कांग्रेसलाई बागीले अप्ठेरो
पोखरा : कांग्रेसबाट स्थानीय निर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिकामा मेयरका उम्मेदवार बद्रीमान श्रेष्ठ थिए। तर, कांग्रेसकै नगर सभापति द्वारिकाप्रसाद मि श्रको उम्मेदवारीका कारण श्रेष्ठ पराजित हुनुपर्यो। एमाले उम्मेदवार जनकराज मि श्र चार हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ एक हजार चार सय ८४ मतले पछि परे। कांग्रेसका बागी मि श्रले ल्याएको मत दुई हजार सात सय ३० पनि पाएको भए श्रेष्ठ मेयर पदमा निर्वाचित हुन्थे।
कांग्रेसले बागीलाई नगर सभापतिबाट मात्र बर्खास्त गरेन कि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गर्यो। स्थानीय निर्वाचनमा ठेकी चिह्नबाट प्रतिस्पर्धा गरेका उनै मि श्र अहिले प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीविरुद्ध टेबल चिह्न लिएर मैदानमा छन्। सुन्दरबजारमै मि श्रलाई साथ दिँदै कांग्रेसका रामचन्द्र अधिकारी पार्टीका आधिकारिक उम्मेदवार ज्ञान शाहविरुद्ध बागी उठेका थिए। अधिकारीले नौ सय ४५ मत प्राप्त गरे। वडा नम्बर ६ र ७ का अध्यक्षमा पनि कांग्रेसका बागी उम्मेदवार थिए।
लमजुङबाट प्रदेशसभातर्फ २ मा कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णप्रसाद कोइराला उम्मेदवार छन् भने एमालेबाट केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ मैदानमा छन्। कोइरालालाई पनि बागीको चुनौती छ। मि श्रकै समूहकै उत्तम गुरुङले प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन्। कांग्रेसले अपमान गरेका कारण स्वतन्त्र उम्मेदवारी दिएको उत्तमको भनाइ छ। ‘कांग्रेसले धन र डनका भरमा नेताहरूको स्याहारसुसार गर्नेलाई टिकट दियो', उनले भने, ‘जनताको दुःख-सुखमा साथ दिनेहरूलाई अपमान भयो।'
मि श्रले पनि पार्टीले दूरी बढाएको हुँदा फेरि उम्मेदवार बनेको बताए। भने, ‘कांग्रेसको रूख नभए पनि रूखबाट बन्ने ठेकी चिह्न लिएर नगरपालिकामा लडेको थिएँ, अहिले पनि रूखको काठबाट बन्ने टेबल चिह्न लिएर उठेको छु, उत्तमजी पनि काठकै भर्याङ लिएर उठ्नुभएको छ।' उत्तमका अनुसार कांग्रेस स्थानीय निर्वाचनको असन्तुष्टिलाई घटाउनेभन्दा पनि बढाउनेतिर लाग्दा अहिले पनि बागी उम्मेदवार देखापरेका हुन्।
कारबाही फुकुवा गरेर जिम्मेवारीमा पुनःस्थापित गर्नुपर्ने मागमा पार्टीले वास्ता नगरेको उनले सुनाए। ‘कांग्रेसमा हाम्रो रगत-पसिना बगेको छ, हामी कांग्रेसकै झन्डा बोकेर यो निर्वाचनमा लाग्छौं भन्दा पनि मतलब गरेनन्', उनले भने, ‘पार्टीले जितोस् कि हारोस्, उनीहरूलाई मतलब छैन, जनतामा भिजेका लोकप्रिय मान्छेहरू आए स्वार्थ पूरा गर्न पाइन्न भन्ने भयो।'
कांग्रेस लमजुङका सचिव हरि बरालले भने स्थानीय निर्वाचनमा जस्तो गरी यसपालि मि श्र समूहको भोट नआउने दाबी गरे। भने, ‘उहाँहरूलाई पहिला सहयोग गरेका साथीहरू गल्ती गरिएछ भनेर फर्कनुभएको छ, यसपालि उहाँको उम्मेदवारीले असर गर्न सक्दैन।' दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर २ मा बागीको सामना गर्नुपरेको थियो। तरुण दलका पूर्ण गुरुङ पौडेलविरुद्ध उठेका थिए। तर, उक्त क्षेत्रमा गुरुङको उम्मेदवारीले खासै असर पारेन। यसपटक फेरि कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले पौडेलविरुद्ध उम्मेदवारी दिने घुर्की दिइरहेका छन्।
दोस्रो संविधानसभा निर्वाचनमै मुस्ताङमा कांग्रेस उम्मेदवार रोमी गौचनविरुद्ध प्रेम तुलाचन बागी उठेका थिए। गौचन तुलाचनभन्दा २२ मत मात्रै बढी ल्याएर निर्वाचित भएका थिए। गौचनले एक हजार चार सय २४ मत ल्याउँदा तुलाचनले एक हजार चार सय दुई मत ल्याएका थिए। तिनै तुलाचन यसपटक फेरि गौचनसँग प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट प्रतिस्पर्धामा छन्।