यी हुन् माओवादी केन्द्र काठमाडौंका उम्मेदवार
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले काठमाडौंका तीन उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेसँग वाम गठबन्धन गरेको माओवादीले काठमाडौंका चार स्थान पाउने बताइएको भए पनि बुधबार तीन क्षेत्रको नाम मात्र टुंगो लगाएको हो।माओवादीले पहिलो संविधानसभाको निर्वाचनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चा कमाएका झक्कु सेवेदीलाई काठमाडौं ६ बाट उम्मेदवार बनाएको छ।
त्यसैगरी काठमाडौं १ मा गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई उम्मेदवार बनाएको माओवादीले १० मा हितमान शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौं ८ समेत माओवादीले पाउने बताइएको भए पनि त्यसमा एमालेसँग छलफल गर्नै बाँकी भएकाले तीन क्षेत्रको मात्र उम्मेदवारी टुंगो लागेको क्षेत्र नम्बर ६ का उम्मेदवार सुवेदीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। क्षेत्र नम्बर ८ मा उमेश स्थापितको नाम चर्चामा छ।
त्यसैगरी माओवादीले वाम गठबन्धनसँग प्रदेशसभाका लागि पाएको दुई सिटको टुंगो लगाएको छ। क्षेत्र नम्बर ३ को (क) रुद्र बराइली र क्षेत्र नम्बर १० (ख) मा दिलिप महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।