अब हचुवा प्रस्ताव फिर्ता हुने

अब हचुवा प्रस्ताव फिर्ता हुने

 

विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयार्थ पेस हुने प्रस्ताव हचुवा प्रकृतिका भए मन्त्रालयमै फिर्ता हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार ३० वटै मन्त्रालयलाई परिपत्र गर्दै मन्त्रालयबाट प्रस्ताव पठाउँदा सोको विश्लेषण पक्ष, त्यसपूर्व भएका निर्णय, प्रस्तावित निर्णयको कार्यान्वयन कार्ययोजनासमेत संलग्न गरी पठाउन निर्देशन दिएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै विवरणसहित आउने प्रस्ताव मात्र मन्त्रिपरिषद्मा पेस हुने र विवरणसहित नआउने प्रस्ताव फिर्ता हुने भन्दै मन्त्रालयलाई सचेतसमेत गराएको छ ।लोकदर्शन रेग्मी मुख्यसचिवमा नियुक्त भएलगत्तै रेग्मीकै पहलमा मन्त्रालयबाट आउने प्रस्ताव व्यवस्थित र विस्तृत विवरणसहित आउनुपर्ने नियम बनाइएको हो । प्रधानमन्त्री कार्यालयका तर्फबाट सबै मन्त्रालयका सचिवलाई पत्र लेखी प्रस्तावसँग आवश्यक विवरणसहितको विस्तृत विश्लेषण र जानकारी पेस गर्न भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रालयबाट आउने प्रस्ताव व्यवस्थित गर्न र मन्त्रिपरिषद् बैठकमा छलफल गर्नसमेत सहज बनाउन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार मन्त्रालयले पठाउने प्रस्ताव सम्बन्धमा नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ बमोजिम परामर्श लिएको सम्बन्धित मन्त्रालय, निकायको नाम र प्राप्त परामर्शको संक्षिप्त व्यहोरासमेत उल्लेख गर्नुपर्ने छ । प्रस्ताव पेस गर्दा सोको संवैधानिक तथा कानुनी व्यवस्था, नीति, विकास, योजना र रणनीति एवं कार्यविधि, मापदण्ड, निर्देशिकाको विश्लेषण गर्नुपर्ने छ । प्रस्तावको आर्थिक असर, प्रशासनिक पक्ष, राष्ट्रिय परिवेश तथा अन्तरसम्बन्धित क्षेत्रमा पर्ने प्रभावलगायत विश्लेषण गरी पेस गर्नुपर्ने नियम बनाइएको प्रवक्ता पन्थीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले बनाएको नियमसँगै विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा आउने सतही र हचुवा प्रस्ताव रोकिनेछन् । यसबाट मन्त्रीहरूले मन्त्रिपरिषद् बस्नु केही समयअघि मात्र हतार-हतार प्रस्ताव ल्याउने प्रवृत्ति निरुत्साहित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार विगतमा धेरै प्रस्ताव हतारमा हचुवाको भरमा आउने गरेका र छलफलबिनै हचुवामा स्वीकृत हुने गरेकाले अनेकौं समस्या आउने गरेका थिए । अब भने प्रस्तावहरू यस्ता समस्या समाधान हुने ती सचिवले जनाए । प्रवक्ता सहसचिव पन्थीले पनि मन्त्रालयबाट आउने प्रस्ताव अब व्यवस्थित हुने र स्वीकृत गर्न पनि सहज हुने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.