ट्रम्पका सल्लाहकारले झुट बोलेको खुलासा, ट्रम्पलार्इ खतरा
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका चुनावी प्रचारप्रसार सल्लाहकारले रसियाली मध्यस्थकर्तासँग गरेको भेटघाटको समयबारे अमेरिकी जाँच एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)लाई झुटो बयान दिएको स्विकारेका छन् ।
राष्ट्रपति ट्रम्पका चुनाव प्रचारप्रसार सल्लाहकार जर्ज पापाडोप्लसले उनले रसियाली मध्यस्थकर्तासँग चुनावी अभियानका बेला नै भेटघाट गरेको स्विकारेका छन् । उनको भेटवार्ता र झुटो बोलेको अदालतका मिसिल सार्वजनिक भएपछि खुलासा भएको थियो ।
राष्ट्रपति ट्रम्पका पूर्व चुनावी अभियान प्रवन्धक पल म्यानफोर्टमाथि भने कर छलीको आरोपमा मुद्दा दायर गरिएको छ । म्यानफोर्ट र उनका सहयोगी रिक गेट्सविरुद्ध १२ वटा अभियोगमा मुद्दा दायर गरिएको छ । तीमध्ये एउटा अवैध सम्पत्तिलाई वैध बनाउन षडयन्त्र गरेको आरोप पनि छ । यो आरोपको भने ट्रम्पको चुनावी अभियानसँग कुनै सम्बन्ध छैन । यसको सम्बन्ध सन् २०१५ सम्म युक्रेनसँग भएका व्यापारिक लेनदेनसँग भएको सञ्चारमाध्यमले जनाएका छन् ।
गत वर्षको अमेरिकी राष्ट्रपति चुनावमा भएको कथित रसियाली हस्तक्षेपबारे छानबिन भइरहेको छ । यससम्बन्धी छानबिनको नेतृत्व स्पेसल काउन्सिलर रबर्ट म्युलरले गरिरहेका छन् । तर चुनावमा रसियाली हस्तक्षेपको आरोपको ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अस्विकार गर्दै आएका छन् ।
जर्जको स्विकारोक्तिले राष्ट्रपति ट्रम्पलाई राजनीतिक नोक्सान गर्नसक्छ । किनभने यसको प्रत्यक्ष सम्बन्ध उनको चुनावी अभियानसँग छ । अदालतका मिसिलमा ट्रम्पका पूर्व विदेश नीति सल्लाहकारले अक्टोबर ५ मा चुनावमा हस्तक्षेपबारे एफबिआईको छानबिनमा आफूले अवरोध गरेको स्विकारेका थिए।
खासमा ट्रम्पका चुनावी सल्लाहकारले रसियाली मध्यस्थकर्तासँग अभियान सुरु भएपछि भेटघाट गरेका थिए । जर्जले भेटघाट गरेका दुई रसियालीमध्ये एक जना महिलाको सम्बन्ध रसियाली सरकारी अधिकारीहरूसँग थियो ।
जर्जले ती महिलाको सम्पर्कको उपयोग चुनावी अभियान र रसियाका सरकारी अधिकारीसँग भेटघाटका लागि गरेको स्विकारेका छन् । उनले भेटेको दोस्रो व्यक्ति लन्डनका एक जना प्रोफेसर हुन् । ती प्रोफेसरले रसिया सरकारसँग आफ्नो कसिलो सम्बन्ध रहेको दाबी गर्दै आएका छन् । ट्रम्पको चुनावी अभियानमा जर्जको भूमिका महत्वपूर्ण भएकाले ती प्रोफेसरले उनीसँग भेटघाट गर्न खोजेको बताइएको छ ।
ती प्रोफेसरले हिलारी रोधम क्लिन्टनका इमेलबारे जर्जलाई जानकारी दिएको बताइएको छ । सन् २०१६ अप्रिल २६ मा लन्डनको एउटा होटलमा ती प्रोफेसरले ती इमेलबारे उनी रसियाली राजधानी मास्को जाँदा रसियाली अधिकारीले आफूलाई जानकारी दिएको बताएका थिए ।
राष्ट्रपति ट्रम्पका सहयोगीहरूले राष्ट्रपतिको चुनावी अभियानमा जर्जको भूमिका नगन्य रहेको र ट्रम्पसम्म उनको पहुँच नभएको दाबी गरेका छन् ।जर्जले ट्रम्पको विदेश नीति सल्लाहकार भएदेखि नै आफू रसियालीहरूको सम्पर्कमा रहेको पनि स्विकारेका छन् ।
‘रसियाली हस्तक्षेपको आरोप आधारहीन’
रसियाले अमेरिकाको राष्ट्रपति निर्वाचन तथा युरोपियन संघ (ईयू) को निर्वाचनमा हस्तक्षेप गरेको आफूमाथि लगाइएको आरोप आधारहीन भन्दै खण्डन गरेको छ ।रसियाली विदेशमन्त्री सर्गेई लाभ्रोवले मंगलबार ईयूको व्यापारिक संगठनको एउटा बैठकमा भने, ‘हामीमाथि लगाइएका निर्वाचनमा हस्तक्षेपको आरोपमा आधारहीन छन् र तिनमा कुनै सत्यता छैन ।’ उनले विभिन्न समयमा आरोप लगाए पनि आरोप पुष्टि हुने एउटै पनि प्रमाण कसैले दिन नसकेको बताए ।
अमेरिका र उसका सहयोगी युरोपेली राष्ट्रहरूले रसियामाथि केही कम्पनी टाट पल्टाउन लागेको र ‘मानव सिर्जित विनाश गरेको’ आरोप लगाए पनि त्यसको कुनै दसीप्रमाण नभएको र ती आरोपमात्रै भएको उनले दाबी गरे । अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपसम्बन्धमा अमेरिकामा करिब नौ महिनादेखि छानबिन भइरहेको छ ।