नेपाल आज बहराइनसँग खेल्दै
काठमाडौं : एएफसी यू-१९ छनोट च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २-० गोलले पराजित भएको नेपाललाई छनोट चरण पार गर्न बाँकी खेल जित्दै जानुपर्ने अवस्था छ । समूह ‘ए’ मा बहराइन नेपालका लागि केही सहज प्रतिद्वन्द्वी हो । छनोटको लक्षयसहित किर्गिस्तान गएको नेपाली युवा टोली किर्गिस्तानसँगको खेलमा कमजोर देखिएको थियो ।
उमेरसमूहको अन्तर्राष्ट्रिय स्पर्धामा उत्कृष्ट नतिजा निकालिरहेको नेपाली टोलीलाई यसपटकको च्याम्पियनसिप अग्निपरीक्षाको रूपमा लिइएको छ । नेपाल सम्मिलित समूह ‘ए’ मा यूएई र ओमन पनि रहेका छन् । यी दुई टोलीको स्तर नेपालको भन्दा निकै माथि छ । टोलीका प्रशिक्षक छिरिङ लोप्साङले पनि किर्गिस्तान प्रस्थान गर्नुअघि यूएई र ओमनलाई बलियो प्रतिद्वन्द्वीको रूपमा चित्रण गरेका थिए ।
तर, एक महिनाअघि मात्र भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको उपाधि जितेको युवा टोलीको प्रदर्शन किर्गिस्तानविरुद्ध बिर्सन लायक बन्यो । वर्तमान टोलीमा पनि साफ च्याम्पियनसिप खेलेकै खेलाडीको वर्चस्व छ । बहराइनसँगको दोस्रो खेल आफ्नो पक्षमा पार्न सकेन भने नेपालको अघिल्लो चरणको यात्रा थप कठिन हुने देखिन्छ ।
बहराइनपछि समूहको तेस्रो खेल नेपालले कात्तिक १८ गते यूएईसँग र अन्तिम खेल कात्तिक २२ ओमानसँग खेल्नेछ । छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप खेल्न पाउने प्रावधान छ ।