकका साथ दक्षिण अफ्रिकाका क्विन्टन डी कोक पाँचौं स्थानमा छन्।
यसैगरी टेस्टतर्फको ब्याट्सम्यानको बरियतामा अस्ट्रेलियाका स्टिभन स्मिथले शीर्ष स्थान कायमै राखेका छन् । स्मिथ शीर्ष स्थानमा रहँदा इङ्ल्यान्डका जोय रुट दोस्रो, न्युजिल्यान्डका केन विलियम्सन तेस्रो, भारतका चेतेश्वर पुजारा चौथो र अस्ट्रेलियाका डेभिड वार्नर पाँचौं स्थानमा छन् ।
टीट्वेन्टीमा भने भारतीय कप्तान विराट कोहली नै शीर्ष स्थानमा छन् । यसैगरी अस्ट्रेलियाका आरोन फिन्च दोस्रो, वेस्ट इन्डिजका एभिन लेविस तेस्रो, न्युजिल्यान्डका केन विलियम्सन चौथो र अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पाँचौं स्थानमा छन् ।