निर्णय परिवर्तनले लाखौंका मतदाता शिक्षा सामाग्री बेकार

निर्णय परिवर्तनले लाखौंका मतदाता शिक्षा सामाग्री बेकार

काठमाडौं : प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभातर्फ अलग-अलग दुई खालका मतपत्र छाप्ने निर्णयसँगै मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन निर्वाचन आयोगलाई चुनौती देखिएको छ ।

पहिलो चरण अर्थात् मंसिर १० को निर्वाचनका लागि मतदान गर्न जम्मा २४ दिन मात्रै बाँकी छ । तर, आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु नै गरेको छैन । समय निकै कम भएकाले मतदाता शिक्षा सामग्री पुर्‍याएर कार्यक्रम सञ्चालन गर्न आयोगलाई टाउको दुखाइ बनेको हो । आयोगको पछिल्लो निर्णयअनुसार समानुपातिकतर्फ एउटा र प्रत्यक्षतर्फ दुईवटा मतपत्र हुने भएका छन् ।

दुईवटा मतपत्र छाप्ने निर्णयसँगै छापिएका मतदाता शिक्षा सामग्री बेकार बन्न पुगेका छन् । ‘छापिएका मतदाता शिक्षा सामग्री र नमुना मतपत्र काम नलाग्ने भयो’, आयुक्त नरेन्द्र दाहालले भने । नयाँ सामग्री छाप्न तथा तालिमसमेत दिनका लागि थप बजेट खर्च गर्नुपर्ने उनले बताए । ‘मतदाता शिक्षाका लागि निर्देशिका र पहिले तयार भइसकेका तालिम सामग्रीको पनि संशोधन गर्नुपर्ने भएकाले समयमै ढुवानी गरी मतदाता शिक्षा दिन समय अभाव हुने देखिएको छ’, उनले भने ।

 

आयोग प्रवक्ता नवराज ढकालका अनुसार कात्तिक १५ गतेसम्म पहिलो चरणको निर्वाचन हुने ३२ वटै जिल्लामा ती सामग्री पुर्‍याउनका लागि लोड भइसकेको थियो । तर, तीमध्ये एकतिहाइ मात्रै काम लाग्ने भएका छन् । लोड भएका सामग्रीबाट काम नलाग्ने झिकेर नयाँ थप्नुपर्ने प्रवक्ता ढकालले जानकारी दिए । आवश्यक सामग्री पुगेपछि मात्रै मतदाता शिक्षा कार्यक्रम सुरु हुने उनले बताए । आयोगले पहिलो चरण निर्वाचनका लागि २० हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरिसकेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३५ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३५ मा रहेको मतपत्रसम्बन्धी व्यवस्थाअनुसार मतदाताले प्रत्यक्ष र समानुपातिकमा एक-एक मत दिन पाउँछन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुने अवस्थामा मतदाताले कुल चार मत दिन पाउँछन् ।

समानुपातिकतर्फको मतपत्र आयोगले छापिसकेको छ भने प्रत्यक्षतर्फको छपाइ धमाधम चलिरहेको छ । समानुपातिकतर्फ एउटै सिटमा प्रतिनिधिसभाका लागि मतपत्र १ र प्रदेशसभाका लागि मतपत्र २ गरी छुट्याइएको छ । तर, समानुपातिकतर्फ एउटै र प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र हुने भएपछि मतदाता अल्मलिने सम्भावना बढेको पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् ।

‘मतदातालाई प्रत्यक्षतर्फको दुई अलग-अलग मतपत्रमा छाप लगाउनु सहज भए पनि र समानुपातिकतर्फ एउटै मतपत्रमा तल र माथि छाप लगाउनुपर्दा मतदाता झुक्किने सम्भावना रहन्छ’, उनले भने, ‘आयोगले समानुपातिकतर्फ एउटै मतपत्रमा यसरी दुई छाप लगाउने भनेर नबुझाएसम्म मतदाता अलमलमा पर्ने र त्यो मतपत्र नै खाली छाड्ने अवस्था रहन्छ । यसमा आयोग गम्भीर रूपमा लाग्नुपर्छ’, उनले थपे ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ गर्ने कार्य जारी रहेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न रहने गरी मतपत्रको ढाँचा तयार गरी ३० जिल्लाको मतपत्र छाप्ने काम सकिसकेको आयोगले जानकारी दिएको छ ।

छुट्टाछुट्टै मतपत्र छपाइ गर्दा प्रतिनिधिसभा सदस्य नियमावली २०७४, प्रदेशसभा सदस्य नियमावली २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित विभिन्न निर्देशिका, मतदाता शिक्षा सामग्री, उम्मेदवारी दर्ता र नतिजा तयारीसम्बन्धी सफ्टवेयर, विभिन्न तहको तालिम सामग्रीमा समेत परिमार्जन गर्नुपर्ने, मतपत्र छपाइ कार्ययोजनामा संशोधन गर्नुपर्ने, मतपत्र छपाइ कागज, मतपत्रको लागत, सामग्री व्यवस्थापन र ढुवानी एवं निर्वाचनको समग्र बजेट तथा कार्यक्रममा पुनरवलोकन र संशोधन गर्नुपर्ने भएकाले तत्काल आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रवक्ता नवराज ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.