वाम गठबन्धनसँग भिड्न आरजु धनगढीमा
धनगढी : नेपाली काँग्रेसको संसदीय बोर्डको बैठकले कैलाली ५ बाट उठाउँने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डाक्टर आरजु राणा देउवा मनोनयनका लागि मंगलबार कैलाली आइपुगेकी छिन् । उनलाई कांग्रेस कार्यकर्ताले विमानस्थलमास्वागत गर्दै र्यालीसहित धनगढी ल्याएका छन ।
सोमबार बसेको नेपाली काँग्रेस संसदीय बोर्डको बैठकले आरजुलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि टिकट दिने निर्णय गरेको थियो । कैलाली क्षेत्र नम्बर ५, २०७० सालमा शेरबहादुर देउवाले जितेको क्षेत्र हो । २०७० सालको संविधान सभा निर्वाचनमा देउवाले डडेल्धुरा र तत्कालीन समयको कैलाली ६ बाट चुनाव जितेका थिए ।
यसपाली आरजुसँग बाम गठबन्धनका नारदमुनी राना भिडेने छन् । राना २०६४ सालमा नेकपा एमालेबाट समानुपातिक सांसद भएका थिए । एमाले माओवादी गठबन्धनबाट रानाले टिकट पाएका हुन । बाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा माओवादी केन्द्र र १, २ र ५ मा एमालेका उमेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट एमालेकी केन्द्रीय सदस्य गरिमा शाह, २ नम्बरबाट एमालेकै केन्द्रीय सदस्य झपट रावल, ३ बाट माओवादीका गौरीशंकर चौधरी, ४ नम्बरबाट माओवादीका पोलिटब्यूरो सदस्य लेखराज भट्ट र ५ नम्बरबाट एमालेका रानाले टिकट पाएका छन । काँग्रेसले कैलालीमा आरजु बाहेक कसैको पनि टिकटको टुंगो लगाउन सकेको छैन ।