पञ्चायत बन्यो उत्कृष्ट फिल्म
काठमाडौं : अमेरिकाको सनफ्रान्सिस्कोमा सोमबार आयोजित ‘सनफ्रान्सिस्को फिल्म महोत्सव'मा नेपाली चलचित्र ‘पञ्चायत'ले विदेशी भाषाको उत्कृष्ट चलचित्रको विधामा अवार्ड प्राप्त गरेको छ । यसै चलचित्रकी नायिका नीता ढुंगानाले ‘बेस्ट लिडिङ एक्ट्रेस'को अवार्ड जितेकी छन् ।
‘नाट्यश्वरीको आशीर्वादले मेरो बाल्यकालदेखि सुरुआत भएको अभिनय यात्रा आज सनफ्रान्सिस्को इन्टरनेसनल फिल्म फेस्टिभलसम्म आइपुगेको छ । मञ्चमा उभिएर उत्कृष्ट नेपाली चलचित्र अभिनेत्रीको अवार्ड प्राप्त गर्दै गरेको स्वर्णिम समयलाई म शब्दमा बयान गर्न सक्दिनँ', अवार्ड थाप्दै नीताले भनिन्, ‘यो स्थानसम्म पुग्न सहयोग गर्नुहुने शुभचिन्तक, सहकर्मीका साथै दर्शकलाई हार्दिक आभार ।'
अंग्रेजी फिल्मबाहेक अन्य विदेशी भाषाको विधामा पञ्चायतले उत्कृष्ट अवार्ड पाएको कार्यकारी निर्माता रवि अधिकारीले बताए । राष्ट्रिय अवार्डसमेत प्राप्त गर्न सफल अभिनेत्री नीता सुरुमा बालकलाकारका रूपमा रजतपटमा प्रवेश गरेकी हुन् । दुई दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनका चर्चित चलचित्रहरूमा दबाब, ६ एकान ६, नोटबुक, मसान, हाम्रो माया जुनीजुनीलाई, निर्भयलगायत छन् । चलचित्र पञ्चायतमा नीताले पश्चिम नेपालका किशोरीले भोग्ने समस्यामाथि अभिनय गरेकी छन् ।
अक्टोबर २५ देखि २९ सम्म फिल्म महोत्सव आयोजना भएको थियो । १५ वर्षपहिले सुरु भएको यस महोत्सवमा गत वर्षदेखि नेपाली चलचित्र पनि सहभागी हुन थालेको हो । महोत्सवका दक्षिण एसिया संयोजक तथा नेपाल पर्यटन बोर्ड सनफ्रान्सिस्कोका लागि पर्यटनदूत प्रकाश थापाका अनुसार गत वर्ष नेपाली चलचित्र ‘तीन घुम्ती' महोत्सवमा सहभागी भएर पुरस्कार जित्न सफल भएको थियो ।
फिल्म महोत्सवमा हलिउड र एसियाका गरी दुई सय चलचित्रले प्रतिस्पर्धा गरेका थिए । ग्रामीण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीले आफ्नो योगदानको कदर भएको भन्दै अन्य अवार्डमा पनि सहभागी हुने जानकारी दिए । गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् ।
चलचित्रमा नीताका अलावा सरोज खनाल, रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । चलचित्र पञ्चायत फागुन १७ देखि देशभर प्रदर्शन हुँदैछ ।