खेलाडी उत्पादन गर्ने एन्फा एकेडेमी बाख्राको खोर बन्यो

खेलाडी उत्पादन गर्ने एन्फा एकेडेमी बाख्राको खोर बन्यो

धरान : पाँच वर्षदेखि बन्द रहेको धरानस्थित एन्फा टेक्निकल सेन्टर बाख्राको खोरमा परिणत भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बेवास्ताका कारण जीर्ण बनेको धरान—१७ स्थित एन्फा टेक्निकल सेन्टर बाख्राको खोर र लागूऔषध सेवनकर्ताको अखडाका रूपमा परिणत भएको हो । २०६६ सालमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको एन्फा टेक्निकल सेन्टर २०६९ सालदेखि बन्द छ ।

तत्कालीन एन्फा अध्यक्ष गणेश थापा विरुद्ध उपाध्यक्ष किशोर राई र कर्माछिरिङ शेर्पा समूहले सुरु गरेको आन्दोलनसँगै टेक्निकल सेन्टर बन्द भएको थियो । टेक्निकल सेन्टर बन्द भएको पाँच वर्ष बितिसक्दा समेत पुनः सञ्चालन नहुँदा करोडौं रुपैयाँ लगानीमा निर्माण गरिएको दुई हजार पाँच सय दर्शक अटाउने प्यारापिट र खेलाडी आवाससहितको भवन पनि जीर्ण बन्दै गएको छ ।

 

पाँच वर्षदेखि बन्द भएको टेक्निकल सेन्टरको रेखदेख राम्रोसंँग नहुँदा प्यारापिटबाट पानी चुहिएर आवास भवनका सबै कोठाहरू जीर्ण बनेका छन् । खेलाडी बस्ने भवनको झ्याल÷ढोका मक्किएर काम नलाग्ने भएका छन् । टेक्निकल सेन्टरको आवास भवन अहिले बाख्रा र राँगा पाल्ने गोठमा परिणत भएको छ । टेक्निकल सेन्टर परिसर दुर्गन्धित भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । टेक्निकल सेन्टरको मर्मतका लागि एन्फा केन्द्रीय समितिले कुनै पनि चासो देखाएको छैन ।

एन्फाका तत्कालीन अध्यक्ष थापाको धरान निवासी एन्फाका उपाध्यक्ष राई समूहले विरोध गर्न थालेपछि थापाले एन्फा टेक्निकल सेन्टर धरानको रकम निकासा बन्द गराएका कारण सेन्टर बन्द भएको थियो । बन्द भएको पाँच वर्षसम्म पनि एन्फाले टेक्निकल सेन्टर सञ्चालन गर्न नसकेपछि प्यारापिट, आवास भवन र खेलमैदान जीर्ण बनेको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताए । उनले एन्फाले टेक्निकल सेन्टर बन्द गरेका कारण धरानमा फुटबल खेलाडी उत्पादन गर्न प्रशिक्षण दिने शिक्षकको अभाव भएको गुनेसो पनि गरे ।

स्थानीय जीवन भट्टराईले एन्फाको बेवास्ताका कारण करोडौंको भौतिक संरचना जीर्ण बन्नुका साथै फुटबल खेलाडी उत्पादनमा समेत समस्या परेको बताए । अहिले टेक्निकल सेन्टरमा चौकीदार अर्जुन गिरीले बाख्रा पालेका छन् । बाख्राका कारण खेलाडी भवन दुर्गन्धित बनेको छ । तर, चौकीदार गिरी भने एन्फाले चार वर्षदेखि आफूहरूको तलब नदिएको गुनासो गर्छन् । ‘एन्फाले चार वर्षसम्म तलबभत्ता नदिएपछि टेक्निकल सेन्टरमा बाख्रा पालेर जीवन गुजारा गरिरहेको छु । एन्फाले चार वर्षको एकमुष्ट रकम दिए केही सहज हुन्थ्यो,’ गिरीले भन्छन् ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष किशोर राईले एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठको बेवास्ता र लापरबाहीका कारण धरानको एन्फा टेक्निकल सेन्टर सञ्चालनमा आउन नसकेको आरोप लगाए । पटकपटक टेक्निकल सेन्टर सञ्चालन गर्न माग गर्दा पनि एन्फा अध्यक्ष श्रेष्ठले अटेर गरेका कारण आफूहरूले उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको पनि उनले बताए । ‘हिजो गणेश थापाले पनि नेपाली फुटबललाई धराशायी बनाएका थिए । आज थापाकै लहैलहैमा लागेर श्रेष्ठले पनि नेपाली फुटबल धराशायी बनाउन खोज्दैछन्’, उपाध्यक्ष राईले भने ।
तर एन्फाका अध्यक्ष श्रेष्ठ भने आफूमाथि उपाध्यक्षले लगाएको आरोप निराधार भएको बताउँछन् ।

‘पदीय हिसाबमा एन्फाको अध्यक्षको जिम्मेवारी मेरो हो तर, धरान टेक्निकल सेन्टर चार वर्षअघि जिल्ला फुटबल संघको मनोमानीका कारण लथालिंग बनेको हो । खेलाडी भर्नाका विषयमा जिल्लाका पदाधिकारीले विवाद गरे । भएको मैदानलाई स्थानीय पदाधिकारी र सरोकारवालाले पनि स्याहारसम्हार गर्नुपर्ने हो । आफूहरू टेक्निकल सेन्टरमा बाख्रा र राँगा पालेको हेर्दै बस्ने अनि दोष जति अरूलाई लगाएर समस्याको समाधान हुँदैन’, श्रेष्ठले भने ।

श्रेष्ठले धरान टेक्निकल सेन्टर फिफा गोल प्रोजेक्टअन्तर्गत निर्माण भएको हुनाले एन्फाले आगामी सिजनमा टेक्निकल सेन्टरको मर्मतसम्हार गरी खेलाडी राख्ने योजना बनाएको पनि बताए । ‘हालै एएफसी अध्यक्षको नेपाल भ्रमणका क्रममा धरानस्थित टेक्निकल सेन्टरको विषयमा पनि कुरा भएको थियो । टेक्निकल सेन्टर मर्मतका लागि एन्फाले २० लाख रुपैयाँको प्रस्ताव एएफसीमा पठाएको छ । हामी टेक्निकल सेन्टरको मर्मतमात्र होइन, त्यहाँ एकेडेमी नै सञ्चालन गर्न लागिपरेका छौं,’ श्रेष्ठले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.