कठपुतली होइन 'कठपुतला'
पोखरा : ‘म बजार लक्ष्य गरेर लेख्दिनँ, पाठक हेरेर पनि लेख्दिनँ’, कथासंग्रह कठपुतलाकी स्रष्टा अर्चना थापा बोलिन् । आफ्नो कृतिमाथि पोखरामा नौलो बहसले आयोजना गरेको बहसमा जुट्दै थिइन् उनी । महिलाका कथा लेख्नेबित्तिकै नारीवादी भनिने र नारीवादी भन्नेबित्तिकै र्याडिकलको आरोप लाग्ने गुनासो थापाले गरिन् । भनिन्, ‘हामीले सामान्य नागरिककै माग गरेका छौं, अरू केही मागेका छैनौं ।’
कठपुतली भनेर स्त्रीलिंगी जनाउने शब्द प्रयोग हुँदै आएकोमा तटस्थ अर्थ दिने गरी कठपुतला क्वाइन गरेको उनको स्पष्टोक्ति थियो । ‘पुरुष मर्द भएन भने सारी र चुरा दिने चलन पनि रहेछ’, उनले भनिन्, ‘पुरुष रुन हुँदैन भनेर उनीहरूमाथि पनि मानसिक यन्त्रणा भइरहेको छ भन्ने पनि देखाउन खोजेकी छु ।’
अर्चनाका कथाले महिलाका प्रश्नमात्रै नभई समग्र मानवताकै प्रश्न उठाएको धारणा लेखक कुमारी लामाले राखिन् । ‘पुरुष मनोविज्ञानमाथि पनि सुन्दर तरिकाले खेल्नुभएको छ’, उनले भनिन्, ‘महिलाले केवल गन्थन लेख्छन् भन्ने कुरालाई ब्रेक थ्रु गर्नु भएको छ ।’ टिप्पणीकर्ता महेन्द्र रिमालले फ्याक्ट र फेन्टासीको फ्युजन अर्चनाका कथामा भेटेको सुनाए ।
उनले पुरुषहरूले महिलाको सम्मान गर्दै आएको विचार पनि राखे । तर उनले मान हराएका श्रीमान् र मति हराएका श्रीमती भइन्जेल समाज नसुध्रने बताउँदा अरू लेखकले आपत्ति जनाए । आमा र श्रीमतीलाई पुरुषहरूले सधैं सम्मान गर्ने गरेको उनको भनाइ थियो ।
अर्की टिप्पणीकर्ता सरिता पुरीले कला साहित्य समाजप्रति उत्तरदायी हुनुपर्ने धारणा राखिन् । ‘अर्चना थापाका कथामा समयको चेत छ’, उनले भनिन्, ‘एउटा हस्तक्षेपका रूपमा उनको कथा संग्रह आएको छ ।’ लेखक सावित्री गौतमले र्याडिकल हुनुलाई सही अर्थमा नबुझिएको र र्याडिकलको अर्थ पूर्ण हुने सुनाइन् ।
अर्की लेखक सरस्वती प्रतीक्षाले पुरुषले मायाका नाममा नारीलाई थुनेर राख्ने गरेको सुनाइन् । मीरा ढकालले नारीहरूले मानवको हैसियतभन्दा माथि केही नखोजेको बताइन् । कार्यक्रम आयोजक संस्थाका दीपक पराजुलीले भिन्न तवरले लेखिएको किताब ‘कठपुतला’ गम्भीर विषयवस्तुले भरिएको सुनाए।